arrow

उद्योग समितिको सभापतिमा निर्वाचित श्रीवास्तव को हुन् ?

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
bimal_shriwastav.jpg

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित भएका छन् ।

समितिको शुक्रबार बसेको बैठकले उनलाई निर्विरोध निर्वाचित गरेको हो । श्रीवास्तवलाई समितिको सभापतिमा विन्दा पाण्डेले प्रस्ताव र गोपालबहादुर बमले समर्थन गरेका थिए  ।

समितिको बैठकको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले प्रतिनिधिसभा नियमावली १७३ को उपनियम ४ बमोजिम समितिको सभापतिमा श्रीवास्तव निर्विरोध निर्वाचित भएको घोषणा गरे।

विसं २००७ मा पर्साको वीरगञ्जमा जन्मिएका श्रीवास्तव पर्सा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका रुपमा सङ्घीय सामजवादी फोरम नेपालको तर्फबाट विजयी भएका थिए । ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनकै क्रममा उनले २०२५ सालमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए ।

पटकपटक वीरगञ्ज महानगरपालिकाको प्रमुखमा निर्वाचित भई स्थानीय जनतामाझ लोकप्रिय भएका सभापति श्रीवास्तवले बारा, पर्सा औद्योगिक करिडोरमा खुलेका उद्योगमा कार्यरत श्रमिकलाई उचित पारिश्रमिक दिलाउन उल्लेख्य योगदान गरेका थिए ।

संसद्को नियमावली निर्माणका क्रममा श्रीवास्तवले समन्वयतात्मक भूमिका खेलेको उनको प्रस्तावक एवं समितिका सदस्य पाण्डेले बताए ।

समितिको सभापतिमा निर्वाचित भएलगत्तै सभापति श्रीवास्तवले वर्तमान सरकारलाई रचनात्मक सहयोग गर्ने र सहयोगीको भूमिका निर्वाह गर्ने बताए । उनले भने, “हामीले संसद्मा उठाउँदै आएको जनहितका विषयमा सरकारलाई घच्घच्याउने, समसामयिक विषयमा सदनमार्फत सरकारलाई जानकारी गराउने छौँ ।”

समितिको नेतृत्व सम्हालेलगत्तै आफूलाई प्राप्त भएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै सभापति श्रीवास्तवले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताका हितका विषयलाई विशेष ध्यान दिने बताए ।

 उनले भने, “चाडबाड नजिक आइसकेको छ, उपभोक्ताको हकहितका लागि तत्काल गर्नुपर्ने कामलाई अघि बढाउँछौँ । जनताको अपेक्षा तथा जनता र सरकारबीच पुलको काम गर्नेछौँ ।”  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ