arrow

अख्तियारद्वारा सशस्त्रका पूर्व महानिरीक्षक सहित सातविरुद्ध मुद्दा दायर

logo
प्रकाशित २०७२ माघ २९ शुक्रबार
basudev-oli.jpg.jpeg
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरीक्षक वासुदेव ओलीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानिरीक्षक ओलीले सशस्त्र प्रहरी बलका विभिन्न गण, युनिट तथा गुल्ममा सामानको ढुवानी गर्दा नक्कली बिल तथा भर्पाई बनाई रु एक करोड १४ लाख ५४ हजार ४९ बराबर भ्रष्टाचार गरेको अभियोगसहित आज मुद्दा दायर गरेको प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिए । 
 
यसैगरी, पूर्व सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्रबहादुर कार्की र सशस्त्र प्रहरी निरीक्षक बिनबहादुर थापाले पनि रु एक करोड १४ लाख ४५ हजार ४९ बराबरकै भ्रष्टाचार गरेको आयोगको दाबी छ । त्यसैगरी, सशस्त्र प्रहरी निरीक्षकद्वय मनुहीरा महतले रु २८ लाख १८ हजार ५१५ र शिवबहादुर अधिकारीले रु सात लाख तीन हजार ३५ अनियमितता गरेको पाइएको छ । आयोगका अनुसार सशस्त्र प्रहरी नायब निरीक्षक देवेन्द्रकुमार श्रेष्ठले रु पाँच लाख ६० हजार ९५२ र सशस्त्र प्रहरी नायब निरीक्षक लेखबहादुर खत्रीले रु ४५ लाख २० हजार २७३ अनियमितता गरेको पाइएको आयोगको दाबी छ । 
 
उनीहरु सबैलाई हदैसम्मको कारबाहीको माग गरिएको र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरिएको प्रवक्ता पुस्करले जानकारी दिए । यसअघि पनि आयोगले सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षकद्वय कोषराज वन्त र शैलेन्द्रकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । सशस्त्र प्रहरीका लागि आवश्यक पर्ने सामान ढुवानीमा अनियमितता गरेको, नक्कली बिल तथा भर्पाई बनाई राज्यकोषको दुरुपयोग गरेको आयोगको अध्ययनबाट पत्ता लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ