arrow

छ कक्षामा पढ्दा नै उसलाई देखाउन खरानी घस्थ्यौं 

logo
राजेन्द्र खनाल (राजु),
प्रकाशित २०७५ भदौ ३० शनिबार
rajendra-khanal.jpg

मेरो दिमाग त्यति तेजिलो छैन । र थिएन । सबै संगीहरू आफ्नो बालापन खरर किताब पढे जसरी भट्ट्याउँछन् मानौं  कि उनीहरूले उनीहरूको जीवनको प्रत्येक सेकेन्ड हार्ड डिक्समै सेभ गरेका छन् । म पनि सम्झने गर्छु तर मेरा यादका लेयरहरू नै पल्टिन मान्दैनन् ।

सम्झनामा आएका कतिपय घटना तथा पलहरू पनि पुरै झिरमिराउँछन् । पुरानो कालो सेतो टिभी झिरिरी गरे जसरी । मानौं याद नै भैहाले पनि मैले गरेको, बिताएको, भोगेको जीवन हो जस्तै नि लाग्दैन । एक कक्षामा फस्ट भएको होकी जस्तो मात्रै लाग्छ यकिन छैन । डाल्डा चोरेर स्कुलको दराजमा थुनिएको होकी जस्तो मात्रै लाग्छ । कन्फर्म छैन । 

भद्र अंकलले पालेको सुँगुर खोरबाट लखेटेर बजैले खेदेको होकी जस्तो लाग्छ  । साँच्चै हो भन्न सक्दिन । मेरा यादहरू वर्ष ८ पार गरेपछिका कृयाकलापहरूमा भने उत्ति धिरमिराउँदैनन् । मैले यही जीवनने भोगचलन गरी बनाएका तस्वीरहरू हुन भन्नेमा म दावी लिन सक्छु । 

ऊबेला कराँतेको खुव फेसन चलेको थियो । सायद कक्षा ४ तिर पढ्दा हुनुपर्छ मेरो नजिकको साथीले कराँते भर्ना भई एक दिन मात्र के ‘हुस्’ ! गरेको थियो मेरो भाइलाई राम धुलाई नै हानेको याद छ । जबकि भाइ हिजोका दिनसम्ममा साथी पिट्नमा एक नम्बर थियो । 

रमाइलो कुरा त के छ भने भाई साथीको कराँते भर्नाबाट डराएको थियो, हिजोसम्म कुटाई खाने साथी आज कुट्नमा एक नम्बर थियो कारण उसको बल हैन कराँते भर्ना थियो । कुमारेले किनेको १ पोका चाउचाउ खानलाई फुम बाहेक लाइन लागेर आधा घण्टा आइतबारेसम्म हिँडाएपछि एक्लै खाएको कम्ता रोमाञ्चक छैन । बोर्डिङ स्कुलको प्रभाव पनि कम्ता अचाक्लीको थिएन । 

बासु कक्षा ४ मा नेपाली मेडियमको बोर्डिङ पढेर आएको थियो कक्षा पाँच पढ्न हाम्रो हाइस्कुलमा, उसको त रवाफ नै बेग्लै । भरखर चार कक्षामा ए बी सी डी सिकेको म र हामी अंग्रेजीमा स्कुलको नाम नै भन्न जान्ने वासु देख्दा ट्वाँ पर्थ्यौं । कक्षामा प्रथम हुने भएकोले म मा भने बासुप्रति रिस उठेको अहिले पनि महशुश गर्न सक्छु ।

कक्षा छ पढ्दा खुव निर्मलाको पछि लागियो । म मात्रै हैन मेरा सबै साथी उसलाई माया गर्दा रहेछन् । अहिले सम्झन्छु उ साँचै राम्री थिई । उसलाई देखाउने नाममा हामी एक आपसमा खरानी  घस्थ्यौं उद्धेश्य सबैको एउटै रहेछ कि उ हाँसेको हेर्ने । पछि एक एर्काप्रति भनाभन हुदा थाहा भयो सबैको लेडी तारगेट एउटै रहेछ भन्ने । हामी सबैको हर्कतमा उ अनभिज्ञ थिई सायद । बालापनको माया सायद पहिलो पटका त्यही अनुभव गरे मैले । 

त्यो बेला मेरो परिवार हजुरबुवा पुस्ता नियन्त्रित थियो । बाबु स्वास्थ्य क्षेत्रको जागिरे ,छोरा छोरीमा भन्दा जागिर मै बढी ध्यान थियो किन हो कुन्नी बाबुले नै जानुन । बाबुलाई आँठा पाँजा मात्र देख्ने म बाबु भन्ने शब्दै अजीवको लाग्थ्यो । बाबु औंशी पुर्णिमामा घर आउथे, बहुत थर्काउँथ अनि जान्थे । मलाई बाबु घर नआए पनि हुन्थ्यो, बाबु मरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो । 

घर आउने अनि पढ् भनेर थर्काउने....अबुई त्यो बेलाको बुढो सम्झदा त अहिले पनि कम्पन छुट्छ । गज्जवको कुरा मलाई कक्षामा फस्ट हुँदा पनि सुख थिएन । कक्षा ७ मा पढ्दा द्धितीय हुनेलाई २५ मार्कले उछिनी म फस्ट भाको बाउको पिटाई कम्ता खाको होइन कारण के रे भन्दा किन २५ मार्कले मात्रै जीतिस रे ।

अचम्म ! बाउको शासन ती राणा भन्ने हरूको भन्दा नि कडा थियो । बाबु प्रतिको फियरले गर्दा मैले करिव ३ वर्ष बाउको अनुहार नै हेरिन । त्यो तिन वर्षमा बाउ मोटा थिए या दुब्ला मलाई थाहा छैन । एक पटक हेर्ने प्रयास गर्दा आँखा जुधाउँछस भनेर झन्डै मारेनन् त्यस पछि बाउलाई हेर्ने प्रयास नै गरेन मेरो मनले ।

त्यतिकैमा मलाई पढाउने नाममा घरबाट धेरै टाढा पठाइयो । सुरूका दिनमा मलाई धेरै पिडा बोध हुन्थ्यो । अरू त केही थिएन मलाई मेरा खेल्ने साथी र आमाको साह्रै याद आउथ्यो । म घर छोडेर हिड्दा आमा रोएको सम्झेर म नि भक्कानिन्थें कति पटक । म विस्तारै वुझ्ने हुँदै गएँ । सामान्य सही गलत छुट्ट्याउन सक्ने भए । 

शरीर पालतो भए नि अल्गो भए, इन्द्रिय जनेन्द्रिय सबै योग्य भए । म सवैकुराले विकसित भए । एस.एल.सी पास भए । बालापनमा लामो समय धुलो खेलेका साथी बिर्सदै गए । नयाँ साथी थपिदै गए । सबै कुरा नयाँ नयाँ हुदै गए पनि मेरा हिटलर बाउ पुरानै थिए । नेपाली भाषामा पढेर लेखेर पास हुदै आएको म एक्कासी बाउले अंग्रजी भाषाको विज्ञान नपढी नहुने भनि गिरीजा निर्णय लिए । बाबु प्रतिको डरभरी श्रद्धाको कारण विज्ञान पढी टोपले । कसो कसो पास भएर १ साल आइ ए सी मास्टर पनि भई हिडे । 

घर छोडेको ५ वर्ष भइसकेको थियो, म सानो तिनो जागीरे भएर पनि होला वा जे सुकै कारणले होस बाबु र मेरो प्रत्यक्ष कुराकानीको बाटाहरू खुल्दै गरेका थिए । बाबुको आँखा हेरेर म बोल्न थालेको थिए । विना साहारा वाउको मोटोपन, दुब्लोपन, अनुहारको रंग हेर्न सक्ने भएको थिए । 

बिस्तारै पढाइको गति र बाउको उमेर बढ्ने गति बढेसँगै दुरी कम हुँदै गयो । मेरो मनले बाउबाट पाउने माया, प्रेरणा संरक्षणको महशुश बल्ल गर्न थाल्यो । बाउ प्रति सम्मान टुसाएको थियो । बाउ साथी भएको थियो । आमाप्रति माया थियो, बाउप्रति माया भन्दा बढी श्रद्धा र सम्मान थियो । बाउको हिजोको व्यवहार नै आजको म र मेरा सम्बन्धहरू हुन् भन्ने लाग्न थाल्यो । एक हिसाबले बाउको म ठूलो फ्यान भएको थिएँ । संसारको सबैभन्दा असल पुरूष मेरो वाउ होला जस्तो लाग्थ्यो ।

समय चक्रसँगै घर बाहिर रहे बसे पछि अधिकांश समय साथी संगी सँग वित्यो । कलेज गयो त्यही साथी, डेरा फर्कियो त्यही साथी, पढ्न बस्यो त्यही साथी, घुम्न गयो त्यही साथी, तासमा वस्यो त्यही साथी, दारूमा वस्यो त्यही साथी । पुराका पुरा समय साथी सँग वित्न थाल्यो । 

वर्षका ११ वटा महिना साथी सर्कलसँगकै अन्तर संघर्ष र सहयात्रामा वित्ने गर्दथे । साथी नै जीवनका अभिन्न भाग भैसकेका थिए । साथी बिना जीवन नै नचल्ने स्थितिमा पुग्यो र वास्तविकता पनि त्यही थियो । खुसी हुने, दुखी हुने, रमाउने साथी सँग मात्रै थियो । बाबु आमा सँग न सुख शेयर हुन्थे न दुख नै । 

उहाँहरूले राम्रो पढेस् है छोरा भन्नु हुन्थ्यो म हुन्छ पैसा चै पठाइदिनुन भन्ने । भलाकुसारीहरू त्यो भन्दा धेरै पर सम्म पुग्दैन थिए । चाडबाडमा घर गयो पोका पतेरा कसेर फर्कनै हतारो हुन्थ्यो साथी भाई सम्झेर । सम्बन्धहरू यसरी नै चल्लै गए । एक खालको औपचारिक शिक्षाको पढाई पनि सकियो । विस्तारै आफै वाच्नका लागि संघर्षहरू सुरू भए यो काठमाण्डौको खाल्डोमा । 

अहिले जोडी वाँधी कोठे जिन्दगी जिउदै छु । खानका लागि ठुलो संघर्ष गर्नु परेको छ । आजभोली मलाई मेरा बाबु आमासँगको सम्बन्ध फेरि औपचारिक मात्र लाग्न थालेको छ । सम्बन्धमा हुनु पर्ने अर्गानिकता पाउन छाडेको छु । आज भोलि बाउआमाको विचार कस्तो भयो, व्यवहार कस्तो छ । मप्रति कुन दृष्टिकोण राख्दछन् मलाई केही थाहा छैन । म र मेरा प्रगति हेर्दा बाबुआमा सँग एउटै चुलाको भात खाने सम्भावना सकिदै गएको पाउछु । कठै मेरा बाबुआमा छोरो कस्तो छ चिन्दै नचिनि, जान्दै नजानी जीवन लीला समाप्त हुने होकी ! विचरा म सम्झदा सम्झदै फुस्स निदाउँछु ।
 



नयाँ