काठमाडौं । नेपाली काँग्रेसको आसन्न १३औं महाधिवेशनमा मतदानका लागि विद्युतिय यन्त्रको प्रयोग गरिने भएको छ । पार्टी केन्द्रीय कार्यालयमै मतदान गराउने र विद्युतिय यन्त्रको प्रयोग गर्ने लगभग निश्चित भएको काँग्रेस केन्द्रीय कार्यालयमा सचिव प्रदिप पराजुलीले जानकारी दिए ।
उनले विद्युतिय मतदान गर्ने र पार्टी कार्यालयमै मतदानको कार्यक्रम गर्ने बारेमा शिर्ष नेताहरुलाई जानकारी दिइएको बताए । नेताहरुले त्यसमा कुनै नकारात्मक नदिएकाले सोही अनुसार हुने उनको अनुमान छ । आउदो ११ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा नेताहरुले यसबारेमा छलफल गरेर समझदारी बनाउने भएका छन् ।
महाधिवेशनको उद्घाटन खुल्ला मंचमा र बन्द सत्र भने भृकुटीमण्डपमा गर्ने तयारी भईरहेको छ । “मतदान भने भृकुटीमण्डपमा गर्न उपयुक्त नहुने भएकाले प्रज्ञा भवनलाई विकल्पको रुपमा लिईएको थियो, तर निर्वाचन समितिसंग सल्लाह गर्दा अघिल्लो महाधिवेशनमा त्यहाँ गर्दा सजिलो महशुष नभएकाले बरु पार्टी कार्यालयमै गरौ भन्ने कुरा आयो, त्यसैले पार्टी कार्यालयमै गर्ने तयारी गरिरहेका छौं, पराजुलीले भने ।
उनले पार्टीको दुई ओटा मुलद्धार मध्ये एउटा मुलद्धारबाट मतदानका लागि जाने र अर्कोद्धारबाट बाहिरिने व्यवस्था मिलाउन लागिएको बताए । महाधिवेशनको तयारीका लागि केन्द्रीय कार्यालय तिव्ररुपमा जुटेको पराजुलीले जानकारी दिए ।
उनले आउदो केन्द्रीय समितिको बैठकमा महाधिवेशनको तयारीकै बारेमा छलफल गर्ने एजेण्डा राखिएको बताए । साथै पार्टीको महाधिवेशनमा पेश गर्ने निति तथा कार्यक्रमलाई बैठकको छलफलमा ल्याउने र आवश्यक परेमा महामन्त्रीको प्रतिवेदन माथी पनि छलफल हुन सक्ने जानकारी दिए । निति तथा कार्यक्रम केन्द्रीय समितिले पारित गर्नु पर्ने भएपनि महामन्त्रीको प्रतिवेदन भने पारित गर्नु पर्ने वाध्यता छैन ।
पार्टीको केन्द्रीय समितिको बैठक आउदो ११ बजे दिउसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको छ ।