arrow

काँग्रेसमा ओली बलियो

अधिवेशनको मिति अन्यौलमा

logo
लोकेन्द्र खनाल
प्रकाशित २०७२ माघ २८ बिहिबार
13th-congress.png.png.png
रुकुम। यतिवेला नेपाली काँग्रेस रुकुमको जिल्ला अधिवेशनले गर्दा यहाँको राजनितिक सरगर्मी ह्वात्तै बढेको छ । माहौल तातिरहेको बेला काँग्रेस नेताहरु आफ्नो पोल्टामा नेतृत्व हात पार्ने दाउमा छन्। यसका लागि बिभिन्न तहबाट बिभिन्न खाले आँकलन गरिएको छ। केन्द्रको माहौल र कार्यकर्ताहरुको चहलपहलका आधारमा सर्वसम्मत नभए सभापतिका लागि प्रेमप्रकाश ओली, कृष्णबहादुर रोकाय र लक्षिराम घर्ती सभापतिको दाउमा छन्। अन्तमा लक्षिरामले प्रेमलाई समर्थन गर्ने अनुमान छ। यद्यपी घर्तीको आधिकारिक धारणा भने आईसकेको छैन। घर्ती संस्थापन पक्षका भएकाले कार्यकर्ता र केन्द्रीय नेताहरुले ओलीलाई समर्थन गर्न आग्रह गरिरहेको बुझिन्छ। पुराना नेताहरु गोपालजी शाह, केशरमान रोका तथा बर्तमान सभापति मानबहादुर नेपाली केन्द्रिय सदस्य हुने लाईनमा छन् र उनिहरु सबैले नेता ओलीलाई नै सभापतिको लागी अघि सारिरहेका छन्। 
 
संस्थापन र देउवा पक्षबिच केन्द्रमा तिब्र प्रतिस्पर्धा हुने भएपछि रुकुममा पनि माहोल तातिरहेको छ । महाधिवेशन प्रतिनिधि, क्षेत्रिय सभापति, गाउँ नगर सभापतिहरु सबै छनौट भईसकेका छन्। यो परिणाम हेर्दा र माहोल फेरबदल नभए अहिलेकै अवस्थामा नेता ओली सहजै रुपमा अबको जिल्ला सभापति हुनसक्ने धेरैको भनाई छ। गत २५ गतेसम्पन्न भएको दुईवटा क्षेत्र अन्तरगत २ नम्बर क्षेत्रमा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा सतप्रतिशत संस्थापन पक्षले नै आफ्नो पोल्टोमा पारेको छ भने १ नम्बर क्षेत्रमा पनि क्षेत्रीय सभापति र केहि सदस्य र ४ जना महाधिवेशन प्रतिनिधिहरु संस्थापन पक्षले आफ्नो पोल्टोमा पारेको छ। यसलाई हेर्दा पनि अहिले संस्थापन पक्ष नै बलियो देखिएको छ।
 
क्षेत्रीय अधिवेशको क्रममा महाधिवेशन प्रतिनिधिमा सबै भन्दा वढि मत प्रतिनिधिहरुले नेता ओलीलाई नै दिएका थिए। ओली र रोकायको फरक फरक क्षेत्र रहेकाले पनि अन्तिम अबस्थामा आएर ओली र रोकाय जिल्ला सभापतिको लागी चुनावी मैदानमा उत्रने छन्। जिल्ला सभापतिको लागी दुबै आफ्नो उम्मेद्धारी र प्रतिवद्धता सार्वजनिक गरिसकेका छन्। अहिले काँग्रेस नेताका घर तथा डेराहरु कार्यकर्ताहरुको गोप्य छलफलको अखडा बनिरहेको छ भने चियापसल, चोक र चौतारोमा समेत यसै बिषयलाई लिएर छलफल हुने गरिरहेको छ। 
 
जिल्लाका विभिन्न गाउँ तथा नगरबाट आएका प्रतिनिधिहरु तथा मतदाता ५ सय १७ रहेमा ८५ प्रतिशत भन्दा वढि कार्यकर्ता एवं प्रतिनिधि आफ्नो पक्षमा रहेको नेता ओलीले सार्वजनिक रुपमा नै भन्दै आएका छन्। अहिले ओलीलाई  विभिन्न भातृ संघका प्रमुखहरु तथा जिम्मेवार व्यक्तिहरुले समेत समर्थन गरिरहेको एक जिल्ला सदस्यले बताए। ओलीलाई नेविसंघका अध्यक्ष लालबहादुर ओली, महिला संघका सभापति सीता ओली, सेनानी संघका सभापति टेकबहादुर नेपाली, प्रेस युनियनका अध्यक्ष कृष्ण गौतमलगायतले सहयोग गरिरहेको ति जिल्ला सदस्यले बताए। 
 
यस्तै रोकायलाई दलित संघका केन्द्रिय सदस्य यज्ञ परियार, शिक्षक संघका अध्यक्ष देबबहादुर खड्काले समर्थन गरेका छन्। वर्तमान सचिबहरु हर्कसिं खत्रीले रोकायलाई समर्थन गरिरहेका छन्। अर्का सचिब मनमोहन शाहले भने ओलीलोई समर्थन गरिरहेका छन्। सहसचिब भिमबहादुर खड्का र कोषाध्यक्ष गञ्जसिं बुढा पनि ओलीको पक्षमा छन, तरुण दल रुकुममा दुई प्यानल भएकाले नन्द विष्ट पक्षले रोकायलाई र जेके वाँठा पक्षले ओली प्यानललाई समर्थन गरिरहेका छन्।  
 
अधिवेशनको मिति अन्यौलमा
पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शुशील कोइरालाको मृत्यु भएपछि स्थगीत हुन पुगेको नेपाली काँग्रेस रुकुमको अधिवेशन कहिले गर्ने भन्ने विषयमा भने अझै दुई पक्षबिच कुरा मिल्न सकेको छैन्। कोइरालाको शोकमा पार्टी केन्द्रले आगामी १ गते भन्दा पछि मात्र कार्यक्रम गर्नु भन्ने निर्देशन गरेकाले जिल्ला अधिवेशन कहिले गर्ने भन्ने विषयमा संस्थापन र देउवा पक्ष बिच अझै कुरा मिलेको छैन्। कोइरालाको श्रद्धाञ्जली कार्यक्रममा आगामी फागुन ४ गते जिल्ला अधिवेशन गर्ने दुवै पक्षबिच सहमति भएपनि अहिले आएर देउवा पक्षले अधिवेशन पछि सार्नुपर्ने बताउदै आएको छ। 
 
अहिले जिल्लामा संस्थापन पक्षले पहिले सहमति भएको मितिमा नै अधिवेशन गर्नुपर्ने बताउँदै आएको छ भने देउवा पक्षले केन्द्रिय महाधिवेशन पछि मात्र जिल्ला अधिवेशन गर्नुपर्ने बताउँदै आएको छ। केन्द्रको माहौल अनुसार जिल्लाको नेतृत्व आफ्नो पोल्टोमा पार्नको लागी देउवा पक्षले ढिला गर्न खोजी रहेको एक जिल्ला सदस्यले आरोप लगाए। पहिले दिएको सूचनाको आधारमा पूर्वी रुकुमका प्रतिनिधिहरु अहिले जिल्लामा नै बसेका छन्। उनिहरुलाई आउन जान निकै समस्या हुने भएकाले अधिवेशन सकेर मात्र गाउँ फर्कने निर्णयका साथ अहिले सरमुकामका होटेलमा नै बस्दै आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ