डा केसी र सरकारी वार्ता टोलीबीच फेरि वार्ता 

प्रकाशित मिति : २०७५ श्रावण १ मंगलबार

काठमाडौं । सरकार र डा गोविन्द केसीका प्रतिनिधिबीच दोस्रो चरणको वार्ता मंगलबार बिहान बस्दैछ । यसअघि सोमबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा कुनै निष्कर्ष ननिस्के पनि सहमतिका लागि पहल भएको सहभागीहरुले बताएका छन् । 

वार्तामा डा केसीको स्वास्थ्य र चिकित्सा शिक्षा विधेयकको बारेमा छलफल भएको थियो । सरकारी पक्षले डा केसीको स्वास्थ्यलाई ध्यान दिँदै तत्काल काठमाडौँ ल्याउन जोड दिएको थियो । डा केसी पक्ष पनि सो कुरामा सहमत भएपनि डा केसीलाई काठमाडौं ल्याएरमात्र समस्याको समाधान ननिस्कने भन्दै केही प्राविधिक कुरामा सरकारको प्रतिवद्धता खोजेको छ ।

डा केसी पक्षले सरकारले संसदमा प्रस्तुत गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता लिने प्रतिवद्धता आउनु पर्ने बताएको छ । 

बुधबारको वार्तामा यसले मूर्त रुप लिन सक्ने अनुमान गरिएको छ । वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन् ।

डा केसीका पक्षबाट बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, डा अभिषेकराज सिंह, ओमप्रकाश अर्याल सहभागी छन् । 

बुधबारको वार्तामा सकारात्मक परिणाम निस्कने विश्वास गरिएको छ । १८ दिनदेखि जुम्लामा आमरण अनसनरत डा केसीको स्वास्थ्य दिन प्रतिदिन खस्कँदो छ । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ