arrow

प्रदेश ७ मा ओल्के पर्व मनाइँदै

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ साउन ३१ बिहिबार
olke.jpg

बझाङ । बझाङ लगायत सात नम्बर प्रदेशका पहाडी जिल्लामा ओल्के अर्थात गाभे संक्रान्ति पर्व धुमधामका साथ मनाईदै छ । पिँडालुको कलिलो पात, दूध, दही लगायत वस्तु सम्मान स्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने गाभे सङ्क्रान्ति चाड सात नम्बर प्रदेशका पहाडी जिल्लामा उल्लास पूर्वक मनाइँदैछ ।

हरेक वर्ष भाद्र संक्रान्तिका दिन मनाइने यो चाड मनाउन घरघरमा आजैदेखि तयारी थालिएको छ । गाभा (पिडालुको कलीलो पात) सङ्क्रान्ति चाडमा बढी प्रयोग हुने दूध दहीको जोहो गर्ने र मीठा मीठा खानाका परिकार बनाउनु पर्ने भएपछि घरका विवाहित महिलाहरुको व्यस्तता पनि बढाइ दिएको छ ।

आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको गाभा तथा कलिलो पात, दूध, दही, अन्य हरियो  सागपात दिएर स्वागत गर्ने विशिष्ट खालको मौलिक परम्परा सात नम्बर प्रदेशका पहाडी जिल्लामा  रहेको छ ।

यो चाड मनाइने भाद्र संक्रान्तिका दिन विवाहित महिलालाई माइती घरमा आमन्त्रण गरी लावन, बावर, माणा, बटुक, चुकानी,लगायत स्थानीय खानाका मीठा मीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ । यसै पर्वको अवसर पारी यहाँका स्थानीयहरुले सङ्क्रान्तिचाडमा भँगेरी प्रजातिको फूलको बोटका पातहरु टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो मेहन्दीका रुपमा हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाई रमाउने प्रचलन समेत रहेको छ ।

यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई यसले बर्षाको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको बाट बच्न सकिने जनविश्वास समेत रहेको छ ।

गाभे सङ्क्रान्तिको दिन दलीत समुदायले गैर दलीतहरुको घरमा पुगी पिडालुका गाभाले सेव गर्ने र गैर दलीतहरुले दलीतहरुलाई पिठो तथा चामल र अन्य अन्न तथा घरमा पकाईएका मीठा मीठा परीकारहरु दिने प्रचलन समेत रहेको छ । यस पर्वमा पिडालुका गाभाको झोल बनाएर लगाएको अन्न बालीका झर्कने प्रचलन समेत रहेको छ । यस्तो गर्दा अन्न बालीका राम्रो हुने र कुनै पनी रोग न लाग्ने जनविश्वास समेत रहेको पाईन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ