arrow

मलेसियामा अवैध कामदार धमाधम पक्राउ, युएईबाट ६ सय नेपाली घर फर्किए

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
malesiya.jpg

काठमाडौं । मलेसियाको सरकारले आममाफीका लागि दिएको समय सकिएसँगै अवैध रुपमा बसेका कामदारमाथि धरपकड सुरु भएको छ । जसको असर अवैध रुपमा मलेसिया पुगेका नेपालीलाई पनि परेको छ । त्यहाँका सरकारी अधिकारीले आम माफीको समय सकिनासाथ अवैधरुपमा बसेकाहरुमाथि धरपकड हुने भनी पत्रकार सम्मेलन नै गरेका थिए । 

प्रवासी कामदारको संख्या बढी भएको क्षेत्र बुकित विन्ताङ, कोतराया, जालान पेतालिङ तथा जालान सिलाङ लगायतका क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालित छन् । अवैध आप्रवासी कामदारलाई स्वदेश फर्कन दिएको मौका ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ मार्फत आममाफीमा वैधानिक हुन नआएका कामदारमाथि धरपकड सुरु गरेको मलेसियाका अध्यागमन विभागका निर्देशक दातुक मुस्ताफिर अलीले जनाएका छन् । 

गएको फेब्रअरी १५ अर्थात् (फागुन ३)बाट मलेसियाले अवैधानिक रुपमा रहेका विदेशी कामदारलाई स्वदेश फर्किनका लागि आम माफीको कार्यक्रम सञ्चालन गरेको थियो । त्यो अवधि गएको हप्ता मात्रै सकिएको छ । त्यसबखत अवैध रुपमा मलेसिया पुगेका कामदारलाई वैधानिक प्रक्रियामा आउने अथवा घर फर्किने मौका दिईएको थियो । यद्यपि, झन्झटिलो प्रक्रियाका कारण धेरै कामदार वैधानिक हुन आएनन् । 

अगस्ट ३१ मा समयावधि सकिएलगत्तै आममाफीमा सहभागि नभएका आप्रवासी कामदारप्रति त्यहाँको सरकार कठोर भएको हो । गत शनिबारदेखि आइतबार साँझसम्म १० बढी कामदार पक्राउ परेका बताईएको छ । मलेसियामा करिब ४० लाख विदेशी कामदार रहेको र त्यसमध्ये ४० प्रतिशत अवैधानिक रुपमा बसिरहेका छन् । त्यसमा नेपालीको संख्या खुलाईएको छैन । 

२०१४ देखि आममाफीको उपयोग गरी ८ लाख ६७ हजार ३ सय ३६ जना विदेशी कामदार स्वदेश फर्किएका छन् । ती मध्ये कति नेपाली फर्किए यकिन तथ्यांक थाहा दिईएको छैन ।

युएईबाट ६ सय नेपाली घर फर्किए 
संयुक्त अरब ईमिरेट्स युएई सरकारले चलाएको आममाफी कार्यक्रममा एक हजार नेपाली सहभागी भएका बताईएको छ । जहाँ साउन १६ गतेदेखि तीन महिनाका लागि आममाफी कार्यक्रम लागू भएको छ । विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई युएईले तीन महिना आममाफीको समय दिएको छ ।

गएको सातासम्म ६ सय नेपालीले युएई छोडेका छन् । तर, आममाफी प्रक्रिया सहभागी भएका अन्य नेपाली फर्किए नफर्किएको बारे तथ्याङ्क आईसकेको छैन । युएईमै रहेकाहरुको प्रक्रिया अगाडि बढेपछि मात्रै नेपाल फर्कनेको कुल तथ्याङ्क सार्वजनिक गरिने युएईको अध्यागमनले जनाएको छ । अवैधानिक रुपमा बसिरहेका नेपाली आममाफीको अवसरलाई सदुपयोग गर्दै भिसा लगाएर वैधानिक बन्ने प्रयासमा रहेका बताईन्छ । आममाफी प्रक्रियामा सहभागि हुनेमा अधिकांश  महिला कामदार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ