arrow

डा केसीलाई ‘सेप्सिस’ हुने खतरा, के हो सेप्सिक ?

logo
डा. विशाल दाहाल,
प्रकाशित २०७५ असार ३२ सोमबार
dr-bishad-dahal.jpg

काठमाडौं। १५ पटकसम्म आमरण अनसनमा बसेर चिकित्सा शिक्षा तथा चिकित्सा क्षेत्रका विकृति अन्त्य गर्न लागिपरेका सत्याग्रही डा गोविन्द केसीलाई ‘सेप्सिस’ हुने खतरा बढेको छ । जुम्लामा अनसनरत डा केसीको उपचारमा संलग्न चिकित्सकहरुलाई अहिले सताएको चिन्ता नै डा केसीलाई ‘सेप्सिस’ नहोस भन्ने हो । 

चिकित्सकहरुलार्इ राम्रोसँग थाहा छ, अनशनरत डा केसीलाइ एकपटक सेप्सिस भइहाले, स्वास्थ्य स्थिति काबु भन्दा बाहिर जानेछ । अझ एन्टिबायोटिक्स लगायत कुनै पनि किसिमका औषधि नलिने डा केसीको अडानकाबीच सेप्सिसको उपचार गर्ने कुनै उपाय बाँकी रहने छैन ।

के हो त सेप्सिस भनेको ?

सेप्सिस अर्थात सम्पुर्ण शरिरको एकसाथ संक्रमण । शरिरको एउटा भागबाट सुरु भएको संक्रमण जब रगतबाट शरीरमा सबैतिर फैलन्छ, तब यस्तो अवस्थालाइ मेडिकल भाषामा सेप्सिस भनिन्छ । 

अनशनको प्रारम्भदेखिनै डा केसीको रगतमा सेतो रक्त कोशिका क्रमशः घट्दै गइरहेको छ । अझ दुई दिनअघि जाँच गरिएको रगतमा सोको संख्या ४ हजार भन्दा कम भइसकेको थियो । 

सेतो रक्त कोशिका कम हुनुको सीधा अर्थ हो, शरीरको किटाणुहरुसँग लड्न सक्ने क्षमता कम हुनु । तसर्थ, सानो भन्दा सानो संक्रमण पनि चाँडै फैलने र सेप्सिस हुने जोखिम रहन्छ ।

आम जनताकाबीच गएर  गरिएको आन्दोलन भएका कारण भेट्न आउने शुभेच्छुकहरुलार्इ रोक लगाइएको छैन । यसका कारण उनीहरुसँगै आउने अनेकखाले संक्रमणको उच्च जोखिममा पनि डा केसी रहँदै आएका छन् । 

भेट्न आउने धेरैजसोलाई मास्क दिइएको भए पनि त्यस्ता खाले मास्कले भाइरल संक्रमणबाट भने नजोगाउने चिकित्सकहरु बताउँछन्। केही दिनअघिबाट प्रारम्भ भएको घाँटीको संक्रमण पनि आगन्तुकहरुबाटै सरेको भाइरसका कारण हुनसक्ने चिकित्सकहरुको ठम्याइ छ ।

यसका अलावा यसपटक देखिएको सबैभन्दा महत्वपूर्ण संक्रमण भने नसाको रहेको छ । सत्याग्रहको पाँचौ दिनबाट स्लाइन पानी दिन खोलिएको नसामा संक्रमण देखिएको हो । उक्त संक्रमणका कारण डा केसीका हात सुन्निएका छन् । दुखाइ कम गर्न हातमा पट्टी बाँधिएको भएता पनि त्यसले खास भिन्नता भने ल्याएको छैन ।

यसरी नसा नै प्रभावित  भएको अवस्थामा रगतमा संक्रमण सजिलैसँग फैलन्छ । अझ सेतो रक्त कोशिकाको मात्रा कम भएका ‘इम्युनोकम्प्रमाइज्ड’ बिरामीको हकमा त झन शरीरभर संक्रमण फैलिएर सेप्सिस हुने सम्भावना उच्च रहन्छ ।

सेप्सिसको सुरुको लक्षण देखिन थाल्यो 

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार डा केसीलार्इ सेप्सिसका प्रारम्भिक लक्षण देखिन थालेको छ ।

मुटुको चाल बढेको (१००), श्वासप्रश्वासको गतिमा वृद्धि (२४) भएको, रक्तचाप कम (१००–६०) भएको, पिसाबको मात्रामा कमि आएको लगायतका लक्षणले चिकित्सकहरुको अनुमान झनै मिल्दै गएको देखाउँछ। डा केसीले वार्ता टोली नबनेसम्मका लागि भद्र अवज्ञा स्वरुप रगत जाँच गर्न नमानेका कारण सेतो रक्त कोशिकामा भएका परिवर्तनहरु भने थाहा पाउन सकिएको छैन ।

यसरी रगतबाट फैलिएको सेप्सिसका कारण मृगौला, कलेजो, फोक्सो लगायतका अङ्गले बिस्तारै काम गर्न छाड्दछ्न् र केही दिन भित्रमै बिरामीको मृत्यु हुनसक्छ। अस्पताल भर्ना भएका बिरामी मध्य सेप्सिसका कारण हरेक १०० जनामा १० जनाको मृत्यु हुने एक अनुसन्धानले देखाएको छ । 

तसर्थ सेप्सिसमा गएका बिरामीहरुलार्इ विशेष हेरचाहका साथ आइसीयुमा राखेर नसाबाट एन्टिबायोटिक्स दिइन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ