arrow

' दुई वर्षपछि कुनै तुइन देखे फोटो खिचेर ल्याउनु '

प्रम ओली भन्छन 'भारत भ्रमणमा देशलाई नोक्सान हुने काम हुँदैन '

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
UML-student-Union-_PM-oli.jpg.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ असार मसान्तसम्म सबै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने बताएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले २०७४ असार मसान्तसम्म नबनाइ नहुने स्थानमा १७६ वटा झोलुङ्गे पुल निर्माण गर्ने बताए। 
 
प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको शपथ लिँदा नै दुई वर्षभित्र तुइन विस्थापित गर्ने वचन दिएका थिए। “विसं २०७४ साउन १ गते तुइन कहीँ हुने छैन, यदि कहीँ पाए फोटो खिँचेर सिंहदरबारमा ल्याउनुस्, किनकी एउटा पनि तुइन नै रहने छैन”– प्रधानमन्त्री ओलीले भने। 
 
दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकार अघि बढेको भन्दै उनले भूकम्पपश्चात् प्राधिकरण निर्माण गरेर पुनःनिर्माणको काम सुरु भइसकेको र आगामी फागुन १२, चैत १२ र वैशाख १२ देखि पुनःनिर्माणको महाअभियानका चरण अघि बढ्ने बताए।
 
अब अघोषित नाकाबन्दी अन्त्य भएकाले ग्यास, पेट्रोलियम पद्धार्थ सहज हुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहित र स्वाभिमान झुक्ने खालको काम कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गरे। 
 
काँग्रेसलाई सरकारमा आउन प्रमको आग्रह 
प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सरकारमा आउन आह्वान गरे। “लोकतान्त्रिक राजनीतिक दल सबै एक ठाउँमा छन्, देश निर्माण गर्ने अभियानमा हामी एकजुट होऔँ, नेपाली काँग्रेसलाई पनि सरकारमा आउन म आह्वान गर्छु”– प्रधानमन्त्री ओलीले भने। एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका धेरै दल सरकारमा सामेल भएको भन्दै उनले राष्ट्र निर्माणका काममा काँग्रेस पनि सरकारमा आउनुपर्ने धारणा राखे। 
 
भारत भ्रमणमा देशलाई नोक्सान हुने काम हुँदैन 
प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा विवादास्पद र नेपाललाई नोक्सान हुने कुनै पनि काम नहुने बताए। “नेपाल बुद्धको देश हो, शान्ति र मित्रता फैलाउने हो, राष्ट्रहितका पक्षमा दृढ अडिग रहन्छु”– प्रधानमन्त्री ओलीले दृढता व्यक्त गरे।
 
कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा गुटबन्दीको अन्त्य गर्नुपर्नेमा जोड दिँदै गुटबन्दी एमालेका लागि घातक भएको धारणा राखे। उनले नयाँ संविधान परिर्वतनको दस्तावेज भएकाले त्यसको कार्यान्वयनका लागि सबैले आआफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा जोड दिए। पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिक्षा क्षेत्रको विकृति विसङ्गति अन्त्यका लागि नेपाली विद्यार्थी आन्दोलनमा अनेरास्ववियुको भूमिका महत्वपूर्ण भएको बताए।
कार्यक्रममा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराई, युवासङ्घ नेपालका अध्यक्ष राजीव पहारी, अनेरास्ववियु क्रान्तिकारी संयोजक रमेश मल्ललगायतले शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्नेमा जोड दिए। आगामी फागुन १ सम्म हुने सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ