arrow

टालटुले सरकार

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७५ भदौ ५ मंगलबार
taltul.jpg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले गजबको उपमा पाएको छ ‘टालटुले सरकार’ । हुन पनि यो सरकार टालटुल गरेर काम सकाउने ध्यानमा बढी देखिएको छ । 

काठमाडौं उपत्यकाका मुख्य रुटहरुलाई कृत्रिम तरिकाले सजाइँदै छ । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनका लागि पाहुनालाई देखाउन सरकार कसरत गरिरहेको छ । 

भएका गल्ती ढाक्नका लागि सरकारले टालटुले नीति लिएको छ । सडकलाई दीर्घकालीन सुधारको सोच नगरी केवल भदौ १४ र १५ गते हुने बिमस्टेक सम्मेलनलाई ध्यानमा राखेर सरकारले ढाकछोप गर्दैछ । 

रंगरोगन गर्दैछ । अरु बेला आराम गरेर बस्ने कर्मचारीहरु अहिले धेरैथोरै अभ्यास गरिरहेका छन् । सबैभन्दा ठूलो दुःख जनताले पाइरहेका छन् । सम्भवतः भदौ १६ गते फेरि खाल्डो पर्दैछ । 

विशिष्ट पाहुनालाई गोकर्ण रिसोर्टमा रात्रिभोज दिइने भएकाले गत असारमा रोपाइ गरेको सडक चावहिल–बौद्ध–जोरपाटी–गोकर्णमा ‘टालटुल’ भइरहेको छ । 

यसअघिको योजनाअनुसार पाहुनालाई होटल सोल्टीबाट विमानस्थल ल्याएर सेनाको एमआई १७ हेलिकोप्टरमा गोकर्ण रिसोर्ट लैजाने तयारी थियो ।

यसो गर्दा सरकारको बचेखुचेको साख पनि झन् बिलाएर जाने देखेपछि सरकारले सडक टालटुल गर्न थालेको हो । होइन भने गोकर्णमा पाहुना जाँदा पनि बौद्ध–जोरपाटीका स्थानीय हेरेको हेर्यै हुने थिए । 

अहिले कामचलाउ बाटो बनाउन खोजिएको छ । तर सुरक्षाको दृष्टिले भने हेलिकोप्टर नै प्रयोग गर्न सुझाव दिइएको छ । अर्थात् उक्त तिथिसम्म जे पनि हुन सक्छ । सोल्टीमै पनि हुन सक्छ । 

हाम्रो सरकारको नीति कत्तिको खोक्रो भइसकेको रहेछ भन्ने यो प्रमाण हो । विदेश नीति ६ महिनामै सबैभन्दा मजबुद बनाएको भनी भाषण गर्ने प्रधानमन्त्री ओलीले विदेशी केही पाहुनालाई व्यवस्थित बनाएर राख्ने नीतिसमेत बनाउन सकेनन् । 

बालुवाटारमा बसेर विलासी जीवनका लागि राष्ट्रको लाखौंको खर्च उठाइदिने ओलीले काठमाडौंका बाटाघाटा टालटुल पार्न पनि विदेशी नै आउन पर्ने अवस्था आउनु जत्तिको ‘लज्जा’ को विषय अरु के हुन सक्छ । 

बिमस्टेकमा सहभागी हुन ७ सदस्य राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख परिवार सहित भदौ १३ गते बुधबार नेपाल आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा नै सडक चिटिक्क पारेर स्वागत गर्न जाने ओलीले यसपटक अन्य ६ राष्ट्रका राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई स्वागत गर्नुपर्नेछ । 

जसरी सडक टालटुल गरिएको छ सुरक्षा त्यस्तो नहोस् 
सुरक्षा चुनौती बढ्दो छ । सुरक्षाकर्मीले सुरक्षा बढाउँदै लैजाँदा हतियारसहित पक्राउ पर्ने पनि बढेका छन् । यसबाट पुष्टि हुन्छ कि पेस्तोल बजारमा छ्यापछ्याप्ती बढिरहेको छ । 

अहिलेका लागिमात्र हैन सधैका लागि यो सुरक्षा चुनौती बन्दै गएको छ । सुरक्षालाई नै ख्यालमा राखेर बिमस्टेक अवधिभर होटल सोल्टीको आकाश मार्गमा रोक लगाउने तयारी भएको छ । १३–१६ भदौसम्म सोल्टी होटलको आकाश भएर साना–ठुला विमानहरुले उडान गर्न नपाउने भएका हुन् । 

विशिष्ठ पाहुनाको ब्यक्तिगत, बैठक स्थल र आवासस्थलको सुरक्षा नेपाली सेनाले गर्नेछ । भित्री तहमा पनि नेपाली सेना नै रहनेछ । बाहिरी तहमा भने सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिनेछन् ।

पाहुनाको सुरक्षा महत्वपूर्ण छ । आयोजकको हिसाबले त्यो नेपालको कर्तव्यभित्र पर्न आउँछ । यत्ति हो कि हरेक काममा टालटुले प्रवृत्ति बन्द हुनुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ