arrow

निस्दीमा प्रभावकारी बन्दै अण्डा र झण्डा कार्यक्रम

स्वास्थ्य संस्था आउने गर्भवती बढे

logo
सीता डोटेल,
प्रकाशित २०७५ भदौ ५ मंगलबार
anda-jhanda-program1.jpg

रामपुर ।  गर्भवती महिलाको नियमित जाच र प्रसुति सेवा प्रभावकारी बनाउन निस्दी गाउँपालिकाले गतबर्षदेखि सञ्चालन गरेको अण्डा कार्यक्रम प्रभावकारी बनेको छ । जिल्लाको सबैभन्दा बिकट गाउँपालिकाको रुपमा रहेको निस्दी गाउँपालिकाले गतबर्षको गाउँ सभाबाट निर्णय गरि आमा र बच्चाको स्वास्थ्यका लागि अण्डा कार्यक्रम सञ्चालन गरेको हो ।

गर्भवती महिलाहरुलाई स्वास्थ्य परिक्षणका लागि कसरी स्वास्थ्य संस्थासम्म पुर्‍याउने भन्ने विषय चुनौतीका रुपमा थियो गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सोमैले भने – बेस नेपालको सुआहारा कार्यक्रम सहित स्वास्थ्य संस्थाको यो प्रस्तावलाई निर्णयमा लगेर काम गरेका हौ यसले धेरै आमा र बच्चामा राम्रो गरेको छ । जिल्लाको डाँडाभेग मगर समुदायको बाहुल्यता रहेको निस्दीमा गर्भवती महिला नियमित जाच गर्न र सुत्केरी हुन स्वास्थ्य संस्थामा नआउनु सबै वडाका स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंम सेवीकालाई चुनौतिको विषय थियो ।

आर्थिक वर्ष २०७४-०७५ देखि गाउँपालिकाले अण्डा र झण्डा कार्यक्रम लागु गरे संगै स्वास्थ्य संस्था सम्म पुग्ने निस्दीका गर्भवती महिलाहरुको संख्या ह्वात्तै बढेको हो । आर्थिक वर्ष २०७३-०७४ मा गाउँपालिका भित्रका २ सय ९९ जनाले पहिलो पटक र १ सय ४६ जनाले चौथो पटक गर्भ परिक्षण गराएकोमा अण्डा र झण्डा कार्यक्रम संञ्चालन भएपछि गर्भ परिक्षण गराउने महिलाको संख्या बढेर आर्थिक वर्ष २०७४-०७५ मा पहिलो पटक ३ सय ६१ जनाले र चौथो पटक २ सय ४१ पुगेको निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मीन बहादुर रानाले बताए । अण्डा वितरणले चेतना वृद्धि गरी गर्भवती महिलाहरुलाई स्वास्थ्य परिक्षण र पोषणमा ध्यान दिन सचेत गराएको उनले बताए । यस  कार्यक्रमले शुन्य होम डेलिभरी कार्यक्रमलाई सहयोग र हजार दिनको आमा र बच्चाको पोषणमा सुधार हुँदै गएको उनको भनाई छ ।

यहाँ सुनौला हजार दिनका आमा र शिशुहरुको पोषण सुधारको लागि सुआहारा कार्यक्रम सञ्चालित छ । स्थानिय तह र यस्ता संस्था मिलेर गाउँपालिकामा लक्षित महिला र बच्चाको स्वास्थ्य र सक्षम जीवनका लागि काम गरिरहेका छन् ।


निस्दी गाउँपालिकाका उपाध्यक्ष रिता अर्यालले गर्भवती र भर्खरै जन्मेको बच्चाको स्वास्थ्य र नियमित खानपानमा धेरै मद्धत पुर्‍याएको बताइन् । पहिलो सन्तान हुने महिलाले लाजले स्वास्थ्य संस्थामा नजाने र अन्य महिला पनि अग्रजले घरबारी मेलापातमा नै सन्तान जन्माएको भन्दै स्वास्थ्य संस्थामा जान वेवास्ता गर्नेहरु पनि अहिले धेरै जाने बुझेको र नियमित स्वास्थ्य जाचका लागि स्वास्थ्य संस्थामा नै आउनुपर्छ भन्ने चेतना बढेको अर्यालले बताइन् ।

गतबर्ष असोज ३० गतेको पहिलो गाउँसभाले अण्डा कार्यक्रमको घोषणा गरेको हो । यस कार्यक्रममा गतबर्ष गाउँपालिकाले ४ लाख रुपँया बिनियोजन गरेको थियो । स्वास्थ्य शाखा उपसंयोजक शालिकराम विश्वकर्माले स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य चौकी सम्म आउन साथै पोषण सुधारको लागि झण्डा र अण्डा कार्यक्रम लागु गरेको बताए । उनले नियमित स्वास्थ्य जाच गर्न आउने ३ सय ४४ जना गर्भवती महिलालाई ८ सय ५९ क्यारेट अण्डा वितरण गरिएको बताए ।

गाउँपालिकाका ७ वटै वडामा स्वास्थ्य संस्था छन् । जसमध्ये ३ वटा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालनमा छ । भने एउटा सञ्चालनको तयारीमा छ । बच्चा बसेको चौथो, छैठौं, आठौं र नवौं महिनामा आ–आफ्नो वडाका गरि ७ वटा स्वास्थ्य चौकी र १ सामुदायिक स्वास्थ्य ईकाई मार्फत गर्भ परिक्षण पछि अण्डा वितरण गरिदै आएको छ । चालु आर्थिक बर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्यालले बताए । वडा र टोलमा रहेका महिला स्वास्थ्य स्वयंम्सेविका खट्निुभएको छ –बस्यालले भने दैनिक घरघरमा पुग्ने स्वयंम्सेविकाको निस्वार्थ भावले गर्दा नै यो संभव छ ।

निस्दी ५ गल्धाफाँटकी महिला स्वास्थ्य स्वयंमसेविका देविसरा सोमैले गर्भवती महिलाहरुलाई भेट्न घरघरमा पुग्ने र चौथो महिना देखि ४ पटक सम्म परिक्षणका लागि स्वास्थ्य संस्था जान आग्रह गर्दै आएको बताइन् । घरघरमा पुगेपनि एकाध मात्र स्वास्थ्य संस्थामा पुग्नुहुन्थो–मित्यालकी स्वयंम्सेविका दरिसा खाम्चाले भनिन् ‘‘अहिले आफु र अरुलाई पनि जानुपर्छ भन्ने सन्देश लिएर गर्भवती नै हिड्नुहुन्छ ।’’ ‘स्वास्थ्य संस्थामा परिक्षण गराएर आईरन चक्की खाँदा बच्चा ठूलो भएर जन्माउन कठिन हुन्छ भनेर सासुहरुले जान दिनुहुन्नथ्यो । अहिले गाउँपालिकाले कार्यक्रम गरेपछि महिलाहरुले खानेकुरामा पनि जोड दिन थालेको खाम्चाले बताइन् ।

हामी कतै नगएर घरमा काम गर्दागर्दै बारीमा जन्मायौ भन्ने आफन्तका कारण पनि गर्भवतीलाई नियमित स्वास्थ्य संस्थामा पुर्‍याउन सकिदैन थियो– निस्दी १ डमराकी महिला स्वास्थ्य स्वयंम्सेविका सीता कार्कीले भन्नुभयो–बल्ल तल्ल पहिलो पटक जसोतसो पुग्नेहरु अहिले नियमित आफुपनि जाने र अरुलाई पनि जानुपर्छ भन्ने सन्देश दिएका छन् ।  

गाउँपालिकाले गर्भपरिक्षण गर्न आउने महिलालाई प्रोत्साहन स्वरुप एक पटकको एक क्यारेट अण्डा र गर्भवती महिलाको घरको पहिचानको लागि हरियो झण्डा वितरण गर्दै आएको छ । जसका कारण स्वास्थ्य स्वयंम सेविकाहरुलाई पनि सहज भएको छ । शिक्षित महिलाहरु स्वस्थ्य संस्था सम्म गएपनि अधिकांश महिलाहरुलाई पटक–पटक सम्झाउनु पर्ने अवस्था अहिले टरेको वडा नम्बर ६ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले बताए । यसबर्ष कार्यक्रम चलाउन झन् सहज हुनेछ उनले भने ।

महिलाले अण्डा र स्वास्थ्य जाचबारे ज्ञान पाएपछि अहिले आफैले कुखुरापालनलाई जोड दिएका छन् । सुआहारा कार्यक्रमले हजार दिनका आमाहरुका घरमा कुखुराको खोर बनाउन सहयोग गरेको छ भने चल्ला पनि बितरण गरेको छ । घरमा नभएको मौसममा किनेर खाने बानी महिलाहरुले बसालेको बाकामलाङ्गकी हरिमायाँ रामजालीले बताइन् । साथै महिलाहरुले आफुलाई पुग्ने गरी तरकारी आफैले उब्जाएर खाने गरेका छन् ।’

अण्डा कार्यक्रमको तुलनामा अझै झण्डा कार्यक्रम पुग्न नसकेको स्वास्थ्य संयोजक मिन बहादुर रानाको छ । अण्डा कार्यक्रमलाई झै झण्डालाई महिलाहरुले महत्व दिएको नपाइएको उनले बताए । झण्डा लैजाने तर घरको धुरीमा राख्न आफुले नसकेपछि त्यसै प्रयोग बिहिन भएकाले यो प्रभावकारी नभएको रानाले बताए । गाउँका सबै गर्भवती महिलाका घरमा .हरियो झण्डा नभएको उनको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ