arrow

स्वचालित ट्रकको योजनामा पछि हट्यो उबर कम्पनी

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
uber-truck.jpg

एजेन्सी। उबर कम्पनीले आफ्नो स्वचालित ट्रकको योजनामा पछि हटेको छ। यस वर्षको अन्तिमसम्ममा बजारमा आफ्नो स्वचालित ट्रक ल्याउने गरी अघि बढेको कम्पनीले आफ्नो यो योजना स्थगित गरेको छ। आफ्नो ध्यान कारहरुको स्वचालित सेवामा केन्द्रित गर्नको लागि कम्पनीले यस्तो योजना ल्याएको बताइएको छ। सन् २०१६ मा उबरको स्वचालित ट्रक निर्माणको योजना सुरु भएको थियो। 

यस वर्षको अन्तिममा उबरले आफ्नो स्वचालित ट्रक बजारमा ल्याउने तयारी गरेको अवस्थामा आफ्नो महत्वपूर्ण योजनाबाट पछि हट्ने निर्णय कम्पनीले गरेको हो। सुरुमा कम्पनीले आफ्नो ट्रकको बजारमा सुरक्षाको कारण देखाउँदै स्वचालित कार ल्याउने बताएको थियो।

उबरका अन्य ट्रकका कार्यक्रमहरु भने नरोकिने अधिकारीहरुले बताएका छन्। यसअघि पनि उबरको स्वचालित सवारीहरुको विषयमा विभिन्न किसिमको समस्याहरु देखिएको थियो। गएको मार्च महिनामा कम्पनीले आफ्नो स्वचालित सवारीको परीक्षण रोक्ने निर्णय गरेको थियो। स्वचालित कार दुर्घटना भएको समाचारसँगै कम्पनीले यस्तो निर्णय गरेको थियो। अमेरिकाको एरिजोनामा कम्पनीले निर्माण गरेको कारबाट ४९ वर्षीया एक महिलाको ज्यान गएको थियो।

स्वचालित कारको विस्तारको विषयमा पछिल्लो समय सवारी दुर्घटनाको विषय जोडिँदै आएको छ। दुर्घटनाको कारण देखाउँदै विभिन्न कम्पनीहरुले पनि आफ्नो स्वचालित कारको विषयमा आशंकाहरु व्यक्त गर्दै आएका छन्। अहिले अमेरिकामा फोर्ड, जेनेरल मोटर्स, मारेसिड्स बेन्जलगायतका कम्पनीहरु आफ्नो स्वचालित सवारीको विषयमा काम गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ