arrow

असन्तुष्टका गुनासा सम्बोधन भइसके : प्रम ओली

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
democracy-day.JPG.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताप्रति प्रतिवद्ध रहेको बताएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा ६६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वतन्त्र, स्वाधीन, सार्वभौम र समृद्ध राष्ट्र निर्माणका लागि यस दिनले हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 
 
राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र आम नेपाली जनतासँग मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सहकार्यको लागि हार्दिक आग्रह समे गरे । प्रधानमन्त्री ओलीले नेपाली जनताले सङ्घर्षबाट जहानियाँ निरङ्कुश शासनको अन्त्य गर्दै प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिन आज फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा म आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दै यस उपलक्ष्यमा नेपाल र सम्पूर्ण नेपालीको उज्ज्वल भविष्यको कामना गरे । 
 
लोकतन्त्र, न्यायपूर्ण, स्वतन्त्र र समुन्नत नेपाल निर्माणका लागि २००७ सालअघि र त्यसपछिका जनआन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति नेपाल सरकारका तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीप्रति उच्च सम्मान प्रकट गरे ।  
 
विसं २००७ देखि नेपाली जनताले गरेको सङ्घर्षको परिणाम जननिर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते नेपाली जनताका आफ्नै प्रतिनिधिद्वारा लेखिएकोे संविधान जारी भएको बताउँदै प्रधानमन्त्री ओलीले यो संविधानले सबै नेपालीलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हक समानरुपमा प्रदान गर्नुका साथै सामाजिक न्यायको प्रत्याभूति गरेको बताए । 
 
प्रधानमन्त्री ओलीले संविधानको कार्यान्वयनसँगै अब मुलुक आर्थिक–सामाजिक विकासको दिशामा अघि बढेको बताउँदै यस प्रक्रियालाई जति छिटो रफ्तारमा अघि बढाउन सक्यो हामीले प्राप्त गरेका राजनीतिक उपलब्धि र लोकतान्त्रिक गणतन्त्रलाई त्यति नै समृद्ध र बलियो बनाउने बताए । 
 
संविधान जारी भएपछि यसका केही प्रावधानलाई लिएर प्रकट भएका असन्तुष्टि, असहमति र गुनासाको सम्बोधनका लागि वार्ता र संवाद हुँदै आएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले संविधानको पहिलो संशोधनबाट ती गुनासा र असन्तुष्टि आधारभूतरुपमा सम्बोधन भएको धारणा राखे । 
 
केही असहमति वा गुनासा भए वार्ता र संवादकै माध्यमबाट सम्बोधन गर्न सकिने बताउँदै प्रधानमन्त्रीले संवादबाट समस्याको समाधान खोज्ने निरन्तरको प्रक्रियामा संलग्न रहन सबै पक्षलाई आग्रह गरे । समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, सुरक्षा निकायका उच्च अधिकारी, संवैधानिक निकायका पदाधिकारी, कूटनीतिक निकायका प्रतिनिधि, उच्च सरकारी पदाधिकारीलगायत सहभागी थिए । 
 
समारोहमा सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय सेवा दल, नेपाल स्काउट र विद्यार्थीले मार्चपास गरेका थिए । त्यस्तै काठमाडौँ, ललितपुर, भक्तपुर, मध्यपुरथिमि र कीर्तिपुर नगरपालिकाले सांस्कृतिक झाँकी प्रदर्शन गर्नुका साथै राष्ट्रिय खेलकुद परिषद्बाट विभिन्न खेल प्रदर्शन गरिएको थियो । कार्यक्रम भइरहँदा समारोह स्थलमा हेलिकोप्टरबाट पुष्प बृष्टि पनि गरिएको थियो । विसं २००७ फागुन ७ गते १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६६औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ