arrow

देशभरका सम्पूर्ण स्वास्थ्य संस्था बन्द 

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
nepal-medical-association.jpg

 काठमाडौँ । नेपाल चिकित्सक संघले प्राडा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बिहिबार देशभरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक धेरैजसो सबै सेवा बन्द भएका छन् । 

२० दिनदेखि आमरण अनसनरत डा केसीको जीवनरक्षाको माग गर्दै संघले आन्दोलन गरेको हो । यसअघि संघले गत सोमबार सरकारलाई ४८ घण्टे चेतावनी दिएको थियो । सरकारले नटेरेपछि संघले वाध्य भएर आन्दोलनमा होमिनु परेको चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले बताएका छन् । 

संघले बिहिबार सरकारी र निजी शिक्षण अस्पतालसहित नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गरी मध्यान्ह १२ बजे काठमाडौंको माइतिघर मण्डलामा भेला गरिने पनि जनाएको छ ।

संघले यति गर्दा पनि सरकार संवेदनशील नभए आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालसम्म बन्द गरिने चेतावनी दिएको छ । 

गत महिनाको असार १६ गतेदेखि जुम्लामा अनसनरत डा केसीको जीवन रक्षाका निम्ति प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्य मन्त्रीसहित दलका शीर्षस्थ नेतासँग अपिल गर्दा समेत सरकारले नटेरेको संघको आरोप छ । 

संघले सरकारद्वारा गठित वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा केसीलाई जबर्जस्ती काठमाडौं ल्याउने प्रपञ्चमात्र रचिएको आशंका गरेको छ ।

संविधानप्रदत्त नागरिकको स्वास्थ्य र शिक्षासम्बन्धी मौलिक हकका पक्षमा उठेको नागरिक आवाजलाई दबाउन खोज्ने र राज्यको तर्फबाट अफवाह फैलाउने कार्य भएको समेत संघले आरोप लगाउँदै सरकारको यो रबैयाको भत्र्सना गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ