arrow

फूटबल खेलाडीलाई सेलिब्रेटी भन्छन्,–‘स्वच्छ छवि बनाएर खेल्नु’

‘स्वच्छ छवि बनाएर फूटबल खेल्नु, म्याचफिक्सिङ भन्ने कुरा जिन्दगीमा सुन्नु नपरोस् ।’

logo
नेमिष गौतम, काठमाडौं
प्रकाशित २०७२ फागुन ५ बुधबार
Celebrity.jpg.jpeg
नेपाल र नेपालीहरु अहिले खुसीमा रमाइरहेका छन् । २३ वर्ष पछि दक्षिण एसियाली खेलकुद साग पुरुष फूटबलको फाइनलमा भारतलाई उसकै खेल मैदानमा हराएर स्वर्ण पदक दिलाए पछि नेपाली फूटबल टिमलाई बधाईको ओइरो लागेको छ । २३ वर्षपछी साग पुरुष फुटबल च्याम्पियन बनेको नेपाली टिमले खुसी मात्रै दिलाएन, नेपालीको शान बढाईदिएको छ । 

नेपालका चर्चित अनुहारका फूटबल खेलाडीहरु खेल मिलेमतो प्रकरणमा दोषी ठहर हुँदै आजीवन प्रतिबन्धमा परेपछी नेपाली फूटबलमाथि ठूलो प्रश्न चिन्ह उठेको थियो । यद्यपि, सो प्रश्न चिन्हलाई गतिलो जवाफ दिँदै नेपाली युवा फूटबल टोलीले बंगलादेशमा केही समय अघि बंगबन्धुकप फूटबलको उपाधि चुम्यो । झण्डै १७ वर्षसम्म कुनै पनि अन्तराष्ट्रिय उपाधि जित्न नसकेको नेपालले सो प्रतियोगिताबाट उपाधि इतिहास सम्झायो । नेपाली फुटबल टिमले एकै वर्ष दुई महत्वपूर्ण उपाधि दिलायो । बंगबन्धु गोल्डकपको उपाधि स्वाद चखाएका फूटबल खेलाडीहरुले नै भारतमा भएको १२औं सागमा अर्को सफलताको स्वाद बाँडे । 

नेपाली फूटबलले पाएको यो उपलब्धि र खुशीयालीमा नेपाली कला क्षेत्रका सेलिब्रेटीहरु पनि अहिले रमाइरहेका छन् । उनीहरुको डर कतै नेपाली फूटबलले खेल मिलेमतोको अर्को काण्ड त समाउने होइन भन्ने डर पनि छ । मनमा डर भए पनि उनीहरुमा नेपाली खेलाडीले त्यसो गर्दैनन् भन्ने पूर्ण विश्वास छ ।

नेपाली फूटबल खेलाडीको कामलाई नजिकबाट नियालिरहेकी हाँस्य कलाकार दीपाश्री निरौला खेलाडीलाई आत्मविश्वासी भएर खेलको अन्तिम समयसम्म जुझारु बनेर फूटबल खेल्न सुझाव दिन्छिन् । ‘हाम्रो इज्जत र सान राजनीतिक खेल भन्दा पनि फूटबल खेलमा नै छ,’उनी भन्छिन्,‘स्वच्छ छवि बनाएर फूटबल खेल्नु, म्याचफिक्सिङ भन्ने कुरा जिन्दगीमा सुन्नु नपरोस् ।’

नेपालका चर्चित हेयरस्टाइलिष्ट निल डेभिड कटुवाल नेपाली फूटबलले पाएको सफलतालाई सुरुवातको रुपमा लिन्छन् । ‘नेपाली फूटबललाई सफलताको कामना, सफर लामो छ, यो शुरुवात मात्र हो, खेलाडीले संयमित भएर फूटबल खेल्नुपर्छ,’उनको सुझाव छ,‘खेललाई कुनै पनि पैसाको लालचमा कालो दाग लगाउने काम नगर्नु, भविष्य उज्जवल बनाउने काममा सक्रिय रहँदा राम्रो हुन्छ ।’

कुनै बेला आफै फूटबल खेल्न मरिहत्ते गर्ने नायक गजित विष्ट खेलाडीलाई इमान्दार भएर खेल्न आग्रह गर्छन् । ‘सधैं इमान्दार र मेहनती भएर फूटबल खेल्नु, जसले गर्दा जित हाम्रै हुन्छ,’उनले भने,‘अरुको कुरा नसुन्नु, लोभलालचमा नफस्नु, विपक्षीलाई कसरी पराजित गर्न सकिन्छ भन्ने सोचेर फूटबल खेल्नु, जसले गर्दा जितको दावेदार हामी नै हुन्छौं ।’

गायक तथा नायक बाबु बोगटी हाल विजयी भएका फूटबल खेलाडीलाई राष्ट्र र जनताले प्रोत्साहन दिनुपर्ने धारणा राख्छन् । ‘उनीहरुलाई आर्थिक रुपमा पनि सरकारले हेर्नुपर्छ, त्यसपछि खेलाडीको मनोबल त्यसै बढेर जान्छ, भविष्यमा पनि खेलाडीहरुले ठूला प्रतिष्पर्धात्मक खेल खेल्नुपर्ने हुन्छ, त्यसका लागि  मानसिक, शारीरिक रुपमा सशक्त बनाउन तालिम लिन आवश्यक छ,’उनले भने, ‘फूटबल संघले खेलाडीलाई जोगाएर राख्नुपर्छ । खेलाडीलाई मानसिक रुपमा तनाव हुने वातावरण आउन दिनुहुँदैन ।’ उनले खेलाडीहरुलाई दाँयाबाँया नलागीकन स्वच्छ भएर फूटबल खेल्न आव्हान गर्दै खेल जीवनमा आरोप लाग्ने वातावरण नबनाउन आग्रह गरे । 

सञ्चारकर्मी, गायिका तथा कलाकार कोमल वलीले खेलाडीलाई अनुशासित रहन सल्लाह दिँदै फूटबलमा निरन्तरता दिनका लागि लिगहरु खेलिरहन आव्हान गरिन् । ‘खेलाडीले खाली बस्नुपर्ने वातावरण नबनोस्, अहिलेसम्म फूटबलले व्यवहोरेको परिणाम एन्फाको राजनीतिकले गर्दा भयो, अब खेलाडीलाई राजनीतिबाट मुक्त राखी खेलमै जीवन त्याग गराउने किसिमको वातवारण बनाउनुपर्छ, उनीहरुलाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्न दिनुपर्छ,’उनले भनिन्,‘उद्योगी व्यवसायी र सरकारले खेलाडीको सामाजिक सुरक्षामा ध्यान दिनुपर्ने अवस्था देखेको छु । नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीमाआवद्ध रहेर फूटबल खेल्नेको भविष्य राम्रो छ, तर अन्य क्लबमाआवद्ध खेलाडीको अवस्था राम्रो छैन, त्यसकारण उनीहरुको सामाजिक सुरक्षाका लागि सरकार र निजी क्षेत्रले ध्यान दिन आवश्यक छ ।’

नेपाली फूटबलको फ्यान समेत रहेकी नायिका केकी अधिकारीले आफुलाई भन्दा देशलाई सम्झेर फूटबल खेल्न सुझाव दिएकी छन् । ‘अण्डर–२३ का फूटबल खेलाडी भए पनि खेलको कौशलमा उनीहरु अब्बल छन् । हामीलाई गर्व र खुशी हुने मौका दिएका छन् । देशमा धेरै समस्या हुँदा पनि थोरै खुशी दिन सक्नु आफैमा र देशका लागि नै ठूलो कुरा हो,’उनले भनिन्, ‘खेलाडीको खेल प्रतिको स्पिरिट नमरोस्, देशको लागि गर्न पाउनु भनेको आफैमा गर्वलायक काम हो, देशको लागि गर्न सक्ने काम भनेको ठूलो काम हो । तपाईहरु नाम र दामको पछि नपर्नुहोस् । देशलाई माथि राखेर खेल खेल्नुहोस्, त्यो नै तपाईहरुको लागि फलदायी हुनेछ ।



नयाँ