arrow

समृद्ध नेपाल, सुखी नेपालीको सपना

logo
नारायण सापकोटा
प्रकाशित २०७५ असार ३२ सोमबार
narayan-sapkota.jpg

मेरो आदेश पालना नगर्ने
विश्व सम्मेलनमा जान्छु भन्दै
विदेश भाँसिन खोज्ने
त्यो खरो प्राध्यापकलाई
अबदेखि कहिल्यै नल्याउनु बालुवाटार
नदिनु एक कप चिया पनि
बरु सिधै पठाइदिनु जेल ।

पटक–पटक घुर्की लगाउँदै 
अनसन बस्ने बुढो डाक्टर
जुम्ला पुगेर पनि लम्पसार परेको समाचार सुन्दैछु  
मेरो निद हराम गर्ने त्यो डाक्टरलाई
यसपटक जसरी भए पनि आर्यघाट पठाउनु ।

लामो समयसम्म
वीर हस्पिटलको आईसियुमा लडिरहेकी 
त्यो बुढी गंगामायालाई
फकाई फुल्याई नन्दप्रसादसँग भेट्न
टिचिङ हस्पिटलतिरै पठाउनु ।

लोकतन्त्रको मूल्य खोज्दै
केही फेसबुकेहरु
फेसबुकका भित्ताभरि
आगो ओकलिरहेका छन् 
यिनीहरुले सखाप परिदिने भए
देशका सपनाहरु
त्यसैले 
ठेगाना लगाउन छिट्टै इन्टरनेट काटिदिनु ।

अधिनायकवाद आउँछ भन्दै 
दुई चार जना सडकमा उफ्रिरहेका छन्
दुई चार जना सदनमा चिच्याइरहेका छन्
यिनीहरुलाई के थाहा 
म पनि लोकतन्त्रकै भञ्याङबाट यहाँसम्म आइपुगेको हुँ
मसँग पैठे जोरी खेल्न खोज्नेहरु
देशद्रोही हुन् 
देशको स्वभिमान र लोकतन्त्रको रक्षा लागि
अब सेन्टर जेल खाली गर्नु ढिलो नगर्नु ।

हावाबाट बिजुली निकाल्छु भन्दा
घर घरमा ग्याँसको पाइपलाइन जोड्छु भन्दा
एक वर्षमा तुइन हटाउँछु भन्दा
पाँच वर्षमा  रेल र पानीजहाज कुदाउँछु भन्दा
विश्वास नगर्नेहरु 
विकास विरोधी हुन्
विकास विरोधीहरुलाई
यो देशबाट निकाला गरिदिनु ।

मैले समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्नु छ ।

काठमाडौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ