काठमाडौं । भारतमा जारी दक्षिण एसियाली खेलकुद सागमा यसपटक तेक्वान्दोमा खासै उपलब्धि हुन सकेन । यसअघि साग सहभागितामा स्वर्ण जितेकी आयशा शाक्य यसपटक रजतमै खुम्चिइन् । शाक्य ६२ केजीभन्दा मुनिको समूहको फाइनलमा भारतकी मार्गरिटा रेगीसँग पराजित भइन ।
उनी सडन डेथमा ६–९ ले पराजित भएकी हुन् । यसपटक कमजोर देखिएकी उनले रजतमा चित्त बुझाउनु परेको हो ।तेक्वान्दोमै सक्षम कार्की र निमा गुरुङ पनि फाइनलमा पराजि भए । ती दुवै जनाले स्वर्ण ल्याउने आशा थियो । तेक्वान्दोमा नेपालको उपस्थिति अपेक्षा अनुरुप मजबुद हुन सकेन ।
खेल विवरण
नेपालमा आयोजना भएको आठौं सागदेखि स्वर्ण पदक प्राप्त गर्दै आईरहेको तेक्वान्दो १२औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण विहिन हुँदै घर फर्किने भएको छ । प्रतियोगिताको ११ औं दिन तेक्वान्दोबाट नेपालले ४ रजत पदक हासिल गर्न सक्यो । महिलाको ५३ केजी तौल समूहमा निमा गुरुङ्ग भारतीय खेलाडी लतिका भन्डारी संग १६–८ अंकले पराजित हुंदै रजतमा सिमित हुन पुगिन् ।
उनले आफ्नो तौल समूहको पहिलो खेलमा श्रीलङकाली खेलाडी एस गुणवर्दनेलाई पराजित गरेकी थिईन भने दोश्रो खेलमा अफगानी खेलाडीलाई ६–५ले पराजित गरेकी थिइन् ।
६२ केजी तौल समूहमा सागकी स्वर्ण विजेता आयशा शाक्य भारतीय खेलाडी मार्गेरिता रेगीसंग सर्घर्षपूर्ण पराजय भोग्न बाध्य भईन् । पहिलो र दोश्रो चरणम २–१ले अग्रता लिएकी शाक्यले तेश्रो चरणको खेलमा ३–६को अन्तरमा रहेको अवस्थामा महत्वपूर्ण ३ अंक बटुल्दै ६–६ अंकको बराबरीमा खेल टुङ्गाउँदै गोल्डेन प्रतिस्पर्धामा खेललाई लगिन् । गोल्डेन अंकको लागि भएको खेलमा उनले रेगीलाई ०–३ अंक दिंदै स्वर्णबाट बञ्चित हुन पुगिन् ।
सिलोङ्गको नेगरिम्स कभर्डहलमा भएको पुरुष तर्फको ८० केजी तौल समूहमा सक्षम कार्की भारती खेलाडी नवजित मानसंग पराजित हुंदै रजतमा खुम्चिए । उनी नवजित संग ७–१ अंकले पराजित भए । उनले अफगानिस्तानका खेलाडी जि.काफायातुल्लाहलाई २–० र भुटानी कुसुङ्ग वाङ्गदीलाई १०–३ले पराजित गरेका थिए ।
यसैबीच, पुरुषको ६३ केजीमा वीरबहादुर महरा अफगानी अहमद अली बक्सिसंग पराजित भए । श्रीलङकाका दिलान संजिवा र भुटानका छिमी वाङ्गचुकलाई पराजित गरेका उनी बक्सिसंग ९–१२ अंकले पछि पर्दै रजत पदकलाई आत्मसाथ गर्न बाध्य भए । यसका साथै तेक्वान्दो ७ रजतका साथै ३ काँस्य पदकमा सिमित हुन पुग्यो ।