arrow

सांसदले निर्मला हत्याकाे छानविनबारे साेध्दा गृहमन्त्रीले शिर निहुराए 

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
badal3.JPG

काठमाडाै‌ं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीको राजीनामाबारे राष्ट्रियस भामा कुरा उठेकाे छ । 

राष्ट्रियसभाको मंगलबार बसेकाे बैठकको विशेष समयमा सांसद बद्री पाण्डेले छानबिन समितिका सदस्य केसीले असुरक्षाको कारण देखाउँदै राजीनामा दिनु गम्भीर विषय भएको बताए । उपसचिव केसीले निष्पक्ष छानबिन हुन नसक्ने देखिएपछि राजीनामा दिएको अभिव्यक्तिका सम्बन्धमा गृहमन्त्रीसँग ठोस जवाफ माग गरे । 

बैठकमा गृहमन्त्री स्वय‌ं उपस्थित थिए । सांसद पाण्डेले याे देशमा राज्यभन्दा ठूलाे काे रहेछ ? ज्यान मार्ने धम्की दिने भनी प्रश्न गर्दा गृहमन्त्री राम बहादुर थापाले शिर निहुराए । बैठकमा उनीमात्रै थिएनन् । कानुनमन्त्री भानुभक्त ढकाल, वनमन्त्री शक्तिबहादुर बस्नेत र संस्कृतिमन्त्री रवीन्द्र अधिकारी समेत थिए ।  

सांसद पाण्डेले नेपाल तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको ‘सत्ताधारी दलका कार्यकर्ताको गोली प्रहारबाट हत्या भएको’ घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारवाही र मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको माग गरे । 

सांसद नन्दा चपाईंले कञ्चनपुर घटनाका सम्बन्धमा हालसम्म पनि अपराधी पत्ता नलाग्नु गम्भीर हो भन्दै यस्ता घटनाका सम्बन्धमा राज्य गम्भीर भई नियन्त्रणका लागि तीनै तहका सरकारी संयन्त्रलाई परिचालन गर्नुपर्ने औंल्याइन् । सांसद महेशकुमार महराले डडेल्धुरामा २०६२ मा बाढींबाट पीडितको हालसम्म पनि व्यवस्थापन हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधानको माग गरिन्  । 

उनले कञ्चनपुरको घटनाको छानबिन समितिका सदस्य केसीलाई आएको धम्कीप्रति सरकार गम्भीर हुनुपर्ने बताइन् । उनले मुलुकको पश्चिमी भूभाग कालापानी नेपालको नक्शाबाट हटाइएको भन्ने विषयप्रति सरकारको ध्यानाकर्षण गराइन्  । 

सांसद वृषेशचन्द्र लालले सङ्घ र प्रदेश सरकरबीच समन्वय गर्न संविधानले व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को हालसम्म बैठक बस्न नसक्नु र यसमा केन्द्र सरकार उदासीन हुनु सङ्घीयता विरोधी काम भएको भनी टिप्पणी गरे । 

सांसद प्रमिलाकुमारी यादवले प्रधानमन्त्रीले उत्पीडित समुदायका पक्षमा संविधान संशोधनमा प्रतिबद्धता जनाए पनि हालसम्म कुनै पनि काम अघि नबढाएको भनी गुनासो गरिन् । साथै उनले आफू राष्ट्रियसभामा दलका नेताको पाउनुपर्ने सुविधाबाट वञ्चित भएको भन्दै आपत्ति प्रकट गरिन् । 

सांसद विमला पौडेलले नेपालका गोदाममा चिनी हुँदाहुँदै विदेशबाट चिनी ल्याउनु उचित नभएको बताइन् । उनले पन्तको बलात्कारपछि हत्याका सम्बन्धमा छानबिन गर्न गठित समितिमा स्थानीय जनप्रतिनिधि र महिला अधिकारकर्मीको पनि सहभागिता भए छानबिन प्रभावकारी हुने सुझाव दिइन् । 

सांसद बिना पोखरेलले गत चैतदेखि असार मसान्तसम्म १५० भन्दा बढी महिलामाथि हिंसा र बलात्कारका घटना भएको उल्लेख गर्दै यस्ता अमानवीय घटनालाई राजनीतिक स्वार्थसँग जोड्न नहने बताइन् । सांसद राधेश्याम अधिकारीले ‘खोजतलास डटकम’का सम्पादक राजु बस्नेतलाई समाचार अन्यबाट लिएका आधारमा थुनामा राखिएको प्रति आपत्ति प्रकट गर्दै समाचार लेखेकै र लिएकै आधारमा पक्रन नमिल्ने भनी अविलम्ब रिहा गर्न माग गरिन् ।

सांसद युटोल तामाङले बौद्ध धर्मालम्बी विद्यार्थीको पढाइ खाजाका कार्यक्रममा खर्च कटौतीका सम्बन्धमा सरकारसँग स्पष्ट धारणा माग गरे । गुम्बा शिक्षाको उचित व्यवस्थापन र बालबालिकाको छात्रवृत्तिको व्यवस्थाको पनि उनले माग गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ