arrow

सूचना प्रविधिको प्रयोगबाट प्रहरी सङ्गठनलाई पेपरलेस बनाइने : सर्वेन्द्र खनाल

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
police-governence.jpg

काठमाडौं ।  आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१८ प्राप्त गरेको छ । सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने सो अवार्ड नेपाल प्रहरीले आफ्नो आन्तरिक प्रशासनलाई सूचना प्रविधीसँग जोड्ने मात्र नभएर सर्वसाधारणलाई प्रदान गर्ने सेवा समेत सूचना प्रविधिको प्रयोगमार्फत् प्रभावकारी रुपमा गर्न सफल र उत्कृष्ट भएकोले नेपाल प्रहरीलाई सो अवार्ड प्रदान गरिएको हो ।

‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूलनारासहित लिभिङ विथ आइसिटीको आयोजनामा शुक्रबार काठमाडौंको होटल र्‍याडिसनमा आयोजित अवार्ड वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आइसिटी डिजिटल गभर्नेन्स अवार्ड प्रदान गरे।

अवार्ड ग्रहण गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी सङ्गठन सूचना प्रबिधिको प्रयोगलाई अझ प्रभावकारी बनाउन विशेष पहल गर्नुको साथै साइबर अपराधको अनुसन्धान गर्न हालै साइवर व्यूरोको स्थापना गरी काम अगाडि बढिरहेको बताए । विदेशमा रहेका नेपालीहरूले इमेल मार्फत् फर्म दर्ता गरेर पनि चारित्रीक प्रमाणपत्र लिन सक्ने व्यवस्था मिलाइएको उनले बताए ।

सो अवार्डले सूचना प्रविधिको प्रयोग गरेर विद्युतीय सुशासनमा अग्रसर रहँदै आगामी दिनमा नागरिक सेवामा समर्पित हुन थप हौसला समेत मिलेको प्रहरी महानिरीक्षक खनालले बताए । नेपाल प्रहरीमा सूचना प्रविधिको प्रयोगले मसलन्द खर्च कटौती भएको उल्लेख गर्दै उनले भने, 'सूचना प्रविधिको प्रयोगबाट लेसपेपर कार्यालय बनाउने सरकारको उद्देश्यलाई प्रहरी सङ्गठनले पनि आत्मसाथ गरेको छ ।'

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय, कम्प्युटर निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुनिलकुमार श्रेष्ठले नेपाल प्रहरीमा हाल विद्यमान हाम्रो पुलिस, ट्राफिक पुलिसजस्ता एपलाई चाँडै नै एकीकृत गरी नेपाल पुलिस नामको एकीकृत मोबाइल एप निर्माण गर्ने तयारी भइरहेको र त्यसमार्फत् नागरिकहरुसँग विभिन्न घटनाको जानकारी, ट्राफिकको अवस्था लगायतका सूचना आदान प्रदान गर्न सहज हुने साथै उक्त एप मार्फत् प्रहरी कर्मचारीहरुलाई समेत आन्तरिक सूचना प्रवाह गर्ने व्यवस्था मिलाइने बताए ।

हाल नेपाल प्रहरीले फेसबुक, ट्वीटर, इमेल, वेबसाइट, प्रहरी अनुरोध, रेडियो कार्यक्रम, ट्राफिक एफएम लगायतका सञ्चारमाध्यमबाट नागरिकलाई सूचना प्रवाह गर्ने र गुनासोको सम्बोधन गर्ने काम गरिरहेको उनले उल्लेख गरे।

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल सरकारका कार्यालयहरूमध्ये नेपाल प्रहरीले उदाहरणीय काम गरेर सबैभन्दा उत्कृष्ट हुन सफल भएको हो । साथै सो अवसरमा आइसिटी अवार्डअन्तर्गतका अन्य ७ विधामा पनि अवार्ड वितरण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ