arrow

निष्ठावान नेता पंगेनी अस्ताएको दिन

logo
नविन अर्याल,
प्रकाशित २०७५ साउन २८ सोमबार
pangeni.JPG

युएई । आयो टप्प टिप्यो मिती पुग्यो टारेर टर्दैन त्यो,

  बिहान बिस्तारामा नै थिए । उठेकै थिइन इन्टरनेटमार्फत फोन आयो , कुरा खबर आदान प्रदान भयो तर मैले पाएको खबर साच्चै अपत्यारिलो थियो । जुन खबरले मेरो मनमा एक असह्य पिडाबोध गराएको थियो । जुन दिन नेपाली कांग्रेसका पूर्व सांसद तथा स्याङजाका  जिल्ला सभापति कमल पंगेनीको मृत्युको दुखद खबर सुने ।  

मृत्यु शास्वत सत्य हो तर अल्पायुमै मृत्यु बरण गर्नुको पिडा असह्य हुन्छ । स्वर्गिय कमल पंगेनी एक कुशल राजनीतिकर्मी  थिए । समाजसेवाको लागि उनको योगदान अतुलनीय छ । मेरो लागि पंगेनीको निधन अपत्यारिलो सत्य थियो ।

पारिवारिक रुपमा नाता पर्ने पंगेनी मेरो लागि राजनीतिमा एक प्रतिनिधि पात्र नै थिए भन्दा अत्युक्ति हुन्न कारण मैले राजनीति भन्ने विषय नै उनको निष्ठाबाट जानेको थिए । त्यहीबाट मेरो लागी कांग्रेस र पंगेनीको निकटता बढाए । सबैसँग मिठो स्वरमा कुरा गर्ने र राजनीतिलाई गरिखाने भाडो होइन समाज सुधारको पाटो सम्झने पंगेनी आज यस दुनियामा नरहनु समाजको लागि अपुरणीय क्षती हो ।

पंगेनीको जन्म स्याङजा जिल्लामा भए तापनि देशको  लागि नै एक असल पुत्र बनेर धेरैको मन मष्तिष्कमा बस्न सफल थिए । २०३३ सालदेखि राजनीतिक यात्रा शुरु गरेका उनी २०४२ सालमा नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा नियुक्त भएका थिए । यहीबाट राजनीतिमा उनी सक्रिय बन्दै गए भने २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा स्याङजा क्षेत्र नम्बर १ वाट उम्मेदवार बनेका पंगेनीले निर्वाचनमा हार बेहोरेपनि धेरैको मन जित्न सफल भएका थिए । त्यसैको परिणाम स्वरुप २०७० सालको निर्वाचनमा बिजय प्राप्त गर्न सफल भए ।

 यसरी राजनीतिक उचाईमा पुगेका पंगेनी ३ पटकसम्म कुनै विवाद विनानै नेपाली कांग्रेसको जिल्ला सभापति चयन भए । सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर पनि जिल्ला साथै देशको विकाश सम्भब छ भन्ने कुरामा जोड दिने पंगेनी कांग्रेस स्तरका एक मिजाशिला र लोकप्रिय नेताका रुपमा परिचित थिए ।

अहिलेका धेरै भ्रष्टाचारका अग्रजहरुको नाम राजनीति गर्नेसँग जोडिएर आउने गर्दछन तर पंगेनी यी सबैबाट टाढा थिए । अहिले  यथार्थमा कुरा गर्दा न उनको आफ्नो जमीन छ नत घर नै जसबाट सहज अनुमान लगाउन सकिन्छ कि उनी एक निष्ठावान र समाजसुधारक राजनीतिकर्मी थिए । व्यक्तिगत स्वार्थभन्दा टाढा रहेर काम गर्ने  सोच भएका पंगेनीको मृत्युमा एकट्ठा भएको भिडले पनि उनले समाजमा गरेको योगदान प्रष्ट रुपमा चित्रण गरेको छ ।

 अहिले उनको मृत्युपछिको काममा पनि धेरै नेता कार्यकर्ताको उपस्थिति रहेको उनका आफन्त खिनाकुमारी अर्यालले जानकारी दिए । उनका अनुसार अहिले काममा आउनेहरुका  समेत अझै आँखा ओभाएका छैनन् ।  

आफन्त गुमाएको अपत्यारिलो सत्य र देशले गुमाएको असल छोरो पंगेनी मेरो मानसपटलमा  सदा सम्झनामा रहिरहने छन् । उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तब्ध परिवारलाई यो दुख सहने शक्ति मिलोस भन्दै बीट मार्छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ