arrow

काँग्रेस महाधिवेशन कोइरालाप्रति समर्पित हुने; मूल नारामै कोइरालाको नेतृत्वको चर्चा

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
13th-congress.png.png.png
काठमाडौँ। नेपाली काँग्रेसले आसन्न १३औँ महाधिवेशनका लागि ‘सुशीलको नेतृत्वमा बनायौँ संविधानः समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’भन्ने मूल नारा तय गरेको छ । काँग्रेसले महाधिवेशनको तयारीका लागि गठन गरेको प्रचारप्रसार समितिको आज बसेको बैठकले सो नारा तय गरेको समितिले जनाएको छ। काँग्रेसका स्व सभापति सुशील कोइराला नेतृत्वको सरकारको सक्रियतामा नै मुलुकको इतिहासमा पहिलो पटक संविधानसभाबाट संविधान जारी भएको प्रसङ्गसहित काँग्रेस अब मुलुकको विकास र समृद्धितर्फ उन्मुख हुने नीतिलाई अँगाल्दै सो नारा तय गरेको समितिका संयोजक एवम् पार्टी प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजालले जानकारी दिए। 
 
समितिले महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थित र भव्य बनाउन मुल प्रचार समितिलाई पूर्णता दिदै र विभिन्न उपसमितिसमेत गठन गरेको छ। बैठकले वरिष्ठ पत्रकार हरिहर विरहीको संयोजकत्वमा अभिलेख, तेजप्रकाश पण्डितको संयोजकत्वमा बुलेटिन, दामोदरप्रसाद दवाडीको संयोजकत्वमा प्रकाशन, कविर राणाको संयोजकत्वमा मिडिया सेन्टर, कृष्ण केसीको संयोजकत्वमा प्राविधिक, बद्री सिग्देलको संयोजकत्वमा वैदेशिक सम्पर्क र धर्मेन्द्र झाको संयोजकत्वमा विशेष स्मारिका उपसमिति गठन गरेको समितिका सदस्य एवम् पार्टी केन्द्रीय सदस्य बद्री पाण्डेले बताए। उपसमितिमा संयोजकले आवश्यकता र विज्ञताअनुसार सदस्य मनोनयन गर्नेछन्। 
 
वरिष्ठ पत्रकार तथा नेपाल प्रेस युनियनका पदाधिकारी एवम् सदस्यसहितको आजको छलफलमा समितिले महाधिवेशनको सूचना शीघ्र सञ्चारमाध्यमलाई सहज तरिकाले उपलब्ध गराउन नयाँ वेबसाइट बनाउने र मिडिया सेन्टरलाई सुविधायुक्त एवम् व्यवस्थित बनाउने निर्णयसमेत गरेको छ। प्रचार समितिको सम्पर्क कार्यालय नेपाल प्रेस युनियनमा राख्ने निर्णय भएपछि बसेको तेस्रो वैठकले समितिले नारा तय गर्नुका साथै समिति र उपसमिति गठन गरेको हो। 
 
समितिमा संयोजकमा काँग्रेस प्रचार विभाग प्रमुख रिजाल र पार्टीका तर्फबाट केन्द्रीय सदस्यहरु पाण्डे, अजयकुमार चौरसिया र सुरेन्द्रराज पाण्डे सदस्य छन्। प्रचार समितिमा भने लोकतन्त्रवादी पत्रकारहरु समेत छन्। मूल काँग्रेसको १३औँ महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ