- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। प्रतिनिधिसभाको बिहिबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
बैठकमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले “अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
महासन्धिलाई अनुमोदनपूर्व प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, सञ्जयकुमार गौतम र रामबहादुर विष्टले महासन्धिका प्रावधानका बारेमा जिज्ञासा राखेका थिए । सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले उक्त महासन्धिका प्रावधानले मुलुकलाई फाइदै फाइदा हुने र अन्तर्राष्ट्रिय उडानमा हुने दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बीमा रकम समान हुने जानकारी दिए ।
आजै बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले “जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँडसम्बन्धी नागोया अभिसन्धिको सम्मिलन माथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरे । उक्त प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।
बैठकमा सांसदका जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले अभिसन्धिका प्रावधान आनुवंशिक स्रोतका सम्बन्धमा परम्परागत ज्ञानको उपयोगबाट लाभान्वित हुने विषयसँग सम्बन्धित भएको बताए । उनले अभिसन्धिमा प्राकृतिक स्रोत संरक्षणमा संलग्न स्थानीय समुदायका ज्ञान र सीपको उपयोगका साथै उनीहरुलाई लाभ पुग्ने प्रावधानसमेत रहेको जानकारी गराए । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै देवप्रसाद गुरुङ र सुवालले अभिसन्धिका प्रावधानका बारेमा जिज्ञासा राखेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ८ गते बिहान ११ बजे बस्नेछ । रासस