arrow

चीनमा सेवा सुरु गर्नेबारे गुगलभित्रै विवाद 

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
google_china.jpg

काठमाडौं । गुगल कम्पनीले चीनमा सरकार नियन्त्रित खोजी सेवा प्रदान गर्ने तयारी गरेकोमा कम्पनीका कर्मचारीहरुले नै विरोध गरेका छन् । चीनमा आफ्नो कार्यालय खोल्दै आफ्नो सेवा विस्तार गर्ने चरणमा रहेकोमा गुगललाई आफ्ना कर्मचारीहरुले नै विरोध गरेका हुन् । 

कर्मचारीहरुले गुगलको वास्तविक उद्देश्य र भावनामा नै ठेस पुग्ने किसिमको योजना आएको बताएका हुन् । साथै उनीहरुले कम्पनीलाई थप पारदर्शी बन्नका लागि पनि आग्रह गरेका छन् । अहिले आफूहरुलाई कम्पनीको भावनाअनुसार काम गर्नको लागि कुनै पनि सूचना प्राप्त नभएको कर्मचारीहरुको गुनासो छ । 

गुगलले अहिलेसम्म सार्वजनिक रुपमा भने चीनमा सेवा विस्तारको योजनाबारे केही बताएको छैन । अहिले सार्वजनिक भएको यस विषयमा भने उसले कुनै प्रतिक्रिया दिएको छैन । अल्फाबेटको स्वामित्वमा रहेको यो कम्पनीमाथि चीनले आठ वर्षअघि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । चीनमा सेन्सरसिपको विषयमा केही प्रश्नहरु उठेसँगै गुगलमाथिको चीनको सेवामा प्रतिबन्धको लगाइएको थियो । 

यद्यपि गएको महिना सार्वजनिक भएको विवरणले भने गुगल अहिले गोप्यरुपमा चीनमा सेवा विस्तारको विषयमा काम गरिरहेको देखाएको थियो । गुगलको सेवा पुनः चीनमा विस्तारको लागि सरकारको अनुमति आवश्यक हुन्छ । जसमा गुगलले केही वेबसाइटहरु ब्लक गर्नुपर्ने हुन्छ र मानव अधिकार र धर्मसम्बन्धी विवरणहरु पनि लुकाउनुपर्ने हुन्छ । 

चीनमा यस्तो व्यवस्था हुने भएसँगै गुगलका कर्मचारीहरुले कम्पनीविरुद्ध आक्रोश व्यक्त गरेका हुन् । कम्पनीलाई एक पत्र लेख्दै कर्मचारीहरुले आफूहरु कम्पनी थप पारदर्शी होस् भन्ने पक्षमा रहेको र अहिले देखिएको समस्याहरुको विषयमा पनि आफूहरुसँग वार्ता हुनुपर्ने  बताएका हुन् । 

गुगलका कर्मचारीहरुले कम्पनीको विरुद्धमा आवाज उठाएको यो पहिलोचोटि भने होइन । यसअघि अमेरिकाको सैन्य कार्यक्रममा ड्रोनका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विस्तार गर्ने कम्पनीको योजनामा पनि कर्मचारीहरुले विरोध जनाएका थिए । त्यसपछि गुगलले पेन्टागनसँगको सम्झौता रद्द गरेको थियो । चीन अनलाइनको क्षेत्रमा विश्वको सबैभन्दा ठुलो बजार हो । यद्यपि अमेरिकी कम्पनीहरु यो क्षेत्रमा आफ्नो प्रभाव जमाउनका लागि संघर्ष गरिरहेका छन् । 

चीनमा फेसबुक, गुगल, ट्वीटर र इन्स्टाग्राम प्रतिबन्धित छन् । यद्यपि चीनमा गुगलको तीनओटा कार्यालयहरु छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ