arrow

शिक्षा र स्वास्थ क्षेत्र सरकारले नै चलाउनुपर्छ

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
hospital.png

काठमाडौं । सरकार संचालनको जिम्मा नेपाली जनताले पूर्ण बहुमत साथ वर्तमान सरकारलाई दिएका छन् । शायद यो भन्दा ठूलो बहुमत कहिले थिएन । तसर्थ प्रतिपक्षी पार्टीले भन्यो हामी गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्नेछौं ।

सरकारले पहिलो कामको सुरुवात सिन्डिकेट हटाउने अभियानबाट सुरुवात गर्यो, बैंक खाता रोक्ने देखी थुन्छेक र खारेज गर्ने निर्णय समेत गर्‍यो । जनताको समेत समर्थन पाएको निर्णयलाई बिटाका बिटा रुपियाँ उठाएर दोबाटोमा अलपत्र पारेर छोडी दियो ।
ठेक्का लिएर काम नगर्ने ठेकेदारका कुरा उठायो, दुईचार दिन नाटक मञ्चन भयो, नेताहरु ठगहरुका घरमा मार्सीको भात खान पुगे, यातायात मन्त्रीले संरक्षण गरे गृहमन्त्री पछी हटे ।

प्रधानमन्त्री विदेश भ्रमणमा गए, ध्वजावाहक विमानमा गएनन्, निजी विमानको प्रयोग गरे । राष्ट्रको सम्पत्तिलाई आफ्नो मान्न सकेनन् ।
विमान खरिद गर्दा अरबौं भ्रष्टचार भयो भनी सन्चार माध्यमले जनसमक्ष ल्याए सरकार मौन रह्यो ।

ईतिहासकै शक्तिशाली प्रधानमन्त्री विदेश गए, तर पारवहन सन्धि र लिपुलेक को कुरै भएन । जुन मुद्दामा निर्वाचन लडियो, जनताले विश्वास गरे । न अरुणमा नेपालीको पहुँच पुग्यो । राष्ट्रवाद सत्तासँग जोडियो । सिङ्गापुरमा ट्रम्प र किमलाई सिंगापुरका नेपाली सेनाले सुरक्षा दिए भनेर ढोल पिटियो तर मोदिको सुरक्षाका नाममा भारतीय सेनाले नेपाली भूमीमा परेड़ खेल्दा राष्ट्रवाद मौन बस्यो ।

नेपाली युवा युवती विदेशमा छन् जसको पसिनाबाट नेपाल चलेको छ । बिछोडिएको परिवारले ईन्टरनेटको पहुँचले लाईभ कुराकानी गर्दै आफ्नो सन्तानसँग मायाको तिर्खा मेटाएका छन् । त्यसैमा शुल्क बढाउँदछ ।

प्रतीपक्ष पनि मौन धारण गर्दछ । नेपाली सन्चार माध्यमले भन्छ,  ‘प्रतिपक्ष स्लिपिङ्ग पिल्स खाएर सुतेको छ । यस अवस्थामा सरकारले शिक्षा र स्वाथ्य सेवा लाई  गैरनाफा मूलक बनाउँदै जनताको सहज पहुँचमा पुराउन डा. के सी का धेरै कुरालाई आधार मान्न छोडेर मेडिकल माफीयाहरुसँग अङ्कमाल गर्दै जुम्लावासी लाई लाठी हान्न सुहाउँ छ ?

जुन प्रधानमन्त्रीले आफ्नो जिवनको महत्वपूर्ण समय कठोर पूर्ण यातनामा बिताउँदै राष्ट्र बनाउने सपना देख्यो त्यसैको नेतृत्वमा बनेको सरकारलाई पाचँ महिनामा नवित्दै यति धेरै प्रश्नहरु ?

यी सबै मुद्दामा प्रतिपक्षको भूमिका के हुनु पर्ला ? यस समयमा यस्ता मुद्दाहरुमा वर्तमानमा नयाँ पहिचान बोकेका नेपाल कम्युनिस्ट पार्टीका साथीहरुको भनाई के छ ?

हो म राजनीति बिचारले कांग्रेस हुँ । मलाई कांग्रेस हुनुमा गर्व छ । एउटा राजनीति पार्टीको ईमानदार सिपाहीको नाताले पार्टीले गरेको हरेक राम्रो निर्णयको पक्षमा बोल्न र चित्त नबुझेको निर्णय प्रति आफ्नो फरक बिचार राख्न मलाई कांग्रेस बिधानले नै सुनिश्चितता गरेको छ ।
मलाई अन्य कम्युनिष्ट पार्टीका कार्यकर्ता जस्तो राम्रो होस या नराम्रो त्यसको समर्थन गर्नै पर्ने बाध्यता छैन । यस कारणले म नेपाली कांग्रेस हुँ र यसै कारणले गर्व गरेको हुँ ।

यति हुँदा हुँदै पनि मैल प्रा डा केसीको समर्थन मैले कांग्रेस भएर गरेको होईन । प्रा डा केसीको मागलाई समर्थन गर्न मलाई अथवा तपाईंलाई कांग्रेस भई रहनु अनिवार्य छैन । मैले प्रा डा केसिको समर्थन यस कारणले गर्दै छु ,कि म एउटा सचेत नागरिक हुँ ।
म पनि भोलि बिरामी पर्न सक्छु म बिरामी परे भने मेरो उपचार काँग्रेस अथवा कुनै कम्युनिष्ट पार्टीले गरि दिँदैन । म एउटा छोरा छोरीको बाबू पनि हुँ, भोलि मेरो छोरा छोरीले राम्रो अंक सहित चिकित्सा विज्ञान पढ्छु भन्यो भने मसँग एक करोड तिरेर पढाउन सक्ने क्षमता म संग छैन । म एउटा किसानको छोरो हु । मेरा घरमा बुढा बा, आमा पनि हुनुहुन्छ । उहाँहरुको बुढ्यौलीमा लाग्ने रोगहरुको औषधि किन्न हरेक महिनामा राम्रै बजेट व्यवस्था गर्नु पर्छ ।

त्यसले खाडिबाट मेरो स्वदेश फर्कने योजनाहरु सालैपिछे तुहिदै छ । यी सबै कारणले म प्रा डा केसीको मागको समर्थनमा छु ।
त्यसैले प्रा डा केसी भन्दा पनि एक कदम अगाडि बढेर हामी के माग गरौ भने नेपालको सम्पुर्ण  स्वास्थ र शिक्षा क्षेत्र सरकारीकरण गरि सरकारको नेतृत्वमा संचालन गरौं । शिक्षा र स्वास्थ क्षेत्रमा  कांग्रेस कम्युनिष्टको राजनीति खेल सधैंको लागि बन्द गरौ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ