arrow

गीतकार ईन्सपेक्टर पाण्डेय : देशको सेवामा तल्लिन पाण्डेय गीतकारको रुपमा जम्दै

logo
सीता डोटेल,
प्रकाशित २०७५ साउन ३१ बिहिबार
pandey.jpg

पाल्पा ।  मानिसले आफूमा नीहित प्रतिभालाई यदि उचित अबसर र मौका पायो भने सँगसँगै लैजान सक्दो रहेछ भन्ने कुरा नेपाल प्रहरीमा सेवारत रहि गीतसंगितमा होमिएका गीतकार ईन्सपेक्टर भोजराज पाण्डेले चरितार्थ गरेका छन् । नेपाल प्रहरी जस्तो अत्यन्त व्यस्त रहनु पर्ने संगठनको अधिकृत स्तरको सरकारी जागिरेले ब्यस्तताका बीच समय निकालेर गीत रचना मार्फत प्रहरी अधिकृतको अलावा आफूलाई एउटा सफल गीतकारको रुपमा समेत उभ्याउन सफल भएका गुल्मेली गीतकार ईन्सपेक्टर पाण्डेय अहिले पनि कुनै न कुनै बखत गीत कोर्ने गर्दछन् ।

उनको पहिलो गीत ‘‘बिते कति रात’’ धेरै नेपाली स्रोता तथा दर्शकमाझ लोकप्रिय बनेको छ । म्युजिक भिडियो समेत बजार ल्याएका गीतकार पाण्डेको यस गीतमा अहिलेकी लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको छ । चर्चित कलाकार शाखा खड्का र अमन श्रेष्ठको मुख्य भुमिका तथा नविन श्रेष्ठको संगित रहेको यस गीत दर्शकहरुको रोजाइमा पर्न सफल भएको छ । बिशेष गरि लाखौंलाख नेपाली युवाहरु रोजगारको शीलशीलामा बिदेशिनु पर्ने र आफ्नो प्रेमी वा प्रेमिका वा आफन्तजन उसको अभावमा कसरी दिन रात बिताइरहेका छन् भन्ने कुरा यस गीतले व्यक्त गरेको छ । रोजगारको अभावमा आफुबाट टाढा हुन बाध्य प्रेमी र प्रेमिका बिचको प्रेम अभावमा काटिएका पिडादायी रातहरुलाई यस गीतले उजागर गरेको गीतकार पाण्डेयले बताए ।

सानैदेखि गीत, कविता लेख्न भन्न मनपराउने गीतकार पाण्डेले जागिरे जीवन घरपरिवार र जागिरको दौरान आफन्तीको माँयामा उब्जिएका भावनालाई गीत मार्फत व्यक्त गरेका छन् । प्रेयसी म्युजिक प्रा.लि. ले उक्त गीतलाई म्यूजिक भीडियो सहित युट्युव मार्फत बजारमा ल्याएको हो ।

चर्चित संगीतकार दिपक शर्माले संगीतबद्ध गरेको र उदियामान गायक बिक्रम राईको स्वरमा स्वरबद्ध रहेको उनले रचना गरेको दोश्रो गीत “घुम्टो ओढी नबस है” मा नेपाली स्थान बिशेष र गाउंबेशीहरुमा प्रख्यात रहेका शब्दहरुलाई टपक्क टिपेर गीत मार्फत नेपाली श्रोताहरुमा पस्कने काम उनले गरेका छन् । नेपाली गीतहरुमा देखिने गरेको मौलिक शब्दको खडेरीलाई सम्बोधन गर्दै उक्त गीतमा पाण्डेयले पश्चिम नेपालमा चल्तीमा रहेका शब्द र प्रसिद्ध स्थानहरुको चयन गरेका छन् । बिशुद्ध नेपाली मौलिक शब्दहरुलाई उन्ने काम गरिएको यस गीतमा काली तिर, राङ्के भीर र टारीखेत जस्ता गाउँले शब्दहरुको समिश्रण रहेको छ भने टिपिकल डान्सिङ भाव समेत गीतमा पाउन सकिन्छ । हाल अडियोका रुपमा बजारमा आएका यो गीत धेरै श्रोताहरुले मन पनि पराएका छन् । प्रबिधिको विकासको दुनियामा छिट्टै नै भिडियोको रुपमा पनि यस गीतलाई नेपाली संगीत बजारमा ल्याउने तयारीमा रहेको निरीक्षक पाण्डेय बताउछन् ।

जागीरकै दौडान बिभिन्न ठाँउमा रहेर देशको सेवा गरेका पाण्डेय २ महिना अगाडि पाल्पाको ईलाका प्रहरी कार्यालय रामपुरमा प्रमुखको रुपमा आएका हुन् । प्रहरी निरीक्षक पाण्डेयले पछिल्लो पटक आफु कार्यरत पाल्पाको सेरोफेरोलाई समेटेर “रामपुर माथि राम्चे वनमा कोइली चरी डुल्छ” नामक गीत रचना गरेका छन् ।

 जागीरको सिलसिलामा रुपन्देही, तनहुँ जिल्ला लगायत लामो समय काठमाडौंमा सेवामा तल्लिन रहेका पाण्डेय भन्छन्–चाहेको खण्डमा असम्भव केही छैन ।  राष्ट्र र जनताको सेवाको निम्ति अहोरात्र खटिई त्यस बीचमा अलिकति समय निकालेर गीत रचनाको माध्यमबाट आफूलाई गीतसंगितबाट समाज सेवामा समेत प्रबेश गराएका छन् । प्रायः साँझको समयमा गीत लेख्न र गुनगुनाउन मन पराउने पाण्डेय कति पटक त गीत कोर्दाकोर्दै फोन आएपछि फिल्डमा जानुपर्ने अबस्था आएको भेटमा बताए । कार्यक्षेत्रको दौरान कानून कार्यान्वयन र शान्ति सुव्यबस्था कायम गर्ने सवालमा कसैसंग सम्झौता नगर्ने खरो स्वभावका उनले रचना गरेका गीतहरुमा भने अत्यन्त मार्मिक र मन मुटु छुने गरि आफ्ना भावनाहरु अभिव्यक्त गरेका छन् ।

प्रबिशा अधिकारीको स्वरमा र नबिन श्रेष्ठले संगीतबद्ध गरेको उनको तेश्रो गीत “आंखा भरी आंशु लिई” अडियो बजारमा आएको छ । अत्यन्त मार्मिक र आफ्नो आफन्तजनको बिछोडमा एउटी नारीले के–कस्ता पीडाका भाव व्यक्त गर्दछिन भन्ने कुरा उक्त गीतको रचनामा पाइने बताउछन् गीतकार पाण्डेय । बिदेशमा रोजगारीको शीलशीलामा रहेको आफ्नो सहारा माथि बिपत्ती पर्दा स्वदेसमा रहेका आफन्तजनहरुलाई पर्ने पीडाभावले ओतप्रोत उक्त गीतलाई प्रेयसी म्युजिक प्रा. लि. ले भिडियोको रुपमा छायांकन गरि बजारमा ल्याउने काम गरिरहेको उनले बताए । आगामी भदौ पहिलो हप्तामा युट्युव मार्फत नेपाली दर्शकहरुले आखाँ भरी आशु लिई गीत सुन्न हेर्न सक्ने निरीक्षक पाण्डेयले बताए ।

उनले रचना गरेका “आंधी र हुरी ठण्डि र गर्मी भन्दैन क्यै गरि” यो प्रहरी गीत हो । संगीतकार दिपक शर्माले संगीत भर्नेछन् भने केही समयपछि रेकर्डिङ हुने गीतकार पाण्डेले जानकारी दिए । “धोका दियौ तिमिले माया गर्छु भनि” साथै “प्यासको भोको म देखेनौ र मलाई” र पछिल्लो लेखन रहेको “रामपुर माथि राम्चे वनमा कोइली चरी डुल्छ” नामक गीतहरु ट्युनिङ पश्चात मिक्सिङको क्रममा रहेका छन र ती गीतहरुमा पुराना संगीतकार नविन श्रेष्ठकै संगीत रहने निरीक्षक पाण्डेयले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ