काठमाडौं। नयाँ नेतृत्व चयनका लागि काठमाडौं काँग्रेसको बुधबार प्रज्ञाभवन कमलादीमा हुने भनिएको मतदान अखिलका कारण त्यहाँ हुन सम्भव नभएपछि स्थान सारिएको छ। बुधवार विहान मतदान हुने भनिएपनि एमाले निकट अखिलको महाधिवेशन लम्विएर चुनाव पर सरेपछि काठमाडौं काँग्रेसको मतदान प्रभावित भएको हो। अखिलका कारण काठमाडौं काँग्रेस त्यहाँबाट भृकुटीमण्डप सरेको छ। अखिलको मतदान पनि बुधवार विहान ८ बजेबाट हुने भएको छ।
काठमाडौं काँग्रेसका सभापति भिमसेनदास प्रधानले बुधवार बिहान ९ बजेबाट भृकुटी मण्डपमा मतदान हुने जानकारी दिए। मतदान ९ देखि १२ बजेसम्म हुने काँग्रेसले जनाएको छ।
काठमाडौ काँग्रेसको सभापति पदमा भिमसेनदास प्रधान र सबुज बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ। सचिव पदमा तीन र कोषाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ। यसैगरि सचिव पदमा तीन जनाको उम्मेदवारी परेको छ। प्रधान पक्षबाट अर्जुन पराजुली र बानियाँ पक्षबाट राजकुमार नकर्मीको मनोनयन दर्ता भएको छ। प्रणयसिंह मुन्नाले स्वतन्त्ररुपमा सचिव पदमा उम्मेदवारी दिएका छन्।
कोषाध्यक्ष पदमा भने नर्बदा पोख्रेल र गोबिन्द पुडासैनीको उम्मेदवारी दर्ता भएको निर्बाचन समितिले जनाएको छ।