arrow

प्रदेश एकको  समृद्धिका आधारहरु...

सातवटै प्रदेश मध्य सवैभन्दा बढी १९ अर्ब ८८ करोड बजेट

logo
विजय सन्तोषी राई,
प्रकाशित २०७५ भदौ ३१ आइतबार
Bijay_Santoshi_Rai.jpg

लामो राजनैतिक क्रान्तिको सफलताबाट लोकतान्त्रिक संविधान निर्माणसंर्गै मुलुकलाई धनी र मुलकवासीलाई खुशी बनाउनका लागी आर्थिक कान्तिको प्रारम्भ भएको छ । नेपालको संविधान २०७२ को कार्यन्वयनसंर्गै तीन तहको निर्वाचन सम्पन्न भई तिनै तहमा सरकार निर्माण  पश्चात  यतिवेबला मुलुकलाई सम्पन्न र समुन्नत बनाउन समृद्धिको अभियानमा  सवै एक भएर जुट्नु पर्ने भएको छ ।

संघियताको महत्वपूर्ण आधार र अङ्गको रुपमा रहेको प्रदेश र स्थानीय तहको सरकार संचालनमा संघिय सरकारको सहयोग पर्याप्त र प्रभावकारी हुन नसकेको अनुभूती हुन थालेको छ । केन्द्रिय मानसिक्ताबाट अझै पनि हामी ग्रसित भएकाले संघिय,प्रदेश तथा स्थानीय सरकारहरु बिच आर्थिक क्षेत्र लगायत विभिन्न क्षेत्रहरुको अधिकारको वारेमा अहिले मतभिन्नता   शुरु  भएको छ । संविधानको मुल भावना र मर्म अनुरुप अहिले प्रभावकारी रुपमा काम हुन सकेको छैन । केन्द्रीय सरकारले सवै प्रदेश सरकारहरुलाई बजेट बिनियोजन गरीसकेता  पनि  बजेट प्रदेश र स्थानीय सरकारहरुलाई पर्‍याप्त नभएकाले सन्तोष गर्ने ठाउँ छैन । संघिय सरकारले पनि यस पटक हाम्रो प्रदेशलाई सातवटै प्रदेश मध्य सवैभन्दा बढी १९ अर्ब ८८ करोड बजेट छुट्यायता पनि बजेट अपुगनै भएकाले सवैलाई समेट्न  गाहे भएको छ ।  

अव प्रदेश तथा स्थानीय तहका सरकारहरुले पनि आ-आफ्नो प्रदेश तथा स्थानीय तहहरुलाई  समृद्ध बनाउनका लागी समृद्धिका आधारहरु खोज्ने अभियान शुरु गर्नु पर्छ । भौगोलिक क्षेत्रफलको आधारले दोस्रो ठूला र जनसंख्याको हिसावले चौंथो ठूलो अनी आर्थिक संभावनाका आधारले भने पहिलो  स्थानमा रहेको एक नम्वर प्रदेशमा समृद्धिको प्रसस्त आधारहरु छन ।  एक नम्बर प्रदेश हिमाल,पहाड र तराईमा फैलिएकोले यस प्रदेशमा विश्वकै सवैभन्दा अग्लो सर्वोच्य शिखर सगरमाथा र  देसकै होचो मैदान झापाको केचना पनि रहेकोले पनि भाग्यमानी प्रदेशको रुपमा एक नम्बर प्रदेश मानिन्छ । कृषि,पर्यटन,उद्योग,जलश्रोत,व्यापार,स्वास्थ्य र शिक्षा एक नम्वर प्रदेशको मुख्य समृद्धिका आधारहरु भएकाले यिनीहरुको उचित संबद्धन र प्रवद्धन गर्न सके यस प्रदेशका साथै समग्र मुलुकलाईनै चाडै समृद्ध बनाउन सकिन्छ ।

ब्यापार
छिमेकी मित्र राष्ट्र भारत र चिनसंग सिमाना जोडिएको यस प्रदेशमा चिनतर्फ ताप्जुजुङ्गको ओलाङ्गचुङ्ग गोला र संखुवासभाको किमाथाक्का सिमा भन्सारबाट खासै राजश्व संकलन नभएता पनि  भारत तर्फ जोगमनी,काकडिभित्ता,भद्रपुरको छोटी भन्सार लगायत ठूला तथा साना गरी आधा दर्जन भन्सारले समेत ठूलो मात्रमा राजश्व संकलन  गरी मुलकलाईनै ठूलो आर्थिक सहयोग पुर्‍याईरहेका छन । यसलाई अझ व्यवस्थित र बैज्ञानिक ढंगबाट राजश्व संकलन  गरे मुलुककै आर्थिक क्षेत्रमा महत्वपूर्ण  सहयोग पुग्नेछ ।  

चौध जिल्ला १ सय ३७ वटा स्थानीय तहहरुबाट बनेको १ नम्वर प्रदेशमा भूगोलको हिसावले हिमाल ,पहाड र तराई अनी सवै किसिमको बहुसंख्यक जात जातीहरु र धर्मलम्बीहरुको बसोबास भएकोले  यसलाई समावेसी प्रदेश पनि भनिन्छ । विकास तथा समृद्धीको मुख्य पूर्वाधारको रुपमा रहेको सडक यातायत र हवाई यातायतको समेत राम्रो सुविधा भएको एक नम्बर प्रदेशमा विराटनगर,भद्रपुर लगायत १३ वटा एयरपोर्टहरु संचालनमा आएका छन भने सडक यातायत अन्तर्गत प्रमुख रुपमा कोशी राजमार्ग,मेची राजमार्ग,सगरमाथा राजमार्ग र नारदमुनी थुलुङ्ग राजमार्ग  रहेका छन भने अझै पनि विभिन्न स्थानमा एयरपोर्ट निर्माण तथा काबेली राजमार्ग,मध्यपहाडी राजमार्गहरु निर्माणधिन रुपमा रहेकाले समृद्धिको झन संभावना बढ्दै गएको छ ।

पर्यटन
पर्यटन  उद्योगको ठूलो संभावना बोकेको यस प्रदेशमा विश्वको सवैभन्दा अग्लो हिमसिखर सगमाथा र तेस्रो कञ्जनजंगा लगायत दर्जनौ हिमसिखरहरु रहेका छन । यसैगरी यहा नेपालकै ठूलो सप्तकोशी नदी  जुन अरुण,तमोर,सुनकोशी,दुधकोशी,भेटोकोशी लगायत सात वटा नदीहरु मिसिएर बग्छ भने मेची,कन्काई लगायतका अन्य दर्जनौ नदीहरु  रहेकाले जलश्रोतको माध्यबाट पनि यस प्रदेशलाई छिटै विकास गर्ने ठूलो संभावना देखिन्छ । सगरमाथा राष्ट्रिय निकुञ्ज,मकालु राष्ट्रिय निकुञ्ज,कञ्चनजंगा राष्ट्रिय निकुञ्ज,कोशी टप्पु लगायत  एक दर्जन भन्दा बढी ठूला ठूला र राम्रा राम्रा निकुञ्ज तथा पार्कहरु र सुनसरीको बराह्क्षेत्र,ताप्लेजुङ्गको पाथिभरा,खोटाङ्गको हलेसी,धनकुटाको छिन्ताङ्गदेवी,विश्रान्ती मन्दिर, तेह्थुमको सिहंवाहिनी,लारुम्बा,सतासीधाम,त्रिवेणी धाम लगायत धार्मिक तिर्थ स्थलहरुले समेत यस प्रदेशको पर्यटन उद्योगको विकासमा महत्वपूर्ण स्थान ओगट्दै आएको छ । 

त्यस्तैगरी  इलामको कन्याम,धनकुटाको भेडेटार लगायतका दर्जनौ हिल स्टेशनहरुले गर्मी मौसममा तडपिएका  ताराईका जिल्लाहरु र छिमेकी देश भारतसंग जोडिएको विहार तथा  पश्चिम बंगाल राज्यका मानिसहरुलाई गर्मीमा शीतलता र जाडोमा सितलहरले कठांग्रीएकाहरुलाई घमाईलो घामको ताप प्रदान गर्ने भएकाले सधैजसो बाह्रै महिना घुईचो लाग्ने गरेकोले प्रशस्त आम्दानी गरिरहेको छ । एक नम्वर प्रदेशको चार पहाडी जिल्लाहरुको संगम स्थलको गुरासको राजधानी मिल्केजलजले क्षेत्रमा पाईने ३३ प्रजातिको लालिगुरासले समेत पर्यटकहरुलाई थप आर्कषण दिएको छ । यस प्रदेशको अन्य स्थानहरुमा पनि हिल स्टेशनहरु निर्माण गरी थप आम्दानी गर्न सकिन्छ । यस प्रदेशका धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलहरुमा पर्यटन आगमनलाई बृद्धी गरी ठूला ठूला तारे होटलका साथै होम स्टेहरु  खोल्ने वातावरण बनाउनु अहिले को पहिलो आवाश्यक्ता समेत भएको छ ।

कृषी
समग्रमा कुल राष्ट्रिय उत्पादनको १७.५ प्रतिशत योगदान दिदै आएको १ नम्वर प्रदेशमा नेपालकै बढी धान उत्पादन हुने झापा लगायतका तराईका जिल्लामा खेती योग्य जमिनहरु प्रशस्तै भएकाले यस प्रदेशमा कृषिको प्रचुर सम्भावना रहेको छ ।  सात वटा प्रदेश मध्य सवै भन्दा बढी ६ लाख २० हजार ६ सय ८ हेक्टर खेती योग्य जमिन रहेको यस प्रदेशमा ५ लाख १४ हजार  ६ सय १८ हेक्टरमा खेती गरिदै आएकोमा तराईका झापा,सुनसरी,मोरङ्ग जिल्लामा विशेष गरी धान,गहु,जुट,सुपारी,केरा प्रशस्त्रमात्रमा उत्पादन हुन्छ भने पहाडी जिल्ला इलाम र धनकुटामा चिया,संखुवासभा र ताप्लेजुङ्गमा अलैची,धनकुटामा सुन्तला अत्यधिक उत्पादन भै राम्रो आम्दानी हुदै आईरहेकाले ताप्लेजुङ्गलाई कालो सुन अलैचीको राजधानी,इलामलाई चियाको राजधानी र धनकुटालाई   गुलिया र रसिलो सुन्तलाको राजधानी उपनामले पनि परिचित छन् । ताजा तरकारीको राजधानीको रुपमा रहेको  धनकुटाको छथरजोरपाटी गाउपालिाका लगायत सवै पहाडी जिल्लाहरुमा गरी  अरवौ  रुपैयाको ताजा हरियो तरकारीहरु उत्पादन हुने गरेको छ ।यहा उत्पादन भएका ताजा तरकारी स्वदेशका बजारका साथै भारत तथा बंगालादेशमा समेत ठूलो मात्रा निर्यात भै प्रशस्त  आम्दानी कृषकहरुले गरीरहेका छन् ।  धनकुटामा अहिले प्रधान मन्त्री तरकारी जोन परियोजना  समेत संचालन भैरहेको छ ।यस क्षेत्रलाई अब अर्गानिक कृषि उपज उत्पादनमा ध्यान दिई  बिक्री गर्न सके थप आम्दानीको महत्वपूर्ण स्रोत बन्न सक्छ ।

शिक्षा
यस प्रदेशमा एक विश्व विश्वविद्यालय, १ सय ९६ वटा क्याम्पस,६ हजार ५ सय ८२ वटा विद्यालयहरु र ४ हजार ९ सय २ वटा सहकारीहरु रहेका छन यो क्रम बृद्धी हुदै गएको छ । झापा ,मोरङ्ग र सुनसरीमा मेडिकल कलेज पनि संचालन भैरहेका छन । सरकारी तथा निजि क्षेत्रहरुबाट यहा राम्रा राम्रा शिक्षण संस्थानहरु र अस्पतालहरु समेत संचालन भैरहेका छन । स्वास्थ्य उपचार र अध्ययन अध्यापन गर्नका लागी उचित हावापानी र राम्रो तथा उपयुक्त वातावरण भएकाले यस प्रदेशमा थप राम्रा राम्रा शिक्षण संस्थाहरु र सुविधा सम्पन्न अस्पतालहरुलगायत मेडिकल कजेलहरु सरकारी तथा निजि क्षेत्रबाट खोल्न सके शिक्षा र स्वास्थ्य क्षेत्रको 'हब'को रुपमा विकास गरी समृद्ध बनाउन सकिन्छ । 

सहकारी
यस प्रदेशमा संचालित सहकारीहरुले पनि साना उद्यम तथा व्यापार व्यावसाय संचालनमा सहयोग गरी रोजगार स्थापना र गरिवी निवारणमा महत्पूर्ण सहयोग पुर्‍याई रहेकाले सहकारीलाई व्यवस्थित ढंगले अभियानकै रुपमा टोल टोलमा सहकारी भन्ने अवधारणा ल्याउनु पर्छ । सहकारी मार्फत पशुपालन, मौरीपालन, कुखुरापालन,मत्स्यपालनमा समेत अग्रणी मानिएको यस प्रदेशमा झन्डै आधा भन्दा बढी भुभाग बनजंगलले ओगटेकोले बनमा आधारित थप ठूला ठूला उद्योगहरुको समेत  स्थापना गर्न सकिन्छ यस प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा पाईने महंगा जडीबुढीहरुको चोरी सिकारी र अवैध निकासीलाई रोक्दै उनीहरुको संरक्षण, सम्वर्द्धन र प्रवद्धन गरे थप आर्थिक विकासमा महत्पूर्ण  टेवा पुग्छ ।

उद्योग
नेपालकै औद्योगिक नगरको रुपमा परिचित विराटनगर उपमहानगरपालिका लगायत सुनसरी-मोरङ्ग औद्योगिक करिडर लगायतका क्षेत्रहरुमा स्थापना भएका ठूला ठूला उद्योगहरुले समेत रोजगार स्थापनाका साथै व्यापार ब्यवसायमा समेत महत्पूर्ण भूमिका निर्वाह गरीरहेकाले उद्योग मैत्री औद्योगिक सुरक्षा निति ल्याई अझ व्यवस्थित गरी थप ठूला ठूला उद्योगहरु स्थापना गर्ने वातावरण बनाउन सके आर्थिक समृद्धीको आधार बन्न सक्छ । यसका साथै इलाम र धनकुटामा चिया खेती विस्तारसंगै स्थापना भएका ठूला ठूला चिया उद्योगहरुले एसियामानै उत्कृष्ठ र स्वादिलो चिया उत्पान गर्ने मात्र नभई रोजगार स्थापना गरी गरिवि निवारण समेत   सहयोग पुर्‍याईरहेका छन । उदयपुर ,झापा र धनकुटामा संचालित सिमेन्ट उद्योगहरु समेत यस प्रदेशको  लागी आम्दानीको राम्रो स्रोत बन्दै आएको छ । यस प्रदेशमा मात्र अहिले साना घरेलु उद्योगहरु वाहेक ठूला ७ सय ३७ वटा उद्योगहरुमा  ३९ हजार ८ सय ३६ जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन ।  

निर्यात
सात वटा प्रदेश मध्य सवैभन्दा बढी ६ लाख १४ हजार  ७ सय ४२ जना बैदेसिक रोजगारमा गई विभिन्न देशमा काम गर्दै  ठूलो मात्रामा रेमिटेन्स पठाउदै आएका छन् ।  भोजपुरमा उत्पादन भएका सिरुपाते खुकुरी,तेह्थुमको ढाका कपडा , संखुवासभाको चैनपुरे करुवा,धनकुटाको अर्थोडक्स चिया,धनकुटे विस्कुट र कुखुरी , सिकुटी तथा तोङ्वा ,सुन्तला,इलामको चिज तथा  हाते चिया  नेपालमा साथै विदेशमा समेत लोकप्रिय र चर्चित बनी ख्याती कमाएका छन् ।

जलस्रोत
जलस्रोतको ठूलो संभावना बोकेको यस प्रदेशमा कोशी उच्चबाचको निर्माण प्रश्च्यात जलयातायत,सिचाई,जिविद्युतको उत्पादन लगायत धेरै कामहरु गर्न सकिन्छ । निर्माणधिन अरुण तेस्रो जस्तो नेपालकै ठूलो जलविधुत आयोजनादेखि दर्जनौ ठूला,मझौला तथा साना जलविद्युत आयोजनाहरुको  यस प्रदेशमा धेरै र ठूलो संभावना रहेको छ । भने केही संचालनमा आएको र कही निर्माणधिन पनि छन् । त्यसले गर्दा जलश्रोतको माध्यमबाट पनि छिटैनै यस प्रदेशलाई समृद्धीमा पुग्ने यात्रा टाढा छैन ।

यस प्रदेशमा अध्यधिक धनी  साहु माहाजन तथा ठूला ठूला उद्योगपती, व्यापारी र व्यावसायीहरु समेत धेरै रहेकाले प्रदेश सरकारले हरेक क्षेत्रमा लगानीको उचित वातावरण बनाएर निजि क्षेत्रको  समेत  सहभागीतामा ठूला ठूला लगानी गरेर यस क्षेत्रलाई चाडैनै समृद्धी बनाउन सकिन्छ । आर्थिक बर्ष २०७३-०७४ को प्रदेशगत राजश्व संकलनको तथ्यांक हेर्ने हो भने यस प्रदेशबाट ८५ अरव ४७ करोड रुपैया वरारवरको राजश्व संकलन भएको  देखिन्छ ।

यस प्रदेशमा तराईका साथै पहाडी तथा हिमाली जिल्लाहरुमा साना सहरहरुमा तीव्र गतिमा विकास र विस्तार हुदै गएको सहरीकरणले बजार विस्तारका साथ व्यापार ,व्यावसाय साना तथा मझौला उद्योगको स्थापना र यातायत विस्तार गरी स्थानीय वासिन्दाहरुलाई रोजगारी सिर्जना गरी आय आर्जनमा समेत बृद्धीगरी  यहाका स्थानीय वासिन्दाहरुलाई धनी र समृद्धी बनाउन सकिन्छ । संघिय सरकारको सहयोगमा यस प्रदेशमा प्राकृतिले अनुपम उपहार स्वरुप दिएको साधन स्रोतहरुलाईनै अध्यधिक उपयोग गरी  प्रदेश र स्थानीय सरकारले प्रभावकारी रुपमा सशक्त र सक्रिय ढंगले काम गर्ने हो  भने  १ नम्वर प्रदेशको समृद्धि धेरै टाढा छैन ।

एक नम्बर प्रदेशको समृद्धीको मुख्य आधारहरु कृषि,पर्यटन,उद्योग,जलश्रोत,व्यापार,स्वास्थ्य र शिक्षा क्षेत्रको तिनै तहको सरकारबाट समन्वयका साथ सम्वद्धन र प्रवद्धन गर्नका तिव्र रुपमा अभियान संचालन गरे अत्यधिक रुपमा आम्दानी हुनुका साथै रोजगार तथा स्वरोजगारको समेत स्थापना हुनेछ।   गरिवीबाट मुक्त हुँदै पाच बर्ष भित्रमानै आफनो प्रदेशलाई मात्र होईन सिङ्गो  नेपाललाईनै पाल्न सक्ने सवैभन्दा सक्षम समृद्ध र नमुना प्रदेश हाम्रो एक नम्बर प्रदेशलाई बनाउन सकिन्छ । 
 

bijayasrai075@gmail.com                                                            
(लेखक प्रदेश संयोजक पर्यटन विकास मञ्च १ नम्वर प्रदेश समिति तथा घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष हुनुहुन्छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ