arrow

सरकारी कार्यालयको हातामै चुरोटसुर्ती

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
चुरोटसुर्ती.jpg.jpeg
भक्तपुर। सरकारले कुनै पनि सार्वजनिकस्थलको २०० मिटर वरपर चुरोट सुर्ती लगायत धूमपानजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाए पनि यहाँका नियमन निकायमै खुला रुपमा यस्ता सामग्री पाइन्छ । नियमन निकायका रुपमा रहेको जिल्ला प्रशासन कार्यालय, जिविस र जिल्ला अदालतको खाजाघरमै खुला रुपमा चुरोट तथा सुर्तीको खुलमखुल्ला बिक्री एवम् सेवन गरिएको सेवाग्राहीको गुनासो आउँदा पनि ती निकायले बेवास्ता गरेका छन् । 
 
सार्वजनिक निकायको १० देखि २० मिटरको दूरीमा नै सरकारको धूमपानसम्बन्धी नियमको पालना नभएपछि आफूहरुलाई असर परेको विद्यार्थीले गुनासो गरेका छन् । सार्वजनिकस्थलका रुपमा रहेका सरकारी कार्यालयसँगैको शारदा उमावि, विद्यार्थी निकेतन उमावि र श्रीपद्य उमाविको ढोकैमा खुला रुपमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण एवम् सेवन हुने गरेको छ । 
 
जिल्ला प्रशासन कार्यालयको उत्तरतर्फ रहेको दुई, भक्तपुर अदालतको परिसरभित्र रहेको एक र स्काउट भवन नजिकै रहेको एक खाजाघरमा सरकारी कार्यालयका कर्मचारी नै चुरोट तथा सुर्ती सेवन गरिरहेका हुन्छन् । कर्मचारीले नै सरकारी नियमलाई गिज्याइरहेको विद्यार्थी बताउँछन् । जिविसका र जिल्ला प्रशासन कार्यालयका कर्मचारीले सञ्चालन गर्दै आइरहेको खाजाघरमा पनि धूमपान निषेध क्षेत्रको पालना भएको छैन । 
 
सहायक प्रजिअ शिवराज जोशीले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर छिट्टै अनुगमन गरी यस्तो भेटिए कारबाही गरिने बताए ।उनले भने“कोही कसैले करमुक्त पसलबाट चुरोट, बिँडी, सिगार, हुक्का, सिसा, कक्कड, चिलिम, सुल्पा, खैनी, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न पाउँदैनन्, सबै सरकारी कार्यालयलाई हाताभित्र र सार्वजनिकस्थलमा यस्ता गतिविधि नगर्न निर्देशन दिइने छ ।” 
 
सार्वजनिकस्थलमा धूमपान वा सुर्ती सेवन गर्नेलाई एक सय जरिवाना र बिक्रीवितरण गरे रु दश हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ । सार्वजनिकस्थलमा धूमपान गर्ने व्यक्ति कर्मचारी भएमा विभागीय कारबाहीसम्म गरिने नियम भए पनि कार्यान्वयन हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ