- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आठ वर्षदेखि चीनको बजारमा प्रतिबन्धको सामना गरिरहेको अमेरिकी कम्पनी गुगल पुनः चीनको बजारमा प्रवेश गर्ने तयारीमा देखिएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार गुगल चीनको बजारमा प्रवेशको लागि विभिन्न तयारी गरिरहेको हो । मोबाइल खोजी सेवा प्रदायक कम्पनीले चीनले कालो सूचीमा राखेका खोजीका विवरणहरुलाई हटाउँदै चीनको बजारमा प्रवेशको तयारी गरेको हो ।
समाचारमा बताइएअनुसार गुगल सबैभन्दा पहिला चीनमा रहेका एन्ड्रोइडका स्मार्टफोनहरुको माध्यमबाट आफ्नो सेवा चीनमा प्रवेश गराउने तयारीमा रहेको देखिएको हो । यो सेवा चिनियाँ अधिकारीहरुको निगरानीमा चीनमा पुर्याउन लागिएको हो ।
यस विषयमा गुगलले भने आधिकारिक रुपमा कुनै पनि किसिमको प्रतिक्रिया दिएको छैन । यद्यपि गुगल चीनमा फर्किने भने यकिन भइनसकेको बताइएको छ । विश्वको महत्वपूर्ण बजार रहेको चीनमा आफ्नो व्यापार विस्तारका लागि गुगल लामो समयदेखि संघर्ष गरिरहेको छ ।
सन् २०१० मा गुगलमाथि सेन्सरसिप र ह्याकिङको कारण देखाउँदै दबाब बढेसँगै उसले आफ्नो चीनको कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
अहिले अमेरिका र चीन दुवै मुलुकहरु व्यापारयुद्धमा उत्रिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सबै सामग्रीहरुमा कर लाग्नसक्ने भन्दै चेतावनी दिइसकेका छन्, यस्तो अवस्थामा अमेरिकी कम्पनी चीनको बजारमा व्यापारिक विस्तारको लागि अघि बढेको हो । (एजेन्सी)