फिदिम नगरपालिकामा ५ वर्षदेखि १२ वर्ष उमेर समूहको सबै बालवालिकाहरु विद्यालयको पहुँचमा
जितेन्द्र भण्डारी
प्रकाशित २०७५ भदौ २० बुधबार
434
Shares
पाँचथर। पाँचथरको फिदिम नगरपालिकालाई ५ वर्षदेखि १२ वर्ष उमेर समूहको बालवालिकाहरु यस नगरपालिकाका सबै विद्यालयहरुको पहुँचमा भएको आज घोषणा गरिएको छ ।
निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा भन्ने नाराका साथ सवै विद्यालयहरुको पहुँचमा भएको घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती प्रमुख विष्णु प्रसाद सापकोटाले विद्यार्थी भर्ना मात्रै गर्ने तर टिकाइ राख्न नसकिने राष्ट्रब्यापी यो समस्या रहेको उल्लेख गर्दे विद्यार्थीलाई भर्ना मात्रै गर्ने नभएर टिकाइ राख्न पनि जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले अहिले विद्यार्थीलाई विद्यालय भर्ना मात्रै गर्ने नभएर यसलाई टिकाई राख्नको निम्ति नगरले विशेष अभियान र कार्यक्रम संचालन गर्ने बताएका थिए।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले राज्यले शिक्षा क्षेत्रमा करौडौ रुपैया लगानी गरेर त्यो अपेक्षित उपलब्धी हुन नसकेको बताउँदै यसका लागि सम्वन्धित सरोकारवालाहरु लागेर खस्कदो शिक्षाको गुणस्तरलाई उकास्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै शिक्षा विकाश तथा समन्वय इकाई प्रमुख युगमणि सवेहाङले ५ देखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका तथा विविध कारणले विद्यालय छोडेका बालवालिकाहरुलाई विद्यालयमा नियमित गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुनै यस कार्यक्रमको मूल लक्ष्य रहेको औल्याउनुभयो ।
जिल्लाका प्राय सवै स्थानिय तहले यो अभियान सकिसकेको हुँदा आगामी भदौ २१ गते जिल्ला स्तरमै ५ वर्षदेखि १२ वर्ष उमेर समूहका बालवालिकाहरु विद्यालयको पहुँचमा रहेको घोषणा गर्ने बताएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव रुपनारायण जवेगुले विद्यालयमा विद्यार्थीलाई पुरयाउनुमात्रै ठूलो विषय नभएर ती विद्यार्थीलाई टिकाई राख्न नगरपालिकाले ती विद्यार्थीलाई लक्षित गरेर कार्यक्रमहरु ल्याउनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दिपक नेपालले विद्यार्थीलाई विद्यालयमा भर्ना मात्रै गर्नु सवैथोक नभएर विद्यार्थीलाई टिकाई राख्न जरुरी रहेको हुँदा यसका लागि नगरपालिकाले उनीहरुलाई उत्प्रेरणा जगाउने कार्यक्रम संचालन गर्ने बताए ।
कार्यक्रममा बोल्दै फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले यस नगरपालिकाका ५ देखि १२ वर्ष उमेर समूहका सवै बालवालिकाहरुलाई आधारभूत तहको शिक्षा निशुल्क तथा अनिवार्य रुपमा उपलब्ध गराउने बताए । यो अभियान संचालनमा विविध चुनौती रहेको फिदिम नगपालिकाका प्रशासकिय अधिकृत डम्बर आङदेम्बेले बताए ।
उहाँका अनुसार विद्यालयमा भर्ना पश्चात बालवालिका टिकाउन,शारिरिक तथा मानसिक रुपले अपांग बालवालिकाहरुलाई विद्यालय भर्ना गर्न,दरिका हिसावले विद्यालय भन्दा धेरै टाढा बसोबास भएका वालवालिकाहरुलाई विद्यालय ल्याउन र टिकाउन र सरोकारवालाहरुलाई कार्यक्रम प्रति अपन्त्व भावना जागृत गराउन चुनौती रहेका छन् ।
यस दोस्रो चरणमा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरेर उनीहरुलाई टिकाई राख्न नगर शिक्षा समितीको निर्णयबाट प्रोत्साहन छात्रवृति लगायतका कार्यक्रम तय गरिने समितीका फाँट प्रमुख गजाधार ढुंगानाले बताएका थिए ।
वडाका सवै विद्यार्थीहरुलाई दोस्रो चरणको अभियानमा भर्ना गराउन सफल सम्पूर्ण वडाअध्यक्षहरु तथा विद्यालयका प्रअहरुलाई सम्मान समेत गरिएको थियो ।