arrow

पोर्चुगलमा कांग्रेसबीच चुनावी सरगर्मीः सभापतिमा शर्मा, घिमिरे र गौतमको उम्मेदवारी

logo
भरत प्रधान,
प्रकाशित २०७५ साउन २ बुधबार
portugal-congress-nejasa-candidate.jpg

लिस्बन। नेपाली काँग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौ अधिबेशन नजिकिदै गर्दा पोर्चुगलमा रहेका काँग्रेसजनहरुबिच चुनावी सरगर्मी बढेको छ ।

समितिको अधिबेशन यही जुलाई २२ तारिखका दिन राजधानी लिस्बनमा हुदैछ । अधिबेशन नजिकिदै गर्दा आगामी नेतृत्वलाई लिएर काँग्रेसजनमा चुनावी सरगर्मी बढेको छ ।

बिगतमा सहमतिमै नेतृत्व चयन हुदै आएको समितिमा यसपटक भने चुनाव हुने संभावना देखिएको छ ।सर्वसम्मतीको प्रयास भने जारी रहेको छ। अबको नेतृत्व कस्तो आउने भन्ने बिषयले पोर्चुगलमा रहेका कांग्रेसजनहरुबिच बिशेष चर्चा छ। स्थापनाकाल देखि नै सहमतिमै नेतृत्व चयन हुँदै आएको समितिमा यसपटक भने धेरै आकाँक्षी देखिएका कारण पनि अधिबेशनले थप चर्चा पाएको हो। नेतृत्वका लागि आकांक्षी धेरै देखिएपनि अन्ततः सहमतीमै नेतृत्व चयन हुने जनसम्पर्कका स्थानीय नेताहरु बताउँछन् ।

यता निर्बाचन समितिले तय गरेको निर्बाचन कार्यतालिका अनुसार निर्बाचनका कार्यक्रम अघि बढिरेहेको निर्बाचन समितिका संयोजक अशोकचन्द्र घिमिरेले जानकारी दिए। प्राप्त जानकारी अनुसार सभापति सहितका पदाधिकारी र कार्यसमिति सदस्य गरि कुल १७ पदका लागि ३३ जनाको उम्मेदवारी परेको छ। नयाँ नेतृत्व चयनका लागि सहमतीको प्रयास जारी राखेको भन्दै निर्बाचन समितिले उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छैन। आकांक्षीहरुबिच सहमति नभएको खण्डमा भने निर्बाचन कार्यतालिका अनुसार आउँदो शनिबार नै नयाँ कार्यसमितिका लागि निर्बाचन हुनेछ ।

समितिको आगामी नेतृत्वका लागि तीन जनाबिच प्रतिस्पर्धा हुने भएको छ। सभापतिका लागि बर्तमान उपसभापति शुशिल शर्मा गैह्रे, बर्तमान महामन्त्री बिनोद घिमिरे र पूर्व उपसभापति राजकुमार गौतमको उम्मेदवारी परेको हो। शर्मा लगातार दुई कार्यकाल उसपभापति र घिमिरे लगातार दुई कार्यकाल महामन्त्रीका रुपमा क्रियाशील छन् । शर्मा, घिमिरे र गौतम तीनै जना पूर्व बिद्यार्थी नेता हुन् । नेबिसंघबाट राजनिती शुरु गरेका शर्मा नवलपरासीका हुन् भने घिमिरे अर्घाखांची र गौतम काभ्रेका हुन् ।

यस्तै तीन उपसभापतिका लागि आधा दर्जन भन्दा बढीले उम्मेदवारी दिएका छन्। महामन्त्रीमा चार जना र दुई सह–महामन्त्रीका लागि भने दुई जनाकै उम्मेदवारी परेको बताईएको छ। कोषाध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ भने ९ कार्यसमिति सदस्यका लागि १३ जनाको उम्मेदवारी परेको जानकारी प्राप्त भएको छ ।

पोर्चुगलमा सन् २००६ मा स्थापना भएको समितिमा दुई कार्यकाल पूर्ण हमाल सभापति भएका थिए भने हालसमेत गरि दुई कार्यकाल लक्ष्मी प्रसाद सापकोटा सभापति रहेका छन् । एकथरि सहमतिमै नेतृत्व चयन हुने आंकलन गरिरहेका छन् भने अर्काथरि निर्बाचनबाटै नेतृत्वको टुङगो लाग्ने बताईरहेका छन्। यता पूर्वसभापति तथा समितिका अग्रजहरु भने सहमतीमै नेतृत्व चयन हुने बताईरहेका छन् ।

सहमतीमै नेतृत्व चयनका लागि आन्तरिक छलफल र गृहकार्य भईरहेको बताईएको छ। स्थापना कालदेखि सहमती मै नेतृत्व चयन हुदै आएको संगठनमा आपसी समझदारीबाटै समितिको नेतृत्व सहमतीमै टुङगो लाग्ने संस्थापक सभापति पूर्ण हमालले बताए। संगठनको हित र आन्तरिक एकताका लागि पनि सहमतिमै नेतृत्व चयन गर्नुपर्ने हमालको धारणा छ ।

महासमिति सदस्य चिज कुमार तामाङले सहमतिमै नेतृत्व चयनका लागि आन्तरिक छलफल चलिरहेको बताए। आकांक्षी धेरै देखिएपनि अन्ततः सहमतिमै नेतृत्व चयन हुने तामाङको बिश्वास छ।

यसैबिच सहमतिको पहलका लागि सभापति लक्ष्मी प्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय समन्वय समिति गठन गरिएको छ। सहमतीमै नेतृत्व चयनका लागि कार्यदलले अधिकतम पहल गर्ने सभापति सापकोटाले बताए। सहमतिका लागि आन्तरिक छलफल र गृहकार्य जारी रहेकोले सहमतिमै नेतृत्व चयन हुने सम्भावना रहेको उनको भनाइ छ ।

अधिबेशनले आगामी २ बर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ