- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर । मोटो ज्यान, होचो कद , शान्त र शालिन स्वभावका धनी ३५ वर्षिय शुरेश गजुरेल । भारत सरकारले समाज सेवामा योगदान पुर्याउदै आएका ब्यक्तिहरुलाई दिदै आएको अम्बेडकर फेलोशिप अवार्डबाट सम्मानित भइ सकेका युवा हुन । गजुरेल पुनर्वासका युवा जसको परिचय यति बेला भिन्न बन्दै गएको छ । वनस्पतिजन्य उत्पादनमा उनी शौकिन बनेका छन । कञ्चनपुरको पुनर्वास जहाँ धेरै युवा र वनस्पतिजन्य उत्पादनबाट आम्दानी र रोजगारी दुबै मनग्ये आर्जन गर्न सकिने तथ्य उनले देखाई दिएका छन् ।
कञ्चनपुरको सिमान्त दक्षिणी क्षेत्रमा ग्रीन नर्सरी उद्योग स्थापना गरि थुप्रै प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन् । बिरुवा उत्पादनका बारे औपचारिक अध्ययन नभए पनि व्यावसायिक लाभका लागि इन्टरनेट उनको गतिलो माध्यम बनेको छ । उनी इन्टरनेटका माध्यमले कृषि बैज्ञानिक हरु संग समन्वय,नर्सरी उत्पादक संग समन्वय यी जम्मै काममा गजुरेललाई सहज बनाइ दिएको छ इन्टरनेटले यहीँबाट उनी नर्सरी उद्योगमा बिरुवा उत्पादनको शिक्षा लिदै बिरुवा उत्पादन गर्दै आएका छन् । यो बाहेक देशका विभिन्न भागमा सञ्चालित नर्सरी उद्योगहरुमा अध्ययन भ्रमणबाट लिएको सिकाई गजुरेलका निम्ति बरदान बन्दै गएको छ ।
शान्त स्वभाव,मिलनसार, थोरै बोल्ने स्वभावका शुरेश गजुरेलले पुनर्वासमा ग्रीन नर्सरी उद्योग स्थापना गरि फलफुल,सजावटका,जडिबुटी र रुख प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन् । धेरै प्रकारका बिरुवा उत्पादन गर्दै आए पनि शुरेशले जडिबुटी र फलफुलका बिरुवा उत्पादनलाई बिशेष महत्व दिदै आएका छन् । उनी भन्छन् - फलफुलहरुमा जस्तै अनार र केरा पुनर्वास लगायत पश्चिम नेपालको माटोमा सप्रने र उत्पादन सहज हुन्छ । हामिले फलफुल उत्पादनलाई बढावा दिन सके भारतीय उत्पादनले धानेको हाम्रो बजारमा हाम्रै उत्पादनले स्थान पाउछ हामी आत्मनिर्भर हुन्छौ संगै आर्थिक समृद्धि समेत हुन्छ । तसर्थ हाम्रो पौरख र हाम्रो बैशलाई उत्पादनमा लगाउन सक्यौ भने यहि रोजगार यहि आम्दानी ।
शुरेश गजुरेल पुनर्वास नगरपालिकाका कार्यपालिका सदस्य समेत हुन । उनी राजनीतिक पद र बिरुवा उत्पादक बीचको भुमिका बडो गम्भीरता पुर्वक निभाउदै आएका छन् । बिहान ६ बजे देखि ९ बजेसम्म नर्सरीमा बिरुवाको हेरचाह , गोडमेल , किटनाशक , मलखाद छर्कन र मिलाउनमै ब्यस्त रहन्छन् । बिहान भरी बिरुवा संगै खेल्दै गर्ने शुरेश १० बजे नगरपालिका पुग्छन । बेलुका ८ बजे देखि १० बजे सम्म इन्टरनेटमा नर्सरी र बिरुवा उत्पादन सम्बन्धी नविनतम जानकारी र सुचना संकलनमै जुट्छन । अध्ययनमा निकै ब्यस्त रहने उनले थाइल्यान्ड ,सिंगापुर र म्यानमार देशमा अध्ययन भ्रमण समेत गरि सकेका छन् ।
कृषि निर्वाहमुखी मात्रै होइन व्यावसायिक पनि हो । कृषि लाई उद्योगका रुपमा पनि स्थापित गर्न सकिन्छ भन्ने बुझाईसंगै उनी बिरुवा उत्पादनमा होमिएका हुन । लगनका साथ जति लाग्यो त्यतीनै कृषि र वनस्पतिजन्य उत्पादनमा खारिदै गइदो रहेछ भन्छन गजुरेल । जिल्लाको दक्षिणी क्षेत्रको उनको एकमात्र नर्सरी हो जहाँ बाह्रै महिना बिरुवा उत्पादनको काम गरिन्छ । उनले दुर्लभ प्रजातिका वनस्पति बिजयसाल समेतका बिरुवा उत्पादन गरेका छन् । यो संगै उनको नर्सरीमा रिठा, सतिसाल, दालचीनी ,निम, खयर, अश्वगन्धा, सर्प गन्धाका बिरुवा उत्पादन गर्दै आएका छन् ।
फलफूल तर्फ केरा, अनार, आरुबखडा, आरु, लिची, एभोकाडो, कागती ,अम्बा र कटहर उत्पादन गर्दै आएका छन् । रुख प्रजातिमा युके लिप्टिस, बकाइनो, शिरीष, मलेसियन साल, अफ्रिकी साल,पाउलेनिया र लहरे पिपल समेत उत्पादन गर्दै आएका छन् ।
२०७० सालमा झन्डै १०/१२ हजारको न्यून लगानीबाट थालिएको शुरेशको नर्सरी यतिबेला जिल्लामा मात्रै नभई देशका विभिन्न ठाउँ हरुमा चर्चित बनेको छ । बिरुवा बेचेरै हाल मासिक ५० हजार कमाउदै आएका छन् । धेरैले महत्व नदिएको बिरुवा उत्पादनको काम प्रति शुरेशले देखाएको लगन, मिहिनेत र श्रमले अहिले धेरैको आकर्षण बन्न पुगेको छ । उत्पादन गर्दै जाँदा हौसिएका शुरेशले आगामी सिजनका लागि २ लाख बिरुवा उत्पादन गर्ने लक्ष्य लिएका छन । लक्ष्य प्राप्तिका लागि उनले उद्योगलाई उन्नत र आधुनिक बनाउदै लैजाने तयारी समेत थालेका छन । नर्सरीमा गुणस्तरीय बिरुवा उत्पादनका लागि फर्गर मेसिन राख्ने तयारी गर्दै छन् । बिरुवाको गुणस्तर सुधार्न महत्वपुर्ण मानिएको तापक्रम नियन्त्रण गरि सिंचाइ , सूक्ष्म खाद्य तत्व र बिषादी छर्कन उनलाई फर्गर मेसिनले सघाउने छ । पुनर्वास क्षेत्रमै व्यावसायिक नर्सरी सञ्चालक रहेका शुरेश गजुरेल ब्यबस्थापन बिषयमा स्नातक तह सम्म अध्ययन गरेका छन् ।
स्नातक तह सम्मको शिक्षा आर्जन गरेका शुरेश २०६७ सम्म गैर सरकारी संस्था हरु मार्फत समाज सेवामा लागेका हुन । । शुरेश अब्बल ग्राफिक डिजाइनर र प्रशिक्षक पनि हुन । उनी संस्थागत बिकास,बाल मैत्री , र अनुगमन तथा मुल्यांकन बिषयका प्रशिक्षक समेत हुन । थुप्रै बिशेषज्ञता हाँसिल गरेका गजुरेल अहिले आफनै पहलमा अर्को परिचय थप्दै छन त्यो हो कुशल बिरुवा उत्पादक । शिक्षित युवाहरुको कृषि र वनस्पति उत्पादन प्रति देखिएको बितिष्णा बढिरहेको समयमा शुरेशको उत्पादन एउटा अनुशरण गर्न लायक आशलाग्दो काम बन्न सक्छ नेपाली समाजमा । प्रदेश नम्बर ७ का मुख्य शहरहरुमा भारतीय नागरिकहरुले सञ्चालन वा सीमा पारीका नर्सरीमा उत्पादन गरेका कमसल ,गुणस्तरहीन बिरुवा बिस्थापन गर्न शुरेश जस्ता युवाको पहल सार्थक बन्न सक्छ ।
पुनर्वास नगरपालिका -५ स्थित आफनै बारीमा बिरुवा उत्पादन गर्दै आएका शुरेशले कञ्चनपुर , कैलाली , पश्चिम नेपालका पहाडी जिल्ला लगायत नवलपरासी , रौतहट , गोरखा लाई आफनो उत्पादनको बजार बनाउदै आएका छन् । भविष्यमा २ लाख बिरुवा उत्पादनको लक्ष्य लिएका शुरेशले दैलेखमा नर्सरीको शाखा बिस्तार गरि टिमुर लगायतका अन्य जडिबुटी उत्पादन गर्ने तयारी गरेका छन् । धेरै युवाले कृषि र माटो प्रति मोह हराइरहेका समयमा युवा सुरेश भने माटो र बिरुवा संगै रमाईरहेका छन् । यसो गरिरहदा उनी मन्द मुस्कान दिन्छन मानौं कुनै खजाना उनको हातमा पर्दैछ । गाउँकै अन्य शिक्षित युवा रोजगारीका लागि शहर वा खाडी लगायतका मुलुक धाउदै छन तर उनी गाउँकै धुलो माटोमा आफनो बैँस , पसिना ,ध्यान र पौरख उत्पादनमुलक क्षेत्रमा लगाउदै छन् ।
नयाँ नयाँ क्षेत्रमा परिचय स्थापित गर्न खप्पिस शुरेशले नर्सरीमा बिरुवा उत्पादन गर्न समेत नयाँ प्रयोग भित्र्याउदै आएका छन् । एउटै बिरुवामा विभिन्न जातका फलफुल उत्पादन गर्न बिरुवा उत्पादन गर्दै आएका छन् । यो विधि नयाँ हो । मुख्यतया ३ वटा बिधिबाट उनी बिरुवा उत्पादन गर्दै आएका छन् । कलमी विधि ,गुठी विधि र बिजु विधि प्रयोग गरि उने उत्पादनमा जुटेका छन् ।
निक्कै राम्रो र आकर्षक अबसर देखिए पनि नर्सरीमा वनस्पतिजन्य उत्पादन बढाउन चुनौती हरु पनि कम्ती छैनन । स्वदेशी माटोमै नर्सरी ब्यबसाय सञ्चालनमा अनगिन्ती चुनौतीहरुको चाङ भएको अनुभव शुरेशसँग छ । उनी भन्छन् " बिरुवा उत्पादक किसान बिचौलियाहरुबाट ठगिन्छन । नियन्त्रणमा सरकारी पहल नै छैन । सीमा पारीका भारतीय नर्सरीमा उत्पादन भएका कमसल बिरुवाको निर्वाध आयात हुन्छ जसले गर्दा स्वदेशी बिरुवा उत्पादक मारमा परि रहेको छ । " चुनौती यति मात्रै होइन बिरुवाको बीउ ल्याउदा भारतले रोक लगाउछ तर आफ्ना किसानको आर्थिक दर वृद्धि गराउन बिरुवा नेपाल ल्याउन दिने गरेको शुरेशको भोगाइ रहेको छ ।
यो संगै उत्पादनको गुणस्तर बढाउन आवश्यक प्राबिधिक साहायता नपाउदा बिरुवा उत्पादक किसानलाई थप मर्का हुने गरेको छ । नेपाली बजारमा नर्सरीलाई आवश्यक गुणस्तरीय किटनाशक र पोषक तत्व पाउनै गाह्रो हुन्छ । बिरुवाको राम्रो उत्पादनका लागि रसायनिक डिएपी झोल यहाँ पाइदैन तर भारतमा सहज उपलब्ध हुन्छ । नर्सरी उद्योगहरुका निम्ति अत्यावश्यक यस्ता खाले रासायनिकको सहज उपलब्धता गराउन सरकारी प्रयत्न शून्य बन्दै गएको दुखेसो युवा उद्धमी गजुरेलकाे रहेकाे छ ।
सिमान्तकृत समुदायको अधिकारका क्षेत्रमा गैरसरकारी हिसाबले देशभर अधिकार मुलुक कार्यक्रममा कुनै बेला सकृय शुरेश गजुरेल कञ्चनपुरको दक्षिणी क्षेत्रबाट प्रकाशनमा आएको पुनर्वास टाइम्स पत्रीकाका प्रकाशक समेत रहि सकेका छन् । कम उमेरमै थुप्रै क्षेत्रमा कृयाशिल बनी अनुभव संगाली सकेका छन । उत्पादनमुलक क्षेत्रमा लगन र मिहिनेतका साथ लाग्न सके उपेक्षा गरिएको खेतबारी आर्थिक समृद्धिको आश लाग्दो माध्यम बन्न सक्ने गजुरेलले देखाइ दिएका छन् । उनको यो उदाहरण प्रचारप्रसार र प्रबर्द्धन अनि अनुसरण हुन सके आत्मनिर्भरता र समृद्धि सहजै हुन सक्ने छ ।