arrow

सिंहदरवारको कुर्चिमा बन्धक भएको देश

logo
चन्द्र भण्डारी,
प्रकाशित २०७५ साउन १८ शुक्रबार
chandra-bhandari2.jpg

काठमाडौं। सरकार बनेको पाँच महिना नपुग्दै प्रतिपक्ष पार्टी नेपाली काँग्रेसले सडकबाट आफना कुरा राखेको छ । साथै यति घेरै काँग्रेस सडकमा आए, चुनावमा यिनीहरु कहाँ थिए प्रश्न उठेको छ। काँग्रेसका वर्तमान नेताहरुका कारण चुनावमा पराजित भयो भन्ने कुरा अझ बढी उठेको छ। जसले वर्तमानको नेतृत्व सक्दैन उसले भोलिको चुनौतीको नेतृत्व गर्न सक्दैन । यी प्रश्नहरु जनताले उठाएका छन्।

अहिले नेपालमा मुखमा लगाम, काममा पारदर्शिता नभएका कम्युनिस्ट पार्टीका नेताहरुको हातमा देशको जिम्मा छ । अत्यन्त ठुलो दुश्मनी र एकले अर्कोंलाई दुश्मन ठान्नेहरु बिचको नयाँ मिलनको उपको रुपमा आएको छ नेपाल कम्युनिष्ट पार्टी । उग्र, उद्दण्ड र टर्रो स्भावभावको भारी बोकेको त्यो पाटीले विगतमा भारतले लगाएको नाकाबन्दीलाई नारा बनाउदै जनताको मनलाई छुन पुगेको थियो । हावादारी गफ र कम्युनिष्ट पार्टीहरु बिचको एकता र काँग्रेस पार्टीका नेताहरुको अकर्मण्यताले कम्युनिस्ट पार्टीको दुईतिहाइ आउन पुग्यो । पार्टीहरु बिचको एकतामा ढीलो हुँदा केपी ओलीले भने “ साथीहरु हामी पार्टी एकता जसरी पनि गर्दछौं, खुट्टामा जुता मिलेनन् भने खुट्टा तासेर पनि जुता मिलाउँछौ। यसरी निर्वाचनको समयदेखिनै केपीजीको भाषण वेलगाम अगाडि बढिरहेको थियो । जनताको चुलोमा ग्यासको पाइप, काम नगरी अल्छी गर्नेहरुलाई बिछौंनामा भात। वृद्धहरूलाई नमस्ते गर्दै घर घरमा पाँच हजार। पानी जहाजदेखि रेलमा कुदने सपना, गाउँगाउँमा सडकहरु कालोपत्रे गर्नेदेखि कुनै पनि काम नगर्ने भन्ने नै भएन। खुट्टा तासेर जुता मिलाउने भनाइमा त कार्यक्रताले तालीको गडगडाहट गरे भने अरु सपनामा लोभ नलाग्ने कुरै भएन ।

अर्कातिर काँग्रेस पार्टीले सरकारमा बसेर न बजेटनै ल्याउन कोसिस गर्यो । आपसी द्वन्द्वमा रमाउदै सरकारको महातमा पार्टीका साथीहरुलाई नै चिन्न सकेन। लथालिड्ग नेताको भताभुङगे ताल भयो । निर्वाचनमा टिकट वितरण गर्दा संघ, प्रदेश र समानुपातिकलाई मिलाएर मात्र गरिदिएको भए मात्र पनि काँग्रेसको यो दुखद नतिजा आउने थिएन। काँग्रेसलाई कमजोर गराउन राजा महेन्द्रले भिराइदिएको भारतीय दलालको विल्ला केपी ओलीको चर्को स्वरले झन उत्कर्षमा पुर्‍याए। अझै पनि काँग्रेसका नेताहरु गुट उपगुट भागवण्डा, व्यक्तिगतदेखि गिरोहगत स्वार्थमा नलागेको भए राजा महेन्द्रले थोपरेको आरोप बोकेर काँग्रेसलाई रक्षात्मक बनाउँदै केपी ओली यो हदसम्म सफल हुने थिएनन्। यो पंडतिकारको गहिरो विश्वास छ काँग्रेसका विरोधी काँग्रेसकै नेता हुन्।

नेपालजस्तो देशमा जनताको मतबाट कम्युनिष्टहरुको दुइतिहाइको सरकार बन्यो केपी ओली प्रधानमन्त्री बने। मधेसमा प्रवेश निषेध गर्ने तराइका पार्टीहरू नेकपाकै सरकारका समर्थक बने । प्रधानमन्त्री भारत गए लिपुलेक, सुस्ता, कालापानी सीमा विवाद, डुवानका कुराले ठाँउ पाएनन्। अरुण नदी भारतलाई दक्षिणा, पानी जहाज भाषणको पुच्छर बनेर आयो। भारतिय प्रधानमन्त्री धार्मिक भ्रमणको नाममा नेपाल आए। जानकी मन्दि, पशुपतिनाथ र मुक्तिनाथको पूजा गर्दै भारतीय सेनालाई नेपालमा परेड खेलाए। अरुण आयोजनाको शिलान्यास गरी स्वदेश फर्किए। नेपालका प्रधानमन्त्री चीन जाँदा नेपाली जनताले ठुलो आशा गरेका थिए। अब नेपाल भारतको नाकाबन्दीबाट मुक्त हुनेछ भनेर तर पारवहनसन्धि चीनबाट इन्धन ल्याउनेदेखि लिपुलेकका कुरै आएनन्। सिंहदरवारको कुर्सीसँगै सुरक्षामा राष्ट्रवाद खुम्चिन र साटिन पुग्यो । चीनबाट रेल र भारतबाट पानी जहाज आउने हुँदा काठमाडौंका सडकका खाडल र कलंकी थानकोट सडक बनाउने कार्य आवश्यक ठानिएको छैन ।

सरकारले कामको सुरुवात सिन्डिकेट हटाउने अभियानबाट गर्यो, बैंक खाता रोक्नेदेखि थुनछेक र खारेज गर्ने निर्णय समेत गर्यो। जनताको समर्थन पाएको निर्णयलाई रुपियाँसँग साटी दोबाटोमा अलपत्र पारेर छोडिदियो । ठेक्का लिएर काम नगर्ने ठेकेदारका कुरा उठायो, दुईचार दिन नाटक मञ्चन भयो, नेताहरु ठगहरुका घरमा मार्सीको भात खान पुगे। यातायात मन्त्रीले संरक्षण गरे, गृहमन्त्री पछि हटे। प्रधानमन्त्री विदेश भ्रमणमा जानु भयो ध्वजावाहक विमानमा जानु भएन, निजी विमान कम्पनीको प्रयोग गर्नुभयो। राष्ट्रको सम्पत्तिलाई आफ्नो मान्न सक्नु भएन। विमान खरिद गर्दा अरबौं भ्रष्टाचार भयो भनी सन्चार माध्यमले जनसमक्ष ल्याए सरकार मौन। तलदेखि केन्द्रसम्म भष्टाचार नियन्त्रणदेखि महंगी नियन्त्रणको लागि कार्ययोजना छैन। दोहोरो तेहोरो करका मारमा परेका जनतालाई कसरी राहत दिने भन्ने कुराले प्राथमिकता पाएको छैन । केही मन्त्रीहरुको एक्लो पहलले के हुन्छ? गृहमन्त्री आफना निणर्यमा व्याक, कानुन मन्त्री बोलेर ब्याक, सरकारका निर्णय अनसनले ब्याक। इन्टरनेटमा लगाएको कर बृद्धीबाट ब्याक। राष्टियताका मुद्दा सिंहदरवारको कुर्सीको सुरक्षामा बन्धक। विकाश योजना ठेकेदारका फाइलमा बन्धक। ताली पिट्नेहरु पार्टीका बन्धक। सपना सबै उडायो हुरीले। यी विभिन्न कुराहरु जनतासँग पुर्‍याउन र सरकारलाइ सजग, सतर्क बनाउन जनतासँग गएको हो काँग्रेस। बुझ्नुपर्ने कुरा काँग्रेस अहिले नै आन्दोलनमा उत्रिएको होइन। प्रतिपक्षीको नाताले काँग्रेस माइतिघरमा मात्र होइन राष्ट्रलाई सत्ताले बन्धक बनाउन खोजे हामी छौं भनेर खवरदारी गर्न मात्र आएको हो । 

(भण्डारी नेपाली काँग्रेसका नेता हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ