arrow

प्रदेश नम्वर ७को राजधानी गोदावरी बनाउन प्रस्ताव, नेकपाका नेता लेखराज भट्ट हावी

सात नम्वर प्रदेशको राजधानी गोदावरी बनाउन जग्गा तथा वन पैदावारको काम गर्नेहरु एकाएक सक्रिय

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार

धनगढी। सात नम्वर प्रदेशको राजधानी छान्न जग्गा तथा बन पैदावारको क्षेत्रमा काम गर्नेहरुले चलखेल शुरु गरेका छन्। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नेता लेखराज भट्ट र भाइ गोकर्ण भट्टले आफ्नो स्वार्थका लागि कैलालीको गोदावरीमा राजधानी सार्न खोजेको कैलालीमा एकाएक चर्चा शुरु भएको छ। 

भट्ट दाजुभाइको घर गोदावरी नजिकै रहेको अत्तरिया बजारमा छ । भट्ट दाजुभाइ र आफन्तको अत्तरिया र गोदावरीमा सयौं विगाहा जमिन रहेको छ। केही बर्ष पहिले वनको सात विगाहा जग्गा आफ्नो नाममा पार्न पनि नेता सफल भइसकेका छन्।  

राजधानी गोदावरी हुँदा अत्तरियाबजार चम्किनुका साथै धेरै घर जग्गा विक्री हुने र त्यसबाट आफू र आफन्तले निक्कै फाइदा हुने विश्वास भट्ट दाजुभाईको छ।

गोदावरीमा राजधानी बनाउने पूर्व योजना अनुसार नेता भट्टले अत्तरियाको हरैया लगायतका क्षेत्रमा तत्कालिन माओवादी कार्यकर्तालाई झण्डै ५० विगाहा जग्गा किन्न लगाएका छन ।

पहिले आफैले रणबहादुर शाहको जग्गा कव्जा गराएका माओवादीले अहिले उनलाई बेच्न बाध्य बनाएका छन । कव्जा गरेका सुकुम्वासीलाई जवरजस्ती धुरचनागाँउ पठाएका छन्। सो समूहले शाहको जग्गामा होटल अस्पताल र स्कुल लगायतका उद्योगहरु खोल्ने तयारी गरेका छन्। 

अर्कोतिर अहिले राजधानी बनाउने भनिएको ठाउँ वरपर धेरै जंगल छ। त्यो जंगल काट्दा पनि भट्ट परिवारलाई नै फाइदा हुने स्थिति छ। नेता भट्टका भाई गोकर्ण काष्ट व्यवसायी हुन्। 

अस्थायी राजधानी धनगढीमा मन्त्रालय र प्रदेशसभाको घर मर्मतसम्भार गर्न करोडौ खर्च भएको छ। धनगढीमा आवश्यक पर्ने घर र जग्गा पनि पर्याप्त छ। तर पनि गोदावरीको जंगलमा राजधानी लैजानको कारण भने जग्गा र जंगल फडानीबाट लाभ लिनु नै भएको अधिकांशको बुझाइ छ।

सात नम्बरबासीले सके धनगढी नै हुनुपर्ने नभए भौगोलिकरुपमा सेन्टरमा पर्ने दिपायल डोटीमा राजधानी हुनुपर्ने माग राख्दै आएका छन्। तर भट्टहरुको चलखेलबाट कतैबाट पनि माग नआएको गोदावरीमा राजधानी बनाउने तयारी रहेको स्रोतको दावी छ।  

नातेदार भएकै कारण त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाएका नेता लेखराज भट्टले लामो समयसम्म मुख्यमन्त्रीलाई अहिले प्रदेश राजधानी बनाउन प्रस्ताव गरिएको गोदावरी नजिकै आवास लिएर बस्न लगाएका थिए। दैनिक १४ किलोमिटर टाढा धनगढी आउन जान गाह्रो भएपछि भट्टले अहिले धनगढीमा आवासका लागि घर लिएका छन्।

प्रदेशको नामाकरण र राजधानी बारे सुझाव दिन गठित विशेष समितिले  मंगलबार आफ्नो प्रतिवेदन प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई बुझाएको छ। प्रतिवेदनमा प्रदेशको नाम सुदूरपश्चिम र राजधानीको नाम गोदावरी राखिएको स्रोतको दावी छ। सभामुखले प्रतिवेदन चाँडै प्रदेशसभामा लैजाने तयारी गरेका छन्। 

समितिको संयोजक भट्टकै दल नेकपाका प्रदेशसभाका मुख्य सचेतक तारा लामा तामाङ हुन्। धादिङबाट आएका तामाङले सात नम्वर प्रदेशको भावनाको प्रतिनिधित्व गर्न सक्दैनन् भन्ने सवाल शुरुमै उठेको थियो। 

प्रदेशको नाम पनि ठिक नभएको बुझाइ धेरैको छ । सुदूरपश्चिम पछौटे नामका रुपमा धेरैले अर्थ्याउँछन्।धेरैले खप्तड प्रदेश राजधानीको नाम हुनु पर्ने सुझाव दिएका थिए । खप्तड नामले पर्यटन क्षेत्रको प्रवर्द्धनमा योगदान दिने बुझाइ यहाँका बासिन्दाको छ। खप्तड नेपालकै चर्चित पर्यटकीय क्षेत्र हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ