arrow

दुर्गा प्रसाईंलाई कारबाहीको माग, कांग्रेस महिला सांसदको सार्वजनिक महत्वको प्रस्ताव 

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
sansad-nirwachan.jpg.jpeg

काठमाडौं । कांग्रेसका महिला सांसदले बी एण्ड सी अस्पतालका संचालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गरेर प्रतिनिधि सभामा सार्वजनिक महत्वको  प्रस्ताव दर्ता गरेका छन् ।

उनीहरुले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । जसको दर्ता नम्बर ७ रहेको छ । कांग्रेस सांसद डिला गंग्रौला त्यसको प्रस्तावक छिन् ।  लक्ष्मी परियार र प्रमिला राईले सार्वजनिक महत्वको प्रस्तावलाई समर्थन गरेकी छन् । उनीहरुले सम्बन्धित मन्त्रालय समेत तोकिदिएका छन्, महिला बालकालिका तथा जेष्ठ नागरिक । 

महिला सांसदहरुले झापाको बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत मित्रराष्ट्र बंगलादेशमा मेडिकल शिक्षा आर्जन गरी स्वदेश फर्किएका तथा अहिले त्यहाँ अध्ययनरत छात्राहरुप्रति अपमानपूर्ण अभिव्यक्ति दिएर संविधान र कानुनको ठाडो उल्लंघन गरेको उल्लेख गरेका छन् । 

प्रस्तावको ठहर खण्डमा, संसदमा छलफल गर्नु पर्ने कारण पनि दिएका छन् । ‘संविधानको धारा १८ को समानताको हक र धारा ३८ को महिलाको हकविपरित सार्वजनिक अभिव्यक्ति दिएर सिंगो महिला जगतको मान मर्दन गर्ने कार्यले संविधान र कानुनी शासनको धज्जी उडाउने कार्यले नेपाल र मित्रराष्ट्र बंगलादेशबीचको कुटनीतिक सम्बन्धमा समेत ठूलो आँच पुर्‍याउने प्रयास भएको छ । यस्ता अमर्यादित गतिविधिलाई निस्तेज पार्न कानुन बमोजिम हदैसम्म को कारबाही गरी संविधान, कानुनको पालना मार्फत आम नेपाली महिला, विद्यार्थी र नागरिकको स्वाभिमानको रक्षा गर्न आवश्यक भएकोले’-प्रस्तावको अन्तिम तथा ठहर खण्डमा भनिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ