arrow

प्रदेश २ को प्रदेशसभामा प्रधानमन्त्री अनधिक‌ृत रुपमा प्रवेश, पर्ने भो ५ हजार जरिवाना

राजा-महाराजाको झल्को दिने गरी सम्बोधन : लाल

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
oli-pradesh21.jpg

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित अनधिकृत रुपमा प्रदेश नम्बर २ को सभामा शनिबार सम्बोधन गरेको आरोप लगाएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै लालले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेश सभामा अनधिकृत रुपमा प्रवेश गरेर सम्बोधन गर्नुभयो । जुन कुरा संविधान, कानून र नियामावलीमा व्यवस्था गरिएको छैन । प्रधानमन्त्रीले बोल्न पाउनुपर्छ । प्रदेश सभामा बोल्नै पाउनुहुन्न भन्ने मेरो कुरा होईन । उहाँले हिजो प्रदेश नम्बर २ मा राजा-महाराजाको अनुभुति दिनेगरि सम्बोधन गर्नुभयो । यो संविधानविपरित छ ।’

उनले भने,‘प्रधानमन्त्री ओलीले प्रदेश सभामा अनधिकृत रुपमा प्रवेशको साथै सभामा अंगरक्षकलाईपनि बर्दी लगाएर उभ्याउनुभयो । मर्यादापालक हुँदाहुँदै अंगरक्षकलाई बर्दीमा उभ्याउनु गलत हो । यो कदम प्रदेश सभाको स्वायत्तता, अक्षुणता र संसदीय अभ्यास विपरित छ । ओलीजीले गम्भिर गल्ती गर्नुभयो ।’ प्रधानमन्त्री ओलीको पछिल्लो कदम र हिजो २ नम्बर प्रदेशमा गरेको सम्बोधनले संघीय संरचनालाई कमजोर बनाउने उनको आरोप छ ।

नेता लालले प्रदेश सभा सदस्यबाहेक अरु व्यक्ति प्रदेश सभामा अनधिकृत रुपमा छिरे ५ हजारसम्म जरिवाना गर्ने व्यवस्था संविधानमै भएकोले ओलीलाई संविधानको धारा १८४ बमोजिम उक्त जरिवाना गर्नुपर्ने माग गरे । यद्धपी उनले प्रधानमन्त्रीले सम्बोधन गर्न पाउनुहुँदैन भन्ने आफूहरुको कुनै मान्यता नरहेको पनि स्पष्ट पारे ।

उनले थपे,‘देशको प्रधानमन्त्रीले सम्बोधन गर्न पाउनुपर्छ । तर, यसको लागि संविधानमै व्यवस्था गर्नुपर्छ । नियमावालीमा आवश्यक व्यवस्था गर्नुपर्छ । अनधिकृत रुपमा प्रदेश सभामा यसका सदस्यबाहेक अरुले छिर्न र बोल्न पाउँदैन् ।’

प्रधानमन्त्री ओली संविधान र संघीयता कार्यान्वयनमा भन्दापनि यसलाई कमजोर र मास्न उद्धत रहेको भन्ने कुरा हिजोको कदमबाट प्रष्ट हुने लालको आरोप छ । उनले भने,‘प्रधानमन्त्री ओलीले हिजो प्रदेश सभामा सम्बोधन गर्दा मसला भाषण गरे । संविधानमा कुनै विभेद नै छैन भनेर बोल्नुभयो । यो भनेको उहाँले मधेशी, आदिवासी, जनजाति, सिमान्तकृत लगायत पिछडीएका समूदायको मुद्दालाई नकार्नुभएको पुष्टि हुन्छ । उहाँले अधिकार नपाएका समुदाय र राज्यबीचको दुरी कम गर्न सक्नुभएन् । तर, हामीले त उहाँलाई संविधान संशोधन गर्नुहोस् भनेर नै सरकार गठन गर्दा विश्वासको मत दिएका थियौं ।’

उनले ओली नेतृत्वको सरकारको ६ महिने कार्यकाल असफलतातर्फउन्मुख रहेको आरोप लगाए । उनले भने,‘सरकारले गरेका प्राय: सबै निर्णयहरु विवादित छन् । मुलुकको संरचना नै परिवर्तन भएको अवस्थामा सरकारले भने आफ्नो भूमिका सोही अनुसार निर्वाह गर्न सकेको छैन ।’  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री डा. नारायण खड्काले सत्तारुढ दल नेकपा नेतृत्वको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाउँदा यो ६ महिनाको अवधिमा जनतामा उत्साह भर्ने काम गर्न नसकेको आरोप लगाएका छन् ।
सरकारले माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नु, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, न्यायालयमाथि हस्तक्षेप गर्ने र प्रधानमन्त्रीले आँफैले सिफारिश गरेको प्रधानन्यायाधीशलाई अस्विकृत गर्नेलगायत नागरिकको अधिकार खोस्ने खालको निर्णय गरेकोप्रति गम्भिर आपत्ति जनाउँदै नेता खड्काले सरकारले यस्ता लोकतन्त्रविरुद्धका गतिविधि नसच्याए आफ्नो पार्टी सडक र सदन दुवै ठाउँबाट संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

उनले भने,‘सत्तारुढ दल नेकपा दुई तिहाईको दम्भ देखाएर संसदीय अभ्यासलाई कुल्चेर अघि बढ्न खोजेको छ । सरकारले यस्तै गतिविधि कायमै राखे हामी सडक र सदन दुवै ठाउँबाट घनिभूत संघर्ष गर्छौं।’

सरकारले ७८ पृष्ठ लामो ५ महिने उपलब्धिहरु सार्वजनिक गरेको बताउँदै उनले भने,‘७८ पृष्ठमा उल्लेख गरिएका अधिकांश उपलब्धिहरु ५ महिनामा गर्न सकिने कामहरु छैनन् । तुईन विस्थापित् गरेर झोलुङे पुलहरु बनाउने, सडक पुलहरु बनाएको र २८ मेगावाट विद्युत उत्पादनको परियोजना बनाएको कुरा उल्लेख गरिएको छ । जुन ५ महिनामा हुनै नसक्ने कुरा छन् । ती कामहरु त पहिल्यैदेखि हुँदै आएका हुन् ।’ सरकारले यातायात क्षेत्रको एकाधिकार हटाउन सफल भएको भनेर दाबी गरेपनि अहिलेसम्मपनि सिण्डिकेटको समस्या यथावत नै रहेको उनको आरोप छ ।

खड्काले भने,‘रुट परमिटको समस्या अहिलेपनि यथावत छ । सुन तस्करी प्रकरणमा साना माछा समात्ने काममात्रै भयो । ठूला माछाहरु समात्ने काम भएन् ।’ त्यस्तै उनले राजश्व लक्ष्य गरिएकोभन्दा २ अर्ब बढि नै उठेको सुनाउँदै भने,‘राजश्व त पहिलेदेखि नै उठिरहेको छ । लक्ष्यभन्दा बढि नै उठिरहेको छ । यो साउनको लक्ष्यपनि लगभग पूरा हुन्छ ।’

नेता खड्काले वर्तमान सरकारले करको दर बढाएर जनतामा ठूलो आर्थिक बोझ थोपरेका पनि आरोप लगाए । उनले भने,‘जनतामा करको बोझ लगाउनुहुँदैन् । यसले आर्थिक उच्छृखंलता पैदा गर्छ । यो पनि सरकारको असफलता हो ।’

यद्धपी उनले वर्तमान सरकारले ६ महिनामात्रै समय व्यतित गरेकोले यसका कामहरु अझै दुई÷अढाई वर्ष हेर्नुपर्ने धारणा राखे । सरकार गठन भएदेखि आजको दिनसम्म सेयर बजार दिनप्रतिदिन ओरालो लागेको बताउँदै उनले सरकारमाथि निजी क्षेत्रको विश्वास नभएको स्पष्ट पारे ।

उनले भने,‘सरकारले समृद्धि हाँसिल गर्नको लागि परिणाममुखी काम गर्नुपर्छ । प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिएर सम्वाद गर्न तयार हुनुपर्छ ।’ समृद्धिको नारा दिएपनि यसबारे सरकारको अहिलेसम्म मिशन स्पष्ट नभएको उनको आरोप छ । उनले थपे,‘सरकारले खाली समृद्धि, समृद्धिमात्रै भनेको छ । पानीजहाज र रेलको कुरा गरेको छ । तर, समृद्धिको जग बसाल्नेगरि कुनै काम गरेको पाईएन ।’ अहिले सरकार कुनैपनि दृष्टिकोणले सफल नभएको बताउँदै खड्काले सरकार रुमलिएको आरोप लगाए ।

फरक प्रंसगमा नेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रदेश नम्बर २ को सभामा गरेको सम्बोधनलाई लिएर टिप्पणी गर्दै भने,‘उहाँले बोल्न पाउनुहुन्छ । तर यसको लागि विधि बनाउँदा राम्रो हुन्छ । जुन कुरा राजपाका साथी लालजीले उठाउनुभएको छ । हाम्रो संसदमा भारतीय प्रधानमन्त्री मोदी आउँदापनि सम्बोधन गर्नुभएको थियो । परराष्ट्र र सुरक्षा संघले हेर्ने भएकोले प्रधानमन्त्रीको सम्बोधनलाई अन्यथा भन्न मिल्दैन् ।’

प्रधानमन्त्री ओलीले हिजो प्रदेश सभामा सम्बोधन गर्ने क्रममा संविधान संशोधन हुन्छ भनेर बोलेकोप्रति टिप्पणी गर्दै उनले भने,‘पोहोर साल हामीले संविधान संशोधनको लागि संसदमा प्रस्ताव गर्दा उहाँकै पार्टीले फेल गरायो । आखिरअ अहिले आएर उहाँले संशोधन गर्ने कुरा गर्नुभयो । त्यतिवेलै गरेको भए हुन्थ्यो नि । आज आएर उहाँले संविधान धर्मशास्त्र होईन, संशोधन गर्न सकिन्छ भन्नुभयो । मैले पनि यो कुरा पहिल्यैदेखि भन्दै आएको छु ।’

संविधान संशोधनबारे संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अहिले कुनै चिन्ता नभएको पनि उनले आरोप लगाए । उनले भने,‘संविधान संशोधनको मुद्दालाई थाँती राख्नुहुँदैन् । भोलि यी मुद्दा कुनै न कुनै रुपमा उठ्न सक्छन् । यसमा सबै पक्ष गम्भिर हुन जरुरी छ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल हरेक दृष्टिकोणले पूर्ण सफल रहेको दाबी गरेका छन् । उनले भने,‘ओली सरकारले सम्पूर्ण शक्ति मुलुक र जनताको विकास र समृद्धिको लागि लगाएको छ। यो ६ महिनाको कार्यकाल पूर्ण सफल भएको छ।’

नेता पाण्डेले वर्तमान सरकारले यो ६ महिनामा यातायात क्षेत्रको सिण्डिकेट पूर्ण रुपमा हटाउने काम गरेको र अन्य क्षेत्रमा व्याप्त रहेका एकाधिकारलाई पनि हटाएर व्यवस्थित् गरेको, तस्करीलाई नियन्त्रण गरेको, सार्वजनिक खर्चमा मितव्ययीता अपनाएको र राजदुत नियुक्तीको मापदण्ड बनाउने लगायत समृद्धि र विकासका योजना बनाएको भन्दै राम्रा कामहरुको फेहरिस्त सुनाए ।

प्रधानमन्त्री ओलीको सोच र उनी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनतालाई दुरगामी फल प्राप्त हुनेपनि उनको विश्वास छ । उनले भने,‘सरकारले कृषि उत्पादनलाई दोब्बर बनाउने भनेको छ । भारतसँगको सम्बन्ध सुमधुर बनाएको छ । रेलमार्ग बनाउने कुरा यही सरकारले पहिलोपटक गरेको हो । चीनसँगपनि हामीले कनेक्टिभीटी जोड्ने भनेर समझदारी गरेका छौं । भारत र चीन दुवै देशबाट रेल आउँछ । भारत र चीन दुवै देशसँग सरकारले बलियो र सुमधुर सम्बन्ध बनाएको छ ।’

यो ६ महिनाको अवधिमा पनि सरकारलाई तीन महिना त तयारी गर्नमै लागेको उनको भनाई छ । पाण्डेले भने,‘सय दिन सरकारको हनिमुन पिरिअड हो । अर्को तीन महिना हामीले काम गर्न खोजेका छौं । तत्काल केही प्राप्त नभएको होलान् । तर, हामीले भोलिका दिनमा फल प्राप्त हुनेगरि काम गरिरहेका छौं ।’

प्रधानमन्त्री ओलीले मुलुकको अहित हुने काम कहिल्यैपनि नगरेको र आगामी दिनमा पनि नगर्ने उनको दाबी थियो । उनले भने,‘मुलुकको अहित गर्छ भनेर हाम्रो प्रधानमन्त्रीज्यूलाई कसैले नसोचेपनि हुन्छ । उहाँले कहिल्यैपनि मुलुक र जनताको अहित हुने कुरा सोच्नुहुन्न ।’
फरक प्रसँगमा उनले राजपा नेपालका बरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले प्रधानमन्त्री ओली हिजो अनिधृकत रुपमा प्रदेश नम्बर २ को सभामा प्रवेश गरेर सम्बोधन गरेको भनेर लगाएको आरोपको खण्डन गरेका छन् ।

पाण्डेले भने,‘प्रदेश नम्बर २ पनि नेपालमै पर्छ । यो कुनै छुट्टै प्रदेश होईन् । प्रधानमन्त्रीले प्रदेशलाई निर्देशन दिन पाउनुहुन्छ । उहाँले २ नम्बर प्रदेशमामात्रै नभएर अरु प्रदेशमा पनि बोल्नुभएको छ । र, बोल्न पाउनुहुन्छ । प्रधानमन्त्रीले हिजो गरेको सम्बोधनबारे लालजीले गलत अभिव्यक्ति दिनुभयो । यस्तो अभिव्यक्ति दिएर मुलुकको अखण्डता र संघीय व्यवस्थालाई कमजोर बनाउनेगरि गलत प्रचार नगरौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ