arrow

रेडिंगमा भानु जयन्ती कार्यक्रम भब्य 

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
reading-nrn.jpg

रेडिंग । ग्रेटर रेडिंग नेपाली कम्युनिटी एसोसिएसन जीआरएनसीएद्वारा गत केहि बर्षदेखि नियमित रुपमा मनाईँदै आएको भानु जयन्ती कबिता प्रतियोगिता यस बर्ष पनि गत जुलाई १४ तारिखको दिन स्वतन्त्र कबिता बाचन तथा कबिता प्रतियोगिताका साथ  भब्य र सभ्यताका साथ संपन्न गरियो। 

रेडिंग नेपाली समाजले सन् २०१५ देखि नियमित रुपमा मनाउन शुरु गरेको यो कार्यक्रमलाई आफ्नो बार्षिक क्यालेन्डरमा राख्नुका साथै भानु जयन्तीलाई कबिता प्रतियोगिताको रुपमा मनाउँदै आएको हो ।

 जीआरएनसीएले २०१६ सालमा गैर आबासिय नेपाली संगठन बेलायत एनआरएनए युके को भाषा साहित्य बिभागसंग सहकार्य गर्दै मनाएको थियो भने गत बर्ष साहित्य संगम युकेसंग सहकार्य गर्दै संयुक्त रुपमा मनाएको थियो । यस बर्ष पनि जीआरएनसीए र साहित्य संगम युकेले भानु जयन्ती संयुक्त रुपमा नै आयोजना गरेको थियो । 

भानुभक्तको तस्बिरमा माल्यार्पण गरी शुरुवात गरिएको ऊक्त कार्यक्रमको सभापतित्व रेडिंग नेपाली समाजका अध्यक्ष कृष्ण न्यौपानेले गरेका थिए भने प्रमुख अतिथि अक्षर अभियन्ताकार, गीतकार तथा संगीतकार किरण प्रधान थिए ।

कार्यक्रमको शुरुमा रेडिंग नेपाली समाजका अध्यक्ष्य न्यौपानेले उपस्थित सबैलाई श्वागत गरे । साहित्य संगम युकेका संस्थापक अध्यक्ष्य बिनोद अधिकारीले बेलायतमा  भाषा साहित्य प्रतीको अभिरुचि र यसतर्फ बढ्दै गरेको मोह तथा रेडिंग नेपाली समाज र साहित्य संगम युकेको सहकार्यको बारेमा आफ्नो मन्तब्य ब्यक्त गर्दै नेपाली भाषा साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदानको बारेमा पनि प्रकाश पारे ।

यसरी नै प्रमुख अतिथिको आसनबाट बोल्दै गीतकार किरण प्रधानले आफ्नो अक्षर अभियानको बारेमा प्रकाश पार्दै गीत, संगीत, कला र भाषा साहित्यप्रति बेलायतबासी नेपालीहरुको लगाब र योगदानको कदर गर्दै यस्ता किसिमका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन पाउँदा आफूलाई ज्यादै खुशी लागेको बताए । 

कार्यक्रमको पहिलो चरणमा रेडिंग नेपाली समाजका सदस्यद्वय स्थानीय होनहार युबाहरु डा प्रबिण दाहाल र डा बासु पौड्याललाई समाजको तर्फबाट अध्यक्ष्य न्यौपानेद्वारा  फुलको गुच्छा र शुभकामना संदेश का साथ सम्मान गरिएको थियो । उनीहरु दुबै जनाले हालै मात्र दुई छुट्टाछुट्टै बिश्वबिध्यालयबाट विद्यावारिधि हासिल गरेका थिए । 

कार्यक्रमको मध्य भागमा १८ बर्ष मुनीका र १८ बर्ष माथीका गरी छुट्टाछुट्टै समुहमा बिभाजन गरिएको कविता प्रतियोगिता आयोजना गरिएको थियो । कबिता मूल्यांकनको लागि गैरआबासिय नेपाली संगठन युकेका भाषा साहित्य बिभाग प्रमुख  साहित्यकार तथा पत्रकार नारायण गाउँलेको नेतृत्वमा दुई सदस्य समिति बनेको थियो जसमा उनलाई स्थानीय साहित्यकार डा प्रवीण दाहालले साथ दिएका थिए । 

प्रतियोगितात्मक कबिता बाचनको कार्यक्रमको लगत्तै अप्रतियोगितात्मक कबिताहरु पनि बाचन गरिएका थिए । कार्यक्रममा ललित दुधराज र प्रतिमा दुधराजले भानुभक्त संबन्धित सुमधुर गीत संयुक्त रुपमा प्रस्तुत गरेका थिए । 

प्रतियोगितामा भाग लिने कबिहरुमा लक्ष्मी पौडेल, निर्मला न्यौपाने, लालबहादुर गुरुंग , प्रतिमा दुधराज , भरत पौड्याल , एलेक्स सापकोटा , ऋसब न्यौपाने , आध्या भट्टराई र केनिशा गौतम थिए भने कार्यक्रममा अन्य थप १० वटा अप्रतियोगि कबिताहरु पनि बाचन गरिएका थिए । जसमा त्रिलोचन गौतम , बलदेब भट्ट , प्रतिमा दुधराज , लक्ष्मी पौड्याल , प्रमुख अतिथि किरण प्रधान , सभापति कृष्ण न्यौपाने , साहित्य संगम युके संस्थापक बिनोद अधिकारी , निर्णायक मण्डली को तर्फबाट नारायण गाऊँले र संयोजक ओमकार अधिकारीले पनी आआफ्ना कबिता पाचन गरेका थिए । 

कबिता बाचनकै क्रममा गैरआबासिय नेपाली संगठन युकेका भाषा साहित्य बिभाग प्रमुख  साहित्यकार तथा पत्रकार नारायण गाउँलेले निर्णायक मण्डल को तर्फबाट बोल्दै कबिता मूल्यांकन गर्ने काम एक चुनौतीपूर्ण काम भएको र एकजनालाई अति राम्रो लागेको कबिता अर्कोलाई सामान्य पनी लाग्न सक्ने भन्दै यस्मा कुनै बैज्ञानिक मापनयन्त्र नभएको हुँदा नतीजा सबैलाई चित्त नबुझ्न सक्छ भन्दै आफुलाई बिश्वास गरी यो महत्वपूर्ण जिम्मेवारी सुम्मेकोमा आयोजक दुवै संस्थालाई धन्यवाद पनि दिए । 

कार्यक्रमको अर्को चरणमा निर्णायक मण्डलबाट प्राप्त नतिजा कार्यक्रम संचालक ओमकार अधिकारीले सुनाएका थिए भने रेडिंग नेपाली समाजका पूर्व अध्यक्ष्यद्वय अर्जुन बस्नेत तथा मानबहादुर गुरुंग , कार्यक्रमका प्रमुख अतिथि किरण प्रधान , सभापति न्यौपाने र सह –आयोजकको तर्फबाट बिनोद अधिकारी र निर्णायक मण्डलको तर्फबाट नारायण गाउँलेले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।

१८ बर्ष मुनिको समूहमा केनिशा गौतम प्रथम र आध्या भट्टराई दोस्रो, एलेक्स सापकोटा तृतिय भए भने ऋसब सापकोटाले सान्त्वना पुरस्कार प्राप्त गरे । त्यस्तै १८ बर्ष माथीको समुहमा भरत पौड्याल प्रथम र प्रतिमा दुधराजले दोस्रो र लाल बहादुर गुरुंगले तेस्रो स्थान प्राप्त गर्नुभएको थियो भने लक्ष्मी पौडेल र निर्मला न्यौपानेलेले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । 

प्रतियोगितामा भाग लिने सबैको लागी प्रसंसापत्र प्रदान गरिएको थियो भने  उत्कृष्ट ठहरिएका दुबै समुहका प्रतियोगि हरुको लागी सुनौला ट्रफि पुरस्कारको रुपमा प्रदान  गरिएको थियो । 

अन्त्यमा कार्यक्रममा उपस्थित संपुर्ण साहित्यिक मनहरूलाई रेडिंग नेपाली समाज र साहित्य संगम युकेको तर्फबाट धन्यवाद ज्ञापन गर्दै संयोजक अधिकारीले सभापतीको आज्ञाले कार्यक्रम समापन भएको घोषणा गर्दै सभा बिसर्जन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ