arrow

गगन–गुरु–प्रदिपको संयुक्त आह्वान, काँग्रेसलाई 'क्याडरबेस' हैन 'मास बेस' बनाउ

logo
नकुल अर्याल।
प्रकाशित २०७२ फागुन ३ सोमबार
Yuwa-Congres.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेताहरुले पार्टीको आसन्न महाधिवेशनबाट सिद्धान्तको पुर्नव्याख्या र संगठनको पुनर्निर्माणका लागि सकरात्मक हस्तक्षेपको आव्हान गरेका छन् । कांग्रेस केन्द्रीय सदस्यत्रय गगन थापा, गुरुराज घिमिरे र प्रदीप पौडेलले संयुक्त दस्तावेजमार्फत देशैभरका महाधिवेशन प्रतिनिधिहरुलाई आसन्न महाधिवेशनमार्फत पार्टी सुधारका लागि अग्रसरता लिन आव्हान गरेका हुन् ।
 
उनीहरुले ‘सिद्धान्तको पुनव्र्याख्या र संगठनको पुनर्निर्माण’ नामक दस्तावेज ७५ वटै जिल्लामा पठाएका छन् । महाधिवेशनमा बहसका लागि संयुक्त प्रस्ताव तयार पारेका नेताहरुले अबको ४ वर्षसम्म पार्टीले लिने नीति र संगठनमा गर्नुपर्ने सुधारका लागि पहल थालेको बताएका छन् । केन्द्रीय सदस्य गगन थापाले महाधिवेशनमा नीतिगत बहस कम हुने र नेतृत्वका लागि मात्रै हानाथाप हुने परम्पराको अन्त्य गर्न आफ्ना विचारहरु तल्लो तहसम्म पठाएको बताए ।
 
उनका अनुसार सो दस्तावेजले १३ औं महाधिवेशनदेखि १४ औ महाधिवेशनसम्म कांग्रेसले लिनुपर्ने नीतिका बारेमा बहस थालेको छ । ‘अबको ४ वर्ष संविधान कार्यान्वयनको समय हो । यो अवधीमा कांग्रेसले सही नीति लिएन भने उपलब्धी गुम्न सक्छ । मुख्यतः यही अवधीलाई आधार बनाएर हाम्रो प्रस्ताव बहसमा ल्याएका हौं ।’, थापाले भने । उनले ‘मास बेस’ भनिएपनि पार्टी ‘क्याडर बेस’ बन्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै संगठनको पुर्निर्माणका लागि पनि दस्तावेज महत्वपूर्ण हुने बताए । ‘मास बेस पार्टीमा क्रियाशील सदस्यताको यत्रो विवाद नहुनुपर्ने । प्रत्येक नेपालीले कांग्रेसको विचार मानेर खुला रुपमा सदस्यता पाउन सक्ने व्यवस्थाको प्रस्ताव गरेका छौं ।’ थापाले भने । उनका अनुसार ६० प्रतिशत भूगोलमा आधारित र ४० प्रतिशत पेशागत सदस्यता हुनु उपयुक्त हुन्छ ।
 
केन्द्रीय सदस्य गुरुराज घिमिरे पार्टीमा बहसको खडेरी परेकोले त्यसलाई अन्त्य गर्न सामुहिक दस्तावेज ल्याएको बताउँछन् । ‘पार्टीको ईतिहास र योगदानको विवेचना गर्दै १३ औं महाधिवेशनलाई प्रस्थानविन्दु मानी १४ औं महाधिवेशनसम्म कस्तो पार्टी बनाउने भन्नेमा दस्तावेज केन्द्रीत छ ।’, घिमिरेले भने । उनले विचारको अस्पष्टता र संगठनका कमजोरी नसुधारे भविष्य अन्धकार हुने भन्दै देशभरका कार्यकर्तालाई नयाँ ढंगबाट सोच्न उत्प्रेरित गरेको बताए । ‘पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको उत्साहलाई समेटेर युग सुहाँउदो कांगेस बनाउने प्रयास थालेका हौं ।’, उनले भने । विधानसंगत पार्टी सञ्चालन गराउने र कार्यकर्तालाई केन्द्रमा राखेर काम गर्ने प्रवृत्ति आवश्यक भएको घिमिरेको भनाई छ ।
 
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल आफूहरुको प्रयत्न पार्टीलाई वैचारिक ढंगबाट सञ्चालन गर्नका लागि भएको बताउँछन् । दस्तावेजले पार्टीको परम्परागत गुटलाई अन्त्य गरी विचारका आधारमा गुट बनाउनुपर्नेमा जोड दिएको पौडेलको भनाई छ । ‘परम्परा र व्यक्तिकेन्द्रीत होइन विचार केन्द्रीत कांग्रेस बनाउन चाहन्छौं । हिजोकै विचार र संगठनले अबको कांग्रेस हाँक्न सक्दैन भन्ने हाम्रो निचोड हो ।’, पौडेलले भने । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई वर्तमान समय अुनसार व्याख्या गर्न प्रयत्न गरिएको र देशव्यापी बहसको आव्हान गरिएको पौडेलले बताए । ‘पार्टीको तल्लो तहदेखि नै अबको कांग्रेस कस्तो हुनुपर्छ भन्नेमा बहस होस र सुदृढ कांग्रेस बनोस् । त्यसका लागि हामीले प्रयास गरेका छौं । यो हाम्रो मात्रै नभएर हाम्रो पुस्ताको आव्हान हो ।’, उनले भने ।
 
दस्तावेजमा पार्टी सिद्धान्तहरुको पुनव्र्याख्या गरिएको छ भने संगठन सुदृढीकरणको प्रस्ताव पनि समेटिएको छ । आधा भागमा विचार र आधा भागमा संगठनबारेको प्रस्ताव समेटिएको दस्तावेजबारे महाधिवेशनमा छलफल गराउने बताइएको छ ।
 
कुनै समय विद्यार्थी राजनीतिमा पनि थापा, घिमिरे र पौडेल संगै काम गरेका थिए ।जय नेपाल न्यूज



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ