arrow

रोल्पा कांग्रेसमा संस्थापनको बाजी

logo
कविता उपाध्याय,
प्रकाशित २०७२ फागुन ६ बिहिबार
congress.jpg.jpeg
रोल्पा । काँग्रेस रोल्पाको जिल्ला अधिवेशनबाट संस्थापन पक्षका अमरसिंह पुन अत्यधिक मत प्राप्त गरी सभापति निर्वाचित भएका छन् । दुई प्यानलबीच भएको चुनावी प्रतिस्पर्धामा देउवा पक्षका मानबहादुर खत्रीलाई ४७ मत अन्तरले हराउँदै संस्थापन पक्षका अमरसिंह पुन विजय भएका हुन् । 
 
यसैगरी, सचिवमा देउवा पक्षका दिपक श्रेष्ठलाई १५ मत अन्तरले पराजित गर्दै संस्थापन पक्षकै शेरबहादुर महरा निर्वाचित भए । कोषाध्यक्षको मतान्तर ५५ रहयो । देउवा पक्षका विश्वकुमार चन्दलाई पराजित गर्दै संस्थापन पक्षका खटकबहादुर खत्री कोषाध्यक्ष भए ।  
कार्य समिति सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट सदस्यहरुमा संस्थापन पक्षका किशोरकुमार आचार्य, कविता उपाध्याय, महेन्द्र पुन, मोहनबिक्रम भण्डारी, दुर्गा प्रसाद अधिकारी, गणबहादुर घर्ती, ईन्द्रबहादुर बिक निर्वाचित भए । देउवा पक्षका मिश्रीकुमारी हमाल र सागर पुनमात्र निर्वाचित सदस्य भए । संस्थापन पक्षका सुदांशु महरा र देउवा पक्षका श्रीकुमारी रोकामगरले समान ९५–९५ मत प्राप्त गरेपछि गोला प्रथाबाट संस्थापन पक्षका सुदांसु महरा चयन भए ।
 
यस्तै, महासमिति सदस्यहरुमा संस्थापन पक्षका मनिकला राना, तिजा बिष्ट, माधव आचार्य, मनोजमणि आचार्य, नारायणप्रसाद आचार्य, लेखमणि डाँगी, अमरसिंह पुन, खटकबहादुर खत्री विजयी भए । देउवा पक्षका झक्कु घर्ती र टिका बुढा महासमिति सदस्य निर्वाचित भए । 
क्षेत्र नम्बर २ बाट संस्थापन पक्षका कृष्ण बहादुर डाँगी, प्रेमबहादुर डाँगी, टेकबहादुर कामी, शंकबहादुर छन्त्याल  विजयी भए । खगेन्द्र प्रकाश हमाल, मोहन परियार, मोहनलाल घर्ती, टीकाकुमारी बुढा, लक्ष्मी डाँगी, धनीप्रसाद बुढा समेत चयन भएका छन् । 
निर्वाचनको कार्यक्रम सकिएपछि विहिबार विहान नेपाली कांग्रेसको पार्टी कार्यालयमा विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण भएको छ । 
 
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको स्मृतीमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम समेत भएको छ । कार्यक्रममा नव निर्वाचित सभापति अमरसिंह पुनले निर्वाचन अधिकृत जयबहादुर खत्रीलाई मायाको चिनो पदान गरे । नव निर्वाचित सभापति पुनले आगामी दिनमा पार्टी सुदृढीकरणका लागि आफूले विशेष पहल गर्ने प्रतिवद्धता जनाए । जिल्ला सभापति पुनले आगामी फागुन ९ गते सुशील कोइरालाको १३आंै दिनको स्मृतिमा शोकसभाको आयोजना गरिएको हुँदा नेपाली कांग्रेसमा आवद्ध सबैलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरे । पार्टी शोकमा परेकाले प्रमाणपत्र वितरण कार्यक्रममा विजयी उमेदवारलाई टिका, अबिर र माला ग्रहण गराइएको थिएन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ