arrow

प्रदेश ७ ले जनै पूर्णिमामा सार्वजनिक बिदा दिने

कञ्चनपुर घटनामा संयमित हुन आग्रह

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
nagpanchami-janai-purnima.jpg

धनगढी । प्रदेश नं ७ को सरकारले जनै पूर्णिमा को अवसरमा प्रदेश नं ७ मा सार्वजनिक बिदा दिएको छ  । प्रदेश सरकार मन्त्रिपरिषद्को शनिबार बसेको आकस्मिक बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले  महत्वपूर्ण चाड जनै पूर्णिमा तथा रक्षा बन्धनका दिन भोलि भदौ १० गते प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।

साथै मन्त्रिपरिषद्ले कञ्चनपुरमा भएको घटनामा सम्बद्ध सबै पक्षलाई संयमित भई शान्ति सुव्यवस्था कायम राख्न र घटनाको अनुसन्धान कार्यमा सहयोग पुर्‍याउन आग्रह गरेको छ । कञ्चनपुर जिल्ला केही दिनयता अशान्त बनेको परिपे्रक्ष्यमा कञ्चनपुरमा उत्पन्न परिस्थितिमा संयमित भई शान्ति सुव्यवस्था एवं अमनचयन कायम राखी थप जनधनको क्षति हुनबाट रोक्न सहयोग पुर्‍याउन आग्रह गरिएको बताए ।

उक्त घटनामा परी मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको आवश्यक उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था गर्ने निर्णय भएको मन्त्री शाहले जानकारी दिए । सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धी अनुसन्धानको विषयलाई लिएर शुक्रबार भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा उक्त घटनामा मृत्यु भएका सन्नी खुनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति संवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । कञ्चनपुरमा बालिका बलात्कार र हत्याको घटनाको छानबिन तथा अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ