विराटनगर। नेविसंघ इस्टर्न कलेज अफ इन्जिनियरिङ इकाई कमिटीको आयोजनामा बुधबारदेखि विराटनगरमा मोरङ जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
उद्घाटन खेलमा इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरलाई १ का विरुद्ध ६ गोलले पराजित गर्दै पथरी बहुमुखी क्याम्पस विजयी भएको छ । उक्त खेलमा पथरी बहुमुखी क्याम्पसका विशाल पाण्डेले ३ गोल गरी म्यान अफ द म्याच घोषित भए ।
भदौ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा इस्टर्न कलेज अफ इन्जिनियरिङ, पुसेट कलेज, म्यानेजमेन्ट क्याम्पस, महेन्द्रमोरङ क्याम्पस, पथरी बहुमुखी क्याम्पस, सास्थम कलेज, लेटाङ बहुमुखी क्याम्पस लगायतका कलेजको सहभागिता रहेको आयोजक किमिटीका संयोजक मिलन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शिक्षासँगै खेलकुद आवश्यक भएको बताए । शारीरिक र मानसिक रुपमा स्वस्थ रहन खेलकुदको महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।
कार्यक्रममा नेविसंघका केन्द्रीय सहमहामन्त्री कृष्ण कार्कीले खेलकुदका माध्यमबाट मुलुकलाई विश्वमा चिनाउन सकिने धारणा राखे । उनले विद्यार्थीलाई पढाइसँगै खेलकुदमा लाग्न आग्रहसमेत गरे ।