arrow

रूस विश्वकप २०१८ : क्रमभंग या निरन्तरता ?

logo
अजय अलौकिक,
प्रकाशित २०७५ असार ३१ आइतबार
coratia-team.jpeg

बेइजिङ ।  रुस विश्वकप २०१८ अन्त्यतिर आइपुगेको छ। अब मात्र एउटा खेल बाकी रहेको छ जसले यस पटकको विश्वकपको विजेता दिनेछ। यस रूस विश्वकपको फाइनल खेल एक पटकको विजेता फ्रान्स र पहिलो पल्ट फाइनल पुगेको अण्डरडग क्रोएसियाबीच हुँदैछ। योसँगै फुटबलप्रेमी र पण्डितहरूमा एउटा कौतुहलता देखिएको छ, के हुने हो? कस्तो नतिजा आउने हो? भन्ने उत्सुकता पनि रहेको छ।

हुन त यस विश्व फुटबलको महामेलाको दौरान केही रेकर्डहरू बने भने केही आश्चर्यजनक नतिजा पनि देखियो जसले स्तब्ध बनायो, फुटबलप्रेमीलाई। पुराना महारथीहरू पराजित भएका देखेर धेरैले मन थाम्न पनि सकेनन्। पुराना स्तम्भहरू विस्तारै विस्तारै ढल्दै गए र नयाँ टोलीले प्रभावित बनायो पनि। अन्तमा फाइनलअघिसम्म भने पचास-पचासको स्थितिमा पुर्याइएको छ। एक पटक विश्वकप चुमिसकेको र पहिलो पटक फाइनलको यात्रा तय गरेको नयाँ टोलीबीच प्रतिस्पर्धा हुँदैछ।

साथै कतिपयले यस २१औं संस्करणले नयाँ च्याम्पियन पाउने आशा पनि राखेका छन् जुन यस फाइनल खेलको नतिजाले उत्तर दिने छ। सन् २०१० मा स्पेनले पहिलो पटक विश्वकप चुमेको थियो त्यसपछि २०१४ विश्वकपमा पुरानै टोली जर्मनी र अर्जेन्टिनाबीचको फाइनलमा जर्मनी विजेता भएको थियो। यस पटक भने फेरि पनि नयाँ टोली विश्व विजेता बन्ने प्रबल सम्भावना देखिएको छ। हुन त फ्रान्सले पनि एकै पटक मात्र जितेको छ विश्वकप, सन् १९९८ मा । जिनेदिन जिदानको प्रेरणामा आयोजक फ्रान्सले नै विश्वकप जितेको थियो। तापनि फ्रान्सले जितेमा त्यही क्रमको निरन्तरता हुनेछ भने क्रोएसियाले जिते नयाँ इतिहाससँगै विश्वले नयाँ च्याम्पियन पाउने छ र सधैँको एकरूपतालाई भंग गर्ने छ।

के लाग्छ, इतिहास दोहोरिएला कि नयाँ च्याम्पियन पाउने छ, विश्वले। यस पटकको विश्वकपको फाइनलमा ब्राजिल, अर्जेन्टिना र जर्मनी छैनन्। साबिक विजेता जर्मनी पहिलो चरणबाट उक्लिन सकेन, समूह चरणको अन्तिम खेलमा एशियाली राष्ट्र दक्षिण कोरियाबाट लज्जास्पद हार मात्रै भोगेन प्रतियोगिताबाटै बाहिरिनु पर्यो। त्यसै गरी विश्वकै उत्कृष्ट खेलाडी मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिना अघिल्लो विश्वकपको फाइनालिस्ट पनि प्रिक्वाटर फाइनलभन्दा माथि पुग्न सकेन र अर्का सदाबहार टोली ब्राजिलले पनि क्वाटर फाइनलमा घुँडा टेक्यो।

यसरी यी फुटबलका सिंहहरूमध्ये एउटै टोली नपुगेको विरलै दृश्य देखिएको छ। यस अघिका संस्करणसम्म यी तीनमध्ये एउटा टोलीले सधैँ नै सेमिफाइनलसम्मको यात्रा तय गर्ने गर्थ्यो। यस पटकको विश्वकपमा यस्तो पनि भयो। यो पनि एउटा आश्चर्यचकित् बनाउने विषय बनेको छ। यो नयाँ युगको उदयको घोषणा पो हो कि, शायद।

यस पटकको विश्वकप नयाँ पुस्ताको उदयको साक्षी बनेको छ। सुप्रसिद्ध खेलाडीद्वय मेस्सी र क्रिष्टियानो रोनाल्डोको जादु चलेन भने नेयमारले पनि आफ्नो टिमलाई अगाडि लैजान सकेन। त्यस क्रममा पनि खेल र गोल स्कोरको आधारमा पनि नयाँ पुस्ता हावी भएको देखिन्छ।

साथै यस पटकको विश्वकप सेमिफाइनलसम्म आइपुग्दा युरो कप झैं भयो। यद्यपी विश्वकप इतिहासमा यस्तो दृश्य पनि कमै देखिन्छ, हालसम्म ५ पटक युरोपेली देशबीचमात्र विश्वकपका सेमिफाइनल खेल भएका छन्। सन् १९३४, १९६६, १९८२, २००६ र यस २०१८ ले पाँच पटक भएको छ।

त्यसै गरी यस विश्व कपको अर्का प्रबल दावेदारको रूपमा लिइएको बेल्जियमले तेस्रो स्थानमा चित्त बुझाएको छ। उनीहरूको यो नै हालसम्मको उच्च सफलता भएको छ। अर्का दावेदार ईंगल्याण्डले २८ वर्षपछि सेमिफाइनलसम्मको यात्रा गर्यो। तर २० वर्षपछि सेमिफाइनल पुगेको क्रोएसियाले ईंगल्याण्डलाई पाखा लगायो। अनि १२ वर्षअघि फाइनल पुगेको अर्का प्रबल दावेदार फ्रान्सले बेल्जियमलाई हराएर फाइनलका लागि स्थान पक्का गरेको छ।

क्रोएसिया सन् १९९८ मा तेस्रो भएको थियो भने सन् १९३० मा युगोस्लाभियाले सेमिफाइनलसम्मको यात्रा गरेको थियो। सन् १९९१ मा क्रोएसिया युगोस्लाभियाबाट अलग्गिएको हो। के यस पटक क्रोएसियाको भाग्य फेरिन्छ त? त्यसै गरी सन् १९९८ मा पहिलो पल्ट विश्व विजेता बनेको फ्रान्सले सन् २००६ मा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो। के यस पटक फेरि पनि च्याम्पियन बन्ने छ। आज जुलाई १५ को अन्तिम खेलले नयाँ च्याम्पियन पाउने कि इतिहास दोहोर्याउने भन्ने बताउने छ।

साथै सन् १९९८ विश्व कपको विजेता टिमको कप्तान डिडियर क्लड डेसाम्प नै हाल फ्रान्सको म्यानेजर तथा मुख्य प्रशिक्षकको भूमिकामा छन्। के उनले नयाँ इतिहास बनाउने हुन् कि? यसको पनि छिनोफानो हुनेछ।

यसरी खेलाडी र मुख्य प्रशिक्षकको भूमिकामा रहेर दुई पटक विश्वकप उठाउने व्यक्ति यस अघि नभएका भने होइनन्। सन् १९५८ र १९६२ मा खेलाडीका रूपमा र १९७० मा प्रशिक्षकको रूपमा ब्राजिलका मारियो जगालोले विश्वकप उचालेका थिए त्यसै गरी पश्चिम जर्मनीका फ्रेन्ज बेकनबौरले १९७४ मा खेलाडीको रूपमा र १९९० मा प्रशिक्षकको रूपमा विश्वकप चुमेका थिए। यस्तो विरलै भेट्टाइने रेकर्ड यस विश्वकपमा पुनः दोहोरिने सम्भावना पनि देखिन्छ।

चार पटकको विजेता ईटाली विश्वकप फाइनल्समा नै नपुग्नु अनि पाँच पटकको विजेता ब्राजिल, चार पटकको विजेता जर्मनी र दुई पटकको विजेता अर्जेन्टिना अनि एक पटकको विजेता ईंगल्याण्ड र स्पेनसँगै अरू बलिया टोलीहरूलाई पन्छाएर फाइनल पुगेको एक पटकको विजेता फ्रान्स र पहिलो पल्ट फाइनल पुगेको क्रोएसियाबीचको खेल नतिजाबाट नयाँ टोली विश्वविजेता हुने या पुरानैले फेरि एक पटक रच्ने हो इतिहास भन्ने कुराको छिनोफानो हुनेछ। क्रमभंग या निरन्तरता यसको उत्तर समयको गर्भमा छ।

यी दुई देशले हालसम्म पाँच पटक खेलेका छन् जसमा तीन पटक फ्रान्सले जितेको छ भने बाकी बराबरीमा टुङ्गिएको छ। फुटबल एक्लैले खेल्ने खेल होइन जसले टिमवर्कलाई आधार बनाउने छ उसैको विजेता बन्ने सम्भावना धेरै हुन्छ। त्यसबाहेक यी दुई टिममा खेललाई आफ्नो पक्षमा पार्नसक्ने क्षमतावान खेलाडीहरू पनि छन्, नै। अब हेरौं, क्रमभंग या निरन्तरता। अबको केही घण्टापछि नतिजा विश्व सामु आउने नै छ। त्यसको प्रतीक्षा गरौं।

(अलौकिक जनगणतन्त्र चीनको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो बेइजिङका विशेषज्ञ हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ