arrow

संसदीय सुनुवाई समितिको बैठक फेरि अनिर्णित, अर्को बैठक शुक्रबार 

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
sunuwai-samiti1.jpg

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायधीश सिफारिस गरेको दीपकराज जोशीको अनुमोदनबारे निर्णय गर्न बसेको संसदीय बिशेष सुनुवाई समितिको बैठक फेरि अनिर्णित भएको छ । सिंहदरबारमा बसेको बैठकमा संसदीय सुनुवाई समितिमा प्रतिनिधित्व गर्ने दलहरुबीच कुरा मिल्न नसकेपछि बैठक अनिर्णित भएको हो । यसअघि चार पटक सरेको बैठक अब शुक्रबार बस्ने बताईएको छ । 

जोशीको नाम अनुमोदन गर्ने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षले वुधबार निकै दौडधुप गरेपनि त्यसको कुनै उपलब्धि भएन । सुनुवाई समितिको बैठकअघि सत्ताधारी नेकपाका सांसद तथा संसदीय सुनुवाई समितिमा रहेका सदस्यहरुले आन्तरिक छलफल गरेका थिए । जसको सहजिकरण संसदीय दलको उपनेता सुवास नेम्वाङले गरे । जहाँ पूर्व एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समेत सामेल थिए ।  

छलफलपछि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । सत्तापक्ष मात्रै नभई प्रतिपक्षले समेत छलफल गरेको थियो । यतिसम्म कि नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसी र महासचिव खम्म बहादुर खाती समेत कांग्रेस शेरबहादुर देउवासँग कुरा गर्न पुगे । वुधबार दुबै पक्षले थाक्ने गरेर निकै दौडधुप गरे ।  

प्रधानमन्त्री ओलीले समेत प्रस्ताविकत प्रधानन्यायाधीश जोशीसँग यो बिचमा पटक–पटक कुरा गरे । संसदीय सुनुवाई समितिमा रहेका सत्तापक्षीय बहुमत सदस्य जोशीलाई अनुमोदन नगर्ने रणनीतिमा छन् । विपक्षीले जोशीकै पक्षमा निर्णय गर्नको लागि दबाब दिएको बताइँदै छ । गएको विहिबार संसदीय सुनुवाई सकिएको भएपनि निर्णय अझै नसुनाईएको भन्दै संसदीय समितिको औचित्यमाथि नै प्रश्न उठेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ