arrow

डा. केसीको मागमा सरकार अनुदार: संसद रोकियो, केसीको ज्यान जोखिममा

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
parliament1.png

काठमाडौँ । संसद सोमबारको बैठक दुई पटक बसेर पनि नियमित कार्वाहीमा प्रवेश नै नगरि स्थगित भएको छ । पहिलो पटक बोलाइएको बैठक काँग्रेस सांसदहरुले अवरुद्ध गरेका कारण आधा घण्टाका लागि स्थगित भएको थियो ।

त्यस बिचमा सरकार र प्रमुख प्रतिपक्षी दल बिच सहमति जुटाउने प्रयास भएपनि सहमति हुन सकेन ।  त्यसपछि बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले पुन : अवरोध गरेपछि दोस्रो बैठक पनि अवरोध भएको हो ।

अर्को बैठक साउन ३ गते १ बजे बस्ने तय भएको छ ।

सरकारले डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्ने गरि प्रतिस्थापन विधेयक ल्याउनलाई नमानेपछि डा. केसीमा माग सम्बोधन हुनुपर्ने पक्षमा वकालत गर्दै आएको कांग्रेसले बैठकमा आफ्ना कुरा राखेर अवरोध सृजना गरेको हो ।

बैठकमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले नेकपा नेतृत्वको शासन राणा शासन झै भएको बताइन। उनले जनताको पक्षमा रहेका डा. केसीलाई कांग्रेसलाई मत दिएको नाममा उनको मागहरु सम्बोधन नगर्ने कुराको आफुहरु बिरोधमा रहेको बताइन् । उनले सो माग सम्बोधन नभएसम्म कांग्रेसले संसद अवरुद्ध गर्ने  बताइन् ।   

सोमबार पनि संसदमा केसीको मागलाई सम्वोधन हुनेगरि विधेयक पेश नहुँदा तथा सरकारले डा. केसीसँग वार्ताको पहल नगर्दा डा. केसीको स्वास्थ्य अवस्था झनझन खस्किदै जाने देखिएको छ ।

डा. केसीसँग सरकारले वार्ता नगर्दा उनको स्वास्थ्य कमजोर बनेको छ। डा केसी समेत सरकारले वार्ताको प्रक्रिया नथाल्दा औषधि समेत नलिने र स्वास्थ्य परिक्षण समेत नगर्ने अडान लिएर बसेका छन् । यहि स्थिति रहे डा केसीको अवस्था थप जटिल बन्ने देखिन्छ ।

सोमबारबाट थप तीन दिनपछि मात्र संसदको बैठक बस्ने भएपछि उनको स्वास्थ्य ३ गतेसम्ममा अझ बढि बिग्रिन सक्ने देखिएको छ। सरकारको यो हेलचेक्राइ र ढिलासुस्तीले डा. केसीको माग सम्बोधन गर्न सरकार कति पनि इच्छुक छैन र कति बढी उदासिन छ भन्ने देखाएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ