arrow

स्तनपान सप्ताह : स्वास्थ्य सेवा विभागमा स्तनपान कक्षको शुभारम्भ

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
stanpan.JPG

काठमाडौं । विश्व स्तनपान सप्ताहको पहिलो दिन वुधबार स्वास्थ्य सेवा विभागमा स्तनपान कक्षको शुभारम्भ गरिएको छ । विभागमा कार्यरत स्तनपान गराइरहेका कर्मचारी र सेवाग्राहीहरुका लागि यो कक्षको सुरुवाट गरिएको हो । 

स्तनपान : जीवनको आधार  नाराका साथ  विश्व स्तनपान सप्ताह सुरु भएको हो । प्रत्येक वर्षको अगस्ट १ तारिखमा  विश्व स्तनपान दिवस मनाईन्छ । यही अवसरमा बुधबारदेखि स्तनपान सप्ताह सुरु भयो । साथै यो कक्षमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा लिन आउने नवजात शिशुका आमा र उनीहरुका बालबालिकालाई समेत लक्षित गरि स्थापना गरिएको स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. शुसील प्याकुरेलले बताए ।

उक्त कक्षको निमित्त सचिव प्याकुरेल का साथै विभागका महानिर्देशक डा. गुणराज लोहनी र युनिसेफ नेपालका प्रतिनिधी टोमो होजुमीले सयुक्त रुपमा उदघाट्न गरे । दुई महिलाले एकैपटक स्तनपान गराउन मिल्ने कक्ष भएपनि ४ जनासम्मले सेवा लिन सकिने बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

यो कक्षमा हात धुने स्थान्, बच्चा सुताउने स्थान तथा सन्देश मूलक सामग्री समेत राखिएका छन् । युरोपियन युनियन र युनिसेफको सहयोगमा चालु आर्थिक वर्षमा देशका विभिन्न ३० स्थानमा यस प्रकारको स्तनपान कक्षको स्थापना गर्ने तयारी रहेको विभागले जनाएको छ ।साथै देशका ३० वटा अस्पताललाई मातृ तथा बालमैत्री अस्पतालको रुपमा विकास गर्न लागिएको समेत स्तनपान कक्ष उद्घाटन कार्यक्रममा जानकारी दिइएको छ ।

हालको श्रम ऐन २०७४ अनुसार स्तनपान गराउने महिलाहरुलाई ९८ दिन सुत्केरी बिदा दिने प्रावधान राखेकोमा शिशु तथा बाल्यकालीन पोषण रणनीतिले यसलाई ६ महिना सम्म पुर्याउनुपर्नेमा जोड दिएको छ । 
सन २०१६ को तथ्यांक अनुसार नेपालमा पूर्ण रुपमा स्तनपान गराउनेको संख्या ६६ प्रतिशत छ, भने शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ । ४५ प्रतिशत शिशुले जन्मेको एक घण्टाभित्र आमाको विगौती दुध खानबाट बञ्चित हुने गरेका छन् । शिशुलाई कहिल्यै पनि स्तनपान नगराईएको प्रतिशत भने १ छ ।

आमाको दूधलाई शिशुको पहिलो खोपको रुपमा पनि लिने गरिएको छ । आमाको दुधले गर्दा शिशुको मृत्य हुने तथा रोग लाग्ने खतरा उच्च हुने गरेको संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जन्मिएको एक घण्टा भित्र आमाको दूध खान पाएका शिशुको स्वास्थ्य निकै राम्रो हुने भए पनि, अहिले पनि हरेक वर्ष विश्वका ७८ करोड नवजात शिशुले जन्मिएको एक घण्टा भित्र दूध खान पाएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ