arrow

स्याङ्जा महोत्सवको तयारी तिब्र

महोत्सव स्याङ्जा जिल्लाकोे पहिचान

logo
श्रीकृष्ण सिग्देल।
प्रकाशित २०७२ फागुन २ आइतबार
syanjas.jpg.jpeg
स्याङ्जा। फागुन २० गते देखि ३० गते सम्म संचालन हुने स्याङ्जा महोत्सवको तयारी तिब्र गतिमा अगाडी बढेको आयोजकले बताएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको पश्चिमाञ्चल क्षेत्रिय औद्योगीक पर्यटन, कृषि, मत्स्य तथा व्यपार मेलाको तयारीका बारेमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो । “कृषि पर्यटन नै आर्थिक प्रगतिको पूर्वाधार” भन्ने नाराका साथ चौथो स्याङ्जा महोत्सव संचालन हुदैछ । हरेक दुई बर्षमा गर्ने भनिएको स्याङ्जा महोत्सव विविध कारण ४ बर्ष पछि हुन लागेको आयोजकले जनाएको छ । महोत्सवमा स्याङ्जामा लुकेको पहिचानको खोजी गरी प्रवद्र्धन गर्ने मुख्य उदेश्यका साथ यो महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए ।
 
२ सय ५० स्टल रहने महोत्सवमा जिल्लामा अवस्थित कृषि, मत्स्य, घरेलु उद्योग तथा कृषि उत्पादन, पशुपंक्षि, ठूला व्यवसायीक औधोगिक प्रतिष्ठानहरुका उत्पादनहरु रहने छन् भने आर्कषणका रुपमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति, वाल उद्यान, चिडियाखाना, हेलिकप्टरबाट विभिन्न ठाँउको अवलोकन, खेलकुद प्रतियोगिता, फोटो प्रदर्शनी, प्यारागलाईडिङ रहेको आयोजकले जनाएको छ । मेला अवधीभर करिव ६ करोड वराबरको कारोवार र २ लाख भन्दा बढी दर्शकले अवलोकन गर्न सक्ने अपेक्षा आयोजकले लिएको छ ।
 
महोत्सव अवलोकनका लागि गाँउ गाँउ देखि देशका विभिन्न शहरहरुमा प्रचार प्रसार तिब्र पारिएको आयोजकको भनाई छ । ११ दिन सम्म चल्ने महोत्सवले स्याङ्जालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्म चिनाउने महत्वपूर्ण काम हुने आयोजकको भनाई छ । आयोजकले पुषको ९ गतेबाट १९ गते सम्म महोत्सव आयोजना गर्ने निर्णय गरेका थिए । तर देशको वर्तमान परिस्थिति र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण स्थगित गरिएको थियो । 
 
मेलाका लागि अहिले सम्म १ सय भन्दा बढी स्टलहरु बुकिङ भइसकेको छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको व्यपार व्यवसाय, उद्योग र उत्पादनको प्रवद्र्धन गर्नुका साथै स्थानीय कृषि तथा पशुपालन, पर्यटन लगायत अन्य पेशा सगँ सम्वन्धित विभिन्न क्षेत्रको उत्थान गरी स्थानीय जनताको क्रयशक्तिमा बृद्धि गर्न महत्व दिने महोत्सवको रहेको आयोजकले जनाएका छन् । घरेलु उत्पादनलाई बजार सम्म पुर्‍याउन महोत्सवले महत्वपूर्ण भुमिका खेल्नेमा आयोजकले विश्वास लिएका छन् । मेलाको मुख्य प्रयोजक मुक्तिनाथ विकास बैंकले गर्ने भएको छ ।
 
महोत्सव पुतलीबजार नगरपालिका स्थित मालेवगर खेलमैदानमा संचालन हुनेछ । पत्रकार सम्मेलनमा वोल्दै नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य दिपक लम्सालले यो महोत्सव सबै स्याङ्जावासीको भएकाले सबैले आ—आफ्ना क्षेत्रबाट सहयोग गरि सफल बनाउन आग्रह गरे । महोत्सवलाई सफल बनाउन चुनौती सगै समाधान पनि सगै हुने हुदा धैर्यताका साथ महोत्सव सफल बनाउने जिम्मेवारी सबैको काधमा आएको केन्द्रिय सदस्य लम्सालको भनाई थियो । महोत्सव संचालन हुने दिन नजिकिदै आएकाले सबै उपसमितिहरुले लिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न पनि लम्सालले आग्रह गरे । 
 
सो कार्यक्रममा सल्लाहकार मोती पौडेल, अमृत श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष प्रकाश डोटेल, संघका बरिष्ठ उपाध्यक्ष निर्मला लम्साल लगायतले महोत्सव सफलता बनाउन आ—आफ्ना धारणा व्यक्त गरेका थिए । महासचिव हिक्मत श्रेष्ठको संचालनमा सम्पन्न भएको पत्रकार सम्मेलन संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ