- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालबाट मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपालीहरु २ महिनादेखि हैरानी खेपिरहेका छन् । तर, मलेसिया जानेबाटो खुल्छ टुंगो अझै लाग्न सकेको छैन । पछिल्लो समय मलेसियाका रोजगारदाताहरुले नेपालबाट कामदार रोकिएको कारण थाहा पाएका छन् । उनीहरुले नेपालबाट कामदार रोकिएको विषयमा मलेसिया सरकारलाई जानकारी गराएर नयाँ प्रक्रियाबाट कामदार चाँडो झिकाउन दबाब दिएका छन् । यो विषय के हो ? भनी हामीले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङलाई सोधेका छौँ ।
० मलेसियामा रहेका रोजगारदाताले नेपाली कामदार आपूर्तिका लागि मलेसियन सरकारलाई दबाब दिएको भन्ने कुरा के हो ? बुझाईदिनुस् न ?
–करिब २ महिना पूरा हुन लागेको छ, मलेसियामा कामदार पठाउने विषयको कुरा गर्दै छु म । अहिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको तर्फबाट हामीले एक जना प्रतिनिधि मलेसिया पठाएको अवस्था छ । त्यहाँको म्यानुफ्याक्चरिङ एशोसिएशन, सेकुरिटी गार्डहरु आवश्यक पूर्ति गर्ने संस्थाहरु जो छन् । ती संस्थाहरुले दबाब दिँदैछन् । अहिले १५ हजार नेपाली कामदारहरु भिसा आएर पनि मलेसिया जान पाएका छैनन् । सबै रोकिएका छन् । त्यसको कारण, मलेसिया जानको लागि विभिन्न पक्रिया मिलाँदै आएका भीएलएन, ओएसजी, बीएसजी, बायोमेट्रिक मेडिकल लगायतले सिण्डिकेट गडा गरे आर्थिक भार पार्दै आउनु हो । अहिले उनीहरुमाथि कारबाही भएको छ । वर्तमान श्रम मन्त्रीले ति संस्थाहरु खारेजीको घोषणा गरेको पनि दुई महिना पुग्न लागेको छ । त्यसैले मलेसिया सरकारले यी संस्थाहरुविना भिसा स्ट्यान्डिङ गर्ने कार्य गरिरहेको छैन । त्यसैले नेपाली कामदार मलेसिया जान रोकिएको अवस्था छ । त्यहाँको रोजगारी खुला गर्नका लागि तथा सिण्डिकेटधारी संस्थाहरुविना भिसा लगाईदिन, नेपाली कामदार आपूर्ति गरिदिनको लागि हाम्रो प्रतिनिधि पठाएका छौँ । र, त्यहाँका एशोसिएशनहरु तथा संघ संगठनहरुले मेलेसिया सरकारले आफ्नो कम्पनीमा आइपुग्नु पर्ने कामदार छिटो ल्याईदिन सरकारलाई दबाब दिएका छन् ।
० भनेको, नेपालले राखेको समस्या त्यहाँका रोजगारदाताले बुझे अनि रोकिएका आफ्ना कामदार छिटो ल्याउने वातावरण बनाउन उनीहरुले सरकारलाई दबाब दिए । यसको अर्थ अब नेपाली कामदार मलेसिया जाने बाटो खुला हुँदैछ ?
–हो हो । अब चाँडै हुन्छ ।
० प्रक्रिया के हुन्छ त ?
–यसमा यस्तो छ । जस्तो मलेसिया उड्नको लागि काठमाडौँमा आएर बसेका युवाहरुको संख्या नै लगभग हजार भन्दा बढी छ । डेढ महिना भयो, उनीहरु यही अड्किराखेका छन् । उनीहरुका भिसा लगाउने काम र प्रक्रिया सबै सकिएको छ । नेपाल सरकारको वैदेशिक रोजगार विभाग मातहत काठमाडौंमा रहेको कार्यालयबाट श्रम स्वीकृति लिन मात्रै बाँकी छ । तर, श्रम स्वीकृति लिने काम पनि रोकिएको छ । मलेसिया सरकारले नयाँ घोषणा नगरेसम्म यो सहज बन्दैन । मेलेसिया सरकारले हामीले यो शिर्षकमा यसरी कामदार लिन्छौ, पहिले लिँदै आएको १७ हजार शुल्क लिँदैनौँ अथवा त्यसको व्यवस्थापन भयो भनेर नेपाल सरकारलाई जानकारी गराएर नेपाल सरकारसँग सहमति भएपछि मात्रै नेपालबाट जाने बाटो खुला हुन्छ ।
० नेपाल सरकारले शुल्कको कुरा पनि उठाएको छ ?
–त्यो शुल्क मिनाह, रद्द हुनु पर्यो भन्ने नेपाल सरकारको प्रमुख माग हो । नयाँ टेक्नोलोजी र नयाँ प्रक्रियामा कसरी लाने भन्ने विषयमा फेरि छलफल गरेर एउटा सहमतिमा पुगेपछि यो सुधार हुन्छ ।
० मलेसिया सरकारकै निर्णय पर्खिराखेको हो । नेपालबाट केही समस्या छैन ?
–ति संस्थाहरु जो १७ हजार सात सय आर्थिक भार पार्ने छन् । उनीहरुले अनावश्यक आर्थिक भार पारे । नेपाल सरकारसँग कुनै स्वीकृति नै नलिईकन । एकलौटी ढंगले, काठमाडौंका विभिन्न गल्ली गल्लीमा राखेका पाँचवटा संस्थाहरुले ३२ सय, २८ सय, ४५ सयका दरले विभिन्न शिर्षकमा पाँच वर्षदेखि रकम लिईरहेको अवस्था थियो । त्यसले नेपाली कामदारलाई आर्थि भार पर्यो । ति संस्थाहरु नेपाल सरकारले खारेजीको घोषणा गरिसकेको अवस्था छ । भनेपछि अब मलेसिया सरकारले यि खारेजी गरिसकेका संस्थाहरु भीएलएन, वान् स्टेप सेन्टर, जीएसजी, बायोमेट्रिक मेडिकल लगायतविना भिसा दिने काम गर्छ भने मात्रै नेपालबाट कामदार जान्छ भन्ने नेपाल सरकारको अडान हो । त्यो विषयमा मलेसिया सरकार नबोलेसम्म बाटो खुल्ने अवस्था छैन ।
० ग्यारेन्टीसाथ ति संस्था रेहनन् भनेर मलेसियाले भन्नु पर्यो ?
–हो । त्यही कुरा हो ।
० मलेसियाका रोजगारदाताले यो कुरा बुझेर आफ्नो सरकारलाई दबाब दिएको कि, उनीहरुले आफुलाई कामदार चाहिने हतारो मात्रै गरेको ?
– वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधि गएर त्यहाँका निजी कम्पनीहरुको संघ संगठनका प्रमुखहरुलाई भेटी, यो यो विषय हो, त्यो नभई अब नेपालबाट कामदार आउँदैनन् भन्ने कुरा सबै ब्रिफ गरेका छन् । उनीहरुलाई आफ्नो सरकारलाई यो विषय भन्नुस् भनेर आग्रह गरियो । अहिले त्यहाँका कम्पनीहरुले नेपाल सरकारले खारेजी गर्ने भनेका संस्थाहरुलाई पूर्ण रुपमा बन्देज लगाएर नयाँ पक्रियाबाट कामदा ल्याउन मलेसिया सरकारलाई दबाब दिईरहेका हुन् ।
० कहिले जान पाउँछन् त नेपाली कामदार ?
–सोमबार मलेसियामा संसद बस्दैछ भन्ने सुन्नमा आएको छ । शनिबार विभिन्न संघ संगठनका प्रतिनिधिले त्यहाँका निर्वाचित प्रधानमन्त्रीलाई भेटिसकेका छन् । हाम्रा प्रतिनिधिले त्यसको पुष्टी गरेका छन् । यो आउने हप्तामा एउटा टुंगोमा पुग्छ जस्तो लागिरहेको छ । यदि यो हप्ता त्यो टुंगो लागेन छ भने पनि भिसा पाएर काठमाडौमा अड्किएका युवाहरुको समस्या कसरी समाधान गर्ने ? भन्ने कुराको टुंगो लगाउनै पर्छ । उहाँहरु गाउँबाट घर परिवार इष्टमित्रसँग विदावारी भएर आइसक्नु भएको छ । घर फर्किने अवस्था पनि नहुन सक्छ । अर्कोतिर अहिलेसम्म काठमाडौँको होटलमा बस्दा सबै खर्च भइसक्यो । भिसा र अन्य प्रक्रियाका लागि थुप्रै खर्च भएको छ । यही विषमा यता हामी मन्त्रीज्यूसँग कुरा गरिरहेका छौँ । यो हप्तामा एउटा टुंगोमा पुगिइन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।