arrow

मुख्यमन्त्रीहरुकाे पाेखरा भेलाले यस्ताे निकाल्याे निचाेड

कर्णालीका मुख्यमन्त्री शाही भएनन् सहभागि

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
CM-_bhela.JPG

पोखरा । प्रदेशका मुख्य मन्त्रीहरूले सङ्घीय संविधानको पूर्णरुपमा कार्यान्वयन गर्दै मुलुकको समृद्धिका लागि प्रदेशहरू बलियो बन्नुपर्नेमा जोड दिएका छन् । 

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले डाकेकाे मुख्य मन्त्रीहरूको पहिलाे भेलामा प्रदेशका मुख्य मन्त्रीहरूले सङ्घीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकारको भूमिका प्रभावकारी बन्नुपर्ने बताएका हुन् । 

भेलामा शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत साधन, शान्ति सुरक्षा, मानव स्रोतको व्यवस्थापन अझै प्रदेश सरकारको मातहतमा आउन नसक्दा अन्योलता बढेकोमा उनीहरुकाे भनाइ थियो । 

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले जनताको अपेक्षा र चाहनालाई सम्बोधन गर्ने गरी प्रदेशको प्रभावकारिता वृद्धि हुनुपर्नेमा जोड दिए । कर्मचारीतन्त्रको मानसिकतामा अझै परिवर्तन आउन नसकेको बताउँदै उनले राजनीतिक रुपमा काम अघि बढे पनि त्यस अनुरुप प्रदेश सरकारका काम अपेक्षित बढ्न नसकेको उल्लेख गरे । 

प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानले अबलम्बन गरेका सहकार्य, समन्वय र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्ने बताए । उनले मुलुक सङ्घीय संरचनामा गइसके पनि सङ्घको मानसिकता नबदलिएको बताउँदै सङ्घीयताको मर्म र भावनालाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।  प्रहरी प्रशासन एवं कर असुलीलगायतका विषयमा अझै पनि प्रदेश सरकारलाई अधिकार नभएको उनले गुनासो गरे । 

प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको प्रभावकारिताका लागि कर्मचारी समायोजनलगायतका विषय अझै पनि समस्या रहेको बताए । करको दर वृद्धिबारे हल्ला मात्र भएको भन्दै उनले २० वर्षसम्म जनप्रतिनिधिविहीन अवस्थामा करको दर वृद्धि नहुनाले अहिले समस्या देखिएको बताए ।  

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रदेश सरकार सञ्चालनमा विभिन्न चुनौती र समस्या देखिएको बताउँदै त्यसको निराकरणका लागि सामूहिक अवधारणा तयार गरी समाधानको प्रयास थालिने बताए । प्राकृतिक साधनस्रोतको उपयोगका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वीत्त आयोग गठन गरिनु अपरिहार्य भएको उनले बताए । । लैङ्गिक, भाषिक एवम् जातीय एकताबाट राज्यको समुन्नति सम्भव भएको बताउँदै उनले समृद्धि र विकासको लक्ष्य प्राप्तिका लागि सबैको सामूहिक प्रयास अपरिहार्य भएकोमा जोड दिए । 

प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले संघीयतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय अहिलेको प्रमुख विषय भएको बताउँदै एकात्मकताबाट सङ्घीयतातर्फको नयाँ अभ्यास शून्यताबाट शुरु भएको धारणा राखे । उनले संविधानले व्यवस्था गरेअनुरुप सङ्घ सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्नुको विकल्प नभएको बताए ।  

प्रदेश ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले जनजीविकासँग जोडिएका अधिकाँश विषयमा प्रदेश सरकारबीच एकरुपताको खाँचो औँल्याए ।  प्रदेश सरकार सञ्चालनमा देखिएका समस्याको समाधानका लागि एकताबद्ध बन्दै सङ्घीयताको प्रभावकारिताका माध्यमबाट सवल राज्य निर्माणका लागि दत्तचित्त भएर लाग्नुपर्नेमा मुख्य मन्त्री भट्टको जोड छ । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भेलामा उपस्थित भएनन् । मुख्य मन्त्रीको भेलाले आसन्न अन्तर प्रदेश समन्वय परिषद्को बैठकका लागि साझा कार्यसूची तय गर्ने जनाइएको छ । बैठकमा गण्डकीका प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकका मेयर मानबहादुर जिसीले संघीयता कार्यान्वयनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरुलाई बलियो बनाउनुपर्नेमा जोड दिए । रासस



नयाँ