arrow

एप्पलको मूल्य १० खर्ब नाघेसँगै सीईओ बने झण्डै ६ करोड डलरले धनी

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
tim_cook.jpg

काठमाडौं । एप्पल कम्पनीका सीईओ टिम कुकको सम्पत्ति पछिल्लो एक महिनामा पाँच करोड ७० लाख अमेरिकी डलरले बढेको छ । अमेरिकी प्रविधि कम्पनीको मूल्य यस महिनाको सुरुवातमा १० खर्ब डलर पार भएसँगै प्रदान गरिएको सेयर बिक्री गरेर उनले सो रकम कमाएका हुन् ।
 
बुधबार सार्वजनिक भएको विवरणअनुसार कुकले २६५००० एप्पलको सेयर बिक्री गरेका थिए । जसको समग्र मूल्य १२ करोड १० लाख डलर रहेको थियो । जसमा ६ करोड ४० लाख डलरको सेयर भने राजस्वको कारणले रोकिएको थियो । यससँगै सो अवधिमा कुकले पाँच करोड रकम आफ्नो घर लगेका थिए । 

कुकलाई प्रदान गरिएको सेयर उनको तलब र बोनसभन्दा बाहेकको कमाइ हो । कुकले अघिल्लो वर्ष १ करोड २८ लाख डलर आम्दानी गरेका थिए । उनको आधारभूत तलब ३० लाख डलर रहेको छ भने बोनस ९३ लाख डलर रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले बढेको रकम हो । 

अहिले कुकको सम्पत्ति ६२ करोड ५० लाख डलर पुगेको विवरणमा उल्लेख गरिएको छ । अगष्टको सुरुवातमा एप्पल १० खर्ब डलरको मूल्य पार गर्ने पहिलो अमेरिकी कम्पनी बन्न सफल रहेको थियो ।

आईफोन तथा आईप्याड तथा अन्य डिभाइसहरु निर्माण गर्दै आएको कम्पनीले सन् २०१८ को तेस्रो आर्थिक त्रैमासिक अवधिको राजस्व ५३ अर्ब ३० करोड डलर रहेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो नतिजामा १७ प्रतिशतको वृद्धि भएको हो । 

एप्पल कम्पनी आगामी महिना तीनओटा आईफोनहरु बजारमा सार्वजनिक गर्ने तयारीमा रहेको छ । आउँदो स्मार्टफोनहरु आईफोन एक्सको केही ठुलो भर्सन रहने तर मूल्य भने केही कम रहने अनुमान गरिएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ